काठमाडौं । चारदिने झरीले देशका विभिन्न भागमा जनधनको क्षति पुर्याएको घाउ निको नहुँदै गोरखाको बूढीगण्डकीमा आएको आकस्मिक बाढीले ठूलो क्षति गरेको छ । चाडबाडको मुखमा आएको अर्को विनाशकारी बाढीले फेरि घरबस्ती, पुल र जलविद्युत् आयोजनामा क्षति पुर्याएको हो । आइतबार बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्याएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार नदीमा एक्कासि बढेको कालो लेदो र ढुंगामाटोसहितको भेलले घर, पुल र निर्माणाधीन जलविद्युत् आयोजनाका संरचना बगाएको हो । बाढीले कतिपय परिवार घरबारविहीन भएका छन् । आफन्त सम्पर्कविहीन भएपछि केही परिवारको चाडबाडको खुसी शोक र चिन्तामा बदलिएको छ ।
बाढीले गोरखा र धादिङ जोड्ने आरुघाट पुलको एक भाग बगाएको छ । सोतीखोलाको पक्की पुलसहित विभिन्न झोलुंगे पुलमा क्षति पुगेको छ । चुमनुब्रीको जगत, सल्लेरी, पैयुँ, बगर र घट्टेखोलालगायत क्षेत्रमा घरबस्ती प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार तीन दर्जनभन्दा बढी घर बगेका छन् । निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प र उपकरणमा पनि क्षति पुगेको छ ।
नेपाली सेनाका हेलिकोप्टर तथा सुरक्षाकर्मी उद्धारमा परिचालित भएका छन् । जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने र सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
दशैँ-तिहारको मुखमा आएको यो पहिलो विपत्ति होइन । यसअघि असोजको दोस्रो साता देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोले जनधनको ठूलो क्षति गरेको थियो । त्यसको केही साताअघि, भदौ १० गते, रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले त विध्वंस नै मच्चाएको थियो । अघिल्ला दुई बाढीको पीडा नसकिँदै बूढीगण्डकीको बाढीले अर्को संकट थपेको हो ।
दशैँ–तिहारको मुखमा आएको बूढीगण्डकीको बाढीले प्रभावित परिवारलाई तत्कालीन संकटसँगै दीर्घकालीन चुनौती पनि दिएको छ । घर बगेका परिवार बासविहीन बनेका छन् । सडक, पुल र सञ्चार संरचनामा पुगेको क्षतिले स्थानीय सेवा तथा आर्थिक गतिविधि पुनः सञ्चालन गर्न पनि चुनौती थपेको स्थानीय बताउँछन् ।
घर, बस्ती, पुल र जलविद्युत् आयोजनामा क्षति
बूढीगण्डकीको बाढीले गोरखाको उत्तरी भेगका विभिन्न बस्तीमा क्षति पुर्याएको छ । चुमनुब्री गाउँपालिकाको जगत, सल्लेरी, पैयुँ, बगर र घट्टेखोलालगायत क्षेत्रमा घरहरू बगेका छन् । प्राप्त प्रारम्भिक विवरणमा तीन दर्जनभन्दा बढी घर बगेको प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले चुमनुब्री गाउँपालिका-३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल बगाएको छ ।
धार्चे गाउँपालिका-३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिका र वरपर रहेका सात/आठवटा घरहरू बगाएको उप्रेतीले बताउनुभयो । आयोजनाका १२ कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीले टाइम्स जलविद्युत् आयोजनाको भौतिक संरचनामा क्षति गरेको छ । आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल पनि बाढीले बगाएको छ । कार्यकारी प्रमुख उप्रेतीका अनुसार बूढीगण्डकी (३४१ मेगावाट) मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बाढीले बगाएको छ । बाढीले दुईवटा टेलिफोन टावर र ५० वटा बिजुलीको पोलमा क्षति भएको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका विशालनगरका करिब १०० घरमा लेदो पसेको छ । बूढीगण्डकी नदीमा आएको बाढीले दोभान खोला २४.