सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

२०८३ भाद्र २९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले चितवनसहित छिमेकी जिल्लाहरूमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै लगेको छ । हाल मुख्य अस्पतालसहित २५ ठाउँबाट उपचार सेवा दिएको छ भने थप दुई ठाउँमा विस्तारको तयारी गरेको छ ।

अस्पतालले चितवनसहित आठ जिल्लामा रहेका यी अस्पताल र उपचार केन्द्रबाहेक शिविर सञ्चालन गरेर थप उपचार सेवा दिँदै आएको छ । मुख्य अस्पताल भरतपुरको बाइपास सडकमा छ । भरतपुरको उकालोमा सिटी क्लिनिक, पर्साको ठोरी र कावासोतीमा सेकेन्डरी आँखा अस्पताल, नवलपरासीको मध्यविन्दु र सर्लाहीको ईश्वरपुरमा सर्जिकल सेन्टर रहेका छन् ।

यसैगरी, चितवनको खैरहनी, माडी, चनौली, रत्ननगर, कुरिनटार, राप्ती र कालिका, धादिङको सल्यानटार र बेनिघाट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट, बौद्धिकाली, भेडाबारी, अरुणखोला र देवचुलीमा आँखा उपचार केन्द्र रहेका छन् ।

यसैगरी, महोत्तरीको रामगोपालपुर, सर्लाहीको कविलासी, बाराको सिम्रनगढ र तनहुँको आँबुखैरहनी र भानुमा उपचार केन्द्र रहेका छन् ।

आगामी असोज महिनामा सर्लाहीको हरिपुर्वा र नवलपरासीको बुलिङटारमा केन्द्र सञ्चालन गर्ने तयारी गरिएको नेपाल नेत्रज्योति संघका सभापति जयराम श्रेष्ठले बताए।

अस्पतालले गत आर्थिक वर्षमा अस्पताल र केन्द्रमार्फत दुई लाख ९२ हजार ६७१ जनालाई बहिरंग सेवा दिएको छ । शिविरका तर्फबाट ४२ हजार २७० जनालाई सेवा दिएको छ । कुल लाभान्वित सङ्ख्या तीन लाख ३४ हजार ९४१ रहेको उनले जानकारी दिए। चितवनसहित छिमेकी जिल्लाका २६ लाख समुदायलाई सेवा दिन सक्ने क्षमता अस्पतालको छ ।

गत आर्थिक वर्षमा ११ हजार ६९३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । दाताहरूको सहयोगमा सेवा विस्तार गर्न सकिएको श्रेष्ठ बताउछन् । स्थानीय तहले अस्पताल र सेवा केन्द्र सञ्चालनमा भवनसहित आर्थिक लगायतका सहयोग गर्दै आएका छन् । यसका अतिरिक्त नेपाल सरकारको संघ र प्रदेशले पनि सहयोग गर्दै आएका छन् ।

पाकिस्तान र भारतीय दूतावास, लायन्स क्लब, सेवा फाउन्डेसन, क्योरब्लाइन्डनेस, रुइट फाउन्डेसन, बैंक वित्तीय संस्थाहरुलगायत सामाजिक व्यक्तित्वहरूको सहयोगकै कारण अस्पतालले गुणस्तरसँगै सेवा विस्तार गर्न सकेको उनको भनाइ छ ।

अस्पतालका वरिष्ठ अस्पताल प्रशासक दयाशंकर चौधरीले उच्चगुणस्तरीय, पहुँचयोग्य र समयमै आँखा उपचार सेवा प्रदान गरेर नेपालमा देखिएको दृष्टिविहीनतालाई कम गर्न आफूहरू लागिपरेको बताए । अस्पतालमा ११ नेत्र विशेषज्ञसहित १६७ जना कर्मचारी कार्यरत छन् । अस्पतालले आँखा उपचारसँगै आँखा स्वास्थ्य शिक्षा, तालिम, अनुसन्धान तथा सामुदायिक पहुँच कार्यक्रममा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनी बताउछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार