सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मेलम्चीको पानी पर्खंदै उपत्यकावासी

२०८३ असोज २६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज २६ गते । नेपालीको महान् चाड बडादसैँ, तिहार तथा छठ नजिकिँदै गर्दा काठमाडौँ उपत्यकावासीले मेलम्ची खानेपानी आयोजनाको पानी चाँडोभन्दा चाँडो वितरण गर्न माग गरेका छन् । चाडपर्वको समयमा पानीको माग अत्यधिक हुने भएकाले तत्काल पानी छोड्नुपर्ने काठमाडौँवासीको माग छ । पानीको वितरण ढिलो हुँदा पानी आपूर्ति असहज भएको छ । पोहोर साल वर्षापछि असोजको २० गतेदेखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको थियो ।

बर्खायाम सुरु भएसँगै बाढीपहिरोको जोखिमका कारण बन्द गरिएको मेलम्चीको पानी वितरण अहिलेसम्म पनि सुरु नहुँदा काठमाडौँ उपत्यकावासी ट्याङ्कर र जारको महँगो पानी किनेर गर्जो टार्न बाध्य छन् । हप्ताको एक/दुई दिन धाप ड्यामको पानी वितरण गरिए पनि सो पानी सबै ठाउँमा पुग्न सकेको छैन । जसले गर्दा उपत्यकामा खानेपानीको अभाव छ । आमउपभोक्ता मारमा परिरहेका छन् ।

चाडपर्वमा घरआँगन सरसफाइ गर्ने, टाढा टाढाबाट पाहुना आउने र विविध धार्मिक एवं सांस्कृतिक कार्य हुने भएकाले पानीको खपत सामान्य दिनभन्दा दोब्बर हुन्छ तर यतिबेला काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को नियमित आपूर्ति अत्यन्तै कमजोर रहेको उपभोक्ताको गुनासो छ ।

मेलम्ची खानेपानी सङ्घर्ष समिति, काठमाडौँका संयोजक गोविन्द पन्तले अन्य समयभन्दा चाडपर्वका बेला पानीको माग अत्यधिक हुने भएकाले मेलम्चीको पानी वितरण यथाशक्य छिटो गर्नुपर्ने बताउनुभयो । कुनै समस्याभन्दा पनि आयोजनाले छोड्न नचाहेर मेलम्चीको पानी वितरण हुन नसकेको उहाँले आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “मेलम्चीखोलाको पानी सफा छ । मुहान खोल्नका लागि एक्साभेटर त्यहीमाथि नै छ । आयोजनाले चाहेमा मेलम्चीको पानी छोड्न सकिन्छ । पानी छोड्न ढिलो भएको छ । एकातिर मेलम्चीको पानी त्यत्तिकै बगेर गइरहेको छ भने अर्कोतिर जनता महँगो पानी किनेर खान बाध्य छन् ।” संयोजक पन्तले सङ्घर्ष समितिका प्रतिनिधिमण्डलसँगको भेटमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले अबको १० दिनभित्र मेलम्चीको पानी वितरण सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो । १० दिनभित्र पानी वितरण सुरु नभए आफूहरूले सङ्घर्षमा जाने चेतावनीसमेत दिएको संयोजक पन्तले जानकारी दिनुभयो ।

सङ्घर्ष समितिका सदस्य एवं सरसफाइ अभियन्ता नारायण गिरीले पानीको वितरण रोकेर आयोजनालाई केही फाइदा नहुने बताउँदै उहाँले भन्नुभयो, “सत्तरी अर्ब खर्च भइसकेको सो आयोजनाको पानी वितरण नहुँदा राज्यलाई उल्टै घाटा भइरहेको छ ।” पानी वितरण गरिएको भए राजस्व पनि उठ्थ्यो । ट्याङ्करको पानी प्रयोग गर्दा आमनागरिक आर्थिक र स्वास्थ्यको समस्या गरी दोहोरो मारमा परिरहेको बताउँदै अभियन्ता गिरीले भन्नुभयो, “ट्याङ्करको पानी जमिनबाट जबरजस्ती ड्रिल गरेर निकालिएको पानी हो । त्यो पानी ‘रिफाइनिङ’ र सफा हुँदैन तर मेलम्ची आयोजनाबाट वितरण हुने पानी सुन्दरीजलमा प्रशोधन हुन्छ ।”

ललितपुर सानेपाका स्थानीय बासिन्दा राकेश मेहता भन्छन्, “चाडपर्व घरदैलोमा आइसक्यो तर धारामा हप्तामा एक दिन पनि पानी आउँदैन । महँगो मूल्यमा जार र ट्याङ्करको पानी किन्न बाध्य छौँ । दसैँअगाडि नै मेलम्चीको पानी आउँछ भनेर आश्वासन पाएका थियौँ तर आश्वासन मात्र ‘आश्वासन’ मै सीमित हुने देखियो । काममा ढिलासुस्ती भइरहेको छ ।”

पानी व्यवसायीको मनपरी

मेलम्चीको पानी नआउँदा उपत्यकामा निजी पानी व्यवसायीको मनपरी बढेको उपभोक्ताको आरोप छ । मेलम्चीको पानी वितरण बन्द भएसँगै माग बढेको मौकाछोपी पानी व्यवसायीले जथाभाबी मूल्य लिने गरेको र पानीको गुणस्तरमा पनि ध्यान नदिएको गुनासो छ । भूमिगत पानीको स्रोत सुक्दै गएका कारण इनार र ढुङ्गेधारामा समेत पानी पाउन छाडेपछि विपन्न र डेरा गरी बस्ने वर्ग सबैभन्दा बढी मारमा परेका छन् ।

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी मधु तिमिल्सिनाले यस वर्ष अहिलेसम्म बर्खा नरोकिएकाले मेलम्चीखोलाको पानी बहाबमा कमी आउन नसकेको तथा आयोजनाको मुहानसम्म पुग्ने बाटोसमेत बाढीका कारण क्षतिग्रस्त भइसकेको हुनाले एक्साभेटरलगायतका उपकरण लिएर मुहान (हेडवक्र्स) सम्म पुग्ने अवस्था नरहेकाले पानी वितरणमा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनाको मुहानसम्म पुग्ने बाटो अहिले स्थानीय तहले पुनर्निर्माण गरिरहेका छन् । खोलाको बहाब कम र पहुँचमार्ग निर्माण भएसँगै सुरुङमा पानी पथान्तरण गरिने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै

दानबहादुरको मुद्दालाई अग्राधिकार

स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना

बैंकमा पैसा थुप्रियो, मुद्दती निक्षेप घट्यो

शिक्षकको क्षमता विस्तार पढाउन जानुअघि तीन महिनाको तालिम अनिवार्य

कर तिर्नेलाई सम्मान, लगानीकर्तालाई अन्योल