५ मेगावाट क्याम्प क्षेत्रका केही क्षति गर्नुको साथै बेलिब्रिज बगाएको छ । पुलहरू बग्दा स्थानीय बासिन्दाको आवागमन, खाद्यान्न तथा औषधि आपूर्ति र उद्धार कार्यमा कठिनाइ थपिएको छ । सडक र पुलमा क्षति पुगेको अवस्थामा वैकल्पिक बाटोको व्यवस्था तथा अस्थायी पुल निर्माण प्रभावित क्षेत्रको तत्कालीन आवश्यकता बनेको छ । बाढीले टेलिफोन टावर र बिजुलीका पोलमा पनि क्षति पुर्याएको विवरण छ । सञ्चार र विद्युत् सेवा प्रभावित हुँदा विपत्को वास्तविक अवस्था बुझ्न, परिवारसँग सम्पर्क गर्न र उद्धारको समन्वय गर्न थप कठिन भएको छ । क्षतिको पूर्ण विवरण भने प्राविधिक मूल्यांकन र स्थलगत अध्ययनपछि मात्रै स्पष्ट हुनेछ ।
पहिरोको प्रारम्भिक अनुमान, वैज्ञानिक अध्ययन बाँकी
बूढीगण्डकीमा बाढी आउनुको वास्तविक कारण अझै पूर्णरूपमा पुष्टि भइसकेको छैन । प्रारम्भिक विवरणमा नदीको माथिल्लो क्षेत्रमा पहिरो गएर बहाव थुनिएको र पछि थुनिएको भाग खुलेपछि आकस्मिक बाढी आएको अनुमान गरिएको छ । नेपाली सेनाले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारीअनुसार चुमनुब्री गाउँपालिका–३ आसपासको क्षेत्रमा सुक्खा पहिरो गएको र त्यसले नदीको बहाव अवरुद्ध गरेको थियो । बहाव खुलेपछि लेदो र गेग्रानसहितको बाढी आएको सेनाको प्रारम्भिक रिपोर्टिङ छ ।
बाढी पूर्वानुमान महाशाखाका विज्ञहरूले पनि चुमनुब्री गाउँपालिकाको तुम्जे क्षेत्रमा पहिरो गएको भू-उपग्रहका तस्बिरबाट देखिएको बताएका छन् । महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार उक्त क्षेत्रमा पछिल्लो २४ घण्टामा उल्लेख्य वर्षा भएको अभिलेख छैन । त्यसैले तत्कालीन वर्षाका कारण मात्रै बाढी आएको निष्कर्षमा पुग्न नसकिने उहाँको भनाइ छ ।
हवाई निरीक्षणमा संलग्न प्राविधिकहरूले माथिल्लो क्षेत्रमा ठूलो पहिरो गएको, खोँचमा ढुंगामाटो खसेको र खोलाको तीव्र बहावले हिलोमाटो अग्ला रूखसम्म उडाएको देखिएको बताएका छन् । बाढीको उद्गम क्षेत्र नजिकैको भौगोलिक अवस्था र गेग्रानको प्रकृतिले पनि घटनाको कारण पत्ता लगाउन थप अध्ययन आवश्यक देखाएको छ ।
अर्कोतर्फ, उत्तरी क्षेत्रका स्थानीय बासिन्दाले बाढी आउनुअघि जमिन हल्लिएको महसुस गरेको बताएका छन् । अमेरिकाको अर्थस्कोप कन्सोर्टियमको प्रणालीमा नेपालको ककनी स्टेसनले जमिनको कम्पनसम्बन्धी तरंग अभिलेख गरेको देखिएको विवरण पनि सार्वजनिक भएको छ । तर, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सो अवधिमा गोरखा वा आसपासको क्षेत्रमा नयाँ भूकम्प रेकर्ड नभएको जनाएको छ ।
भूगर्भविद्हरूका अनुसार पहिरो, चट्टान खस्ने घटना वा ठूलो मात्रामा गेग्रान बग्दा पनि जमिनमा कम्पन उत्पन्न हुनसक्छ । त्यस्तो कम्पन संवेदनशील उपकरणमा अभिलेख हुनसक्छ, तर त्यसलाई भूकम्पका रूपमा वर्गीकरण गरिन्छ भन्ने हुँदैन । त्यसैले ककनी स्टेसनमा देखिएको तरंग र बाढीको घटनाबीच के सम्बन्ध छ भन्ने विषयमा वैज्ञानिक अध्ययन आवश्यक छ ।
