काठमाडौँ, मङ्सिर ४ गते । प्रतिकूल मौसमका कारण चालु शरद् ऋतुमा मनासलु हिमालमा आरोहण हुन नसकेपछि आरोहण अनुमतिका लागि पर्वतारोहीले बुझाएको राजस्वको विषय अन्योलमा परेको छ ।
आरोहणका लागि अनुमति लिँदा करोडौँ रुपियाँ रोयल्टी बुझाएका पर्वतारोहीले मौसमका कारण आरोहण गर्न नपाए पनि उक्त रकम फिर्ता पाउने छैनन् । त्यस्तै अर्को आरोहणको मौसममा समेत पुरानै अनुमतिबापत बुझाएको रोयल्टी समायोजन गरेर आरोहण गर्न पाउने व्यवस्था नभएपछि अन्योल देखिएको छ ।
पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले भन्नुभयो, “जारी सिजनमा सबैभन्दा बढी पर्वतारोहीले मनासलु आरोहण गर्न अनुमति लिएका थिए तर बाक्लो हिमपातका कारण आरोही आरोहण रद्द गरेर फर्केपछि रोयल्टीको विषयमा के गर्ने भन्ने विषयमा कुनै स्पष्ट निर्णय हुन सकेको छैन् । प्राकृतिक विपत्तिका कारण आरोहण गर्न नसकिएको अवस्थामा आरोहीलाई कस्तो सुविधा दिने भन्ने विषयबारे सरकारले मन्त्रीपरिषद्बाटै कुनै निर्णय गरेर सम्बोधन गरे मात्रै अन्योल हट्ने देखिन्छ ।” हिमाल आरोहणमा मौसमको अनिश्चितता स्वाभाविक हुने भएकाले त्यसबाट उत्पन्न हुने जोखिम व्यवस्थापनमा विभागले केही गर्न नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुरगेल्जे शेर्पाले आरोहणका लागि ठुलो रकम खर्च गरेर नेपाल आएका विदेशी पर्वतारोही तथा उनीहरूलाई सेवा दिने पर्वतारोहण कम्पनीलाई आर्थिक जोखिममा पारेको बताउँदै मौसमका कारण आरोहण नै हुन नसक्दा लगानी डुब्ने अवस्था उत्पन्न हुनु पर्वतारोहण व्यवसायका लागि चुनौतीपूर्ण बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०१४ मा सगरमाथा आरोहणका क्रममा गएको हिमपहिरोका कारण आरोहण रोकिँदा सरकारले अनुमति लिएका आरोहीलाई राजस्व फिर्ता वा अर्को वर्ष आरोहणको विकल्प दिएको थियो । यो वर्षको अवस्था पनि उस्तै रहेकाले सरकारले रकम फिर्ता वा अर्को सिजनमा समायोजन गर्ने व्यवस्था गरिदिँदा पर्वतारोहण व्यवसायी तथा आरोहीमाथि आर्थिक भार घट्नुका साथै नेपालप्रतिको अन्तर्राष्ट्रिय पर्वतारोहण बजारको विश्वास बढ्ने देखिन्छ ।”
विदेशी आरोहीले आरोहणको अनुमति, यातायात, आवास, खाद्यान्न, जनशक्ति, उपकरण र अन्य व्यवस्थापनमा ठुलो लगानी गरेका हुने भएकाले राज्यले राजस्व सङ्कलनलाई मात्रै प्राथमिकता नदिएर आरोही र व्यवसायीको लगानी सुरक्षालाई पनि ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ ।
ठुलो रकम खर्च गरेर नेपाल आउने आरोही र अन्तर्राष्ट्रिय पर्वतारोहण कम्पनी आगामी सिजनमा नेपाल आउन निरुत्साहित हुन सक्ने जोखिमलाई हेरेर सरकारले सहजीकरण गरिदिनुपर्ने उहाँले बताउनुभयो । प्राकृतिक कारणले आरोहण हुन नसकेको अवस्थामा त्यसबाट उत्पन्न हुने जोखिम व्यवस्थापनका लागि आवश्यक नीति बनाउनुपर्ने उहाँको धारणा छ ।
विभागका अनुसार जारी सिजनमा मनासलु आरोहणका लागि पाँच सय आरोहीले अनुमति लिएका थिए । मनासलु आरोहणका लागि चुचुरोसम्म बाटो (डोरी र भ¥याङ राख्ने) काम पूरा भएर तेस्रो आधार शिवरसम्म पुगेका आरोही भारी हिमपातका कारण आरोहण रद्द गरेर फर्किएपछि त्यहाँ आरोहण गतिविधि रोकिन पुगेको हो ।
आठ हजार १६३ मिटर अग्लो मनासलु आरोहणका लागि यस सिजनमा ४३ समूहका पाँच सय आरोहीबाट २२ करोड ५८ लाख ५७ हजार १८९ रुपियाँ राजस्व सङ्कलन भएको छ । यस सिजनमा आरोहण अनुमति जारी भएका ४७ वटा हिमालबाट कुल ३२ करोड ३७ लाख ८८ हजार ९९० रुपियाँ राजस्व सङ्कल भएकोमा मनासलुको हिस्सा सबभन्दा ठुलो रहेको छ ।गोरखापत्र दैनिकबाट