विपत् व्यवस्थापन प्राधिकरणले ड्रोनसहित भूगर्भविद्को टोली परिचालन गरेको जनाएको छ । टोलीले बाढीको उद्गम क्षेत्र, पहिरोको अवस्था र नदीको बहावमा आएको परिवर्तनबारे अध्ययन गर्नेछ । अध्ययनको निष्कर्ष नआएसम्म बाढीको कारण पहिरो, हिमाली क्षेत्रको कुनै घटना वा अन्य भौगर्भिक प्रक्रियामध्ये के हो भन्ने विषयलाई अनुमानकै तहमा राख्नुपर्ने हुन्छ ।
उद्धार र राहतमा सरकारी संयन्त्र परिचालित
बाढीको सूचना प्राप्त भएपछि सरकारले प्रभावित क्षेत्रका बासिन्दाको उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरेको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली खोज तथा उद्धारमा खटिएका छन् । नेपाली सेनाका हेलिकप्टरबाट जोखिममा परेका तथा विभिन्न स्थानमा फसेका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रारम्भिक विवरणअनुसार हेलिकप्टरबाट चार दर्जनभन्दा बढी मानिसको उद्धार गरिएको छ । उद्धार गरिएका व्यक्तिलाई सुरक्षित स्थानमा राख्ने, प्रभावित परिवारको विवरण संकलन गर्ने र सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने काम जारी छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासीका विभिन्न क्षेत्रमा प्रतिकार्य टोली परिचालन गरेको जनाएको छ । नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन, जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा जान र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
बाढीले क्षति पुर्याएका सडक र पुलको अवस्था मूल्यांकन गर्न सडक विभाग तथा सम्बन्धित प्राविधिक निकायका टोली पनि परिचालित भएका छन् । आरुघाट पुलमा बेलीब्रिज राखेर आवागमन सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको छ ।
उद्धार र सहयोगमा जुट्न दलहरूको आग्रह
बूढीगण्डकी बाढीपछि राजनीतिक दलका नेताहरूले पनि उद्धार, राहत र सुरक्षामा सहयोग गर्न आह्वान गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सदस्यलाई उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गर्नुभएको छ । उहाँले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सतर्क रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न अपिल गर्नुभएको हो । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि प्रभावित नागरिकको उद्धार, राहत र आवश्यक सहयोगमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र जोखिमप्रति उच्च सतर्कता अपनाउन उहाँले अनुरोध गर्नुभएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने विपत् व्यवस्थापनमा सरकार पूर्णरूपमा चुकेको आरोप लगाउनुभएको छ । विपत्को बेला सरकारी स्रोतसाधनको समेत दोहन भएको उहाँको आरोप छ । अध्यक्ष ओलीले विपत् व्यवस्थापन जस्तो संवेदनशील विषयमा सरकारले फराकिलो सोच राख्न नसकेको जिकिर गर्नुभयो । सरकारको मुख मात्र ताकेर नबस्न आग्रह गर्दै अध्यक्ष ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा तत्काल खटिन निर्देशन दिनुभयो ।
डेढ महिनामै तीन ठूला विपत्ति
पछिल्लो डेढ महिनामै नेपालले तीन ठूला विपत्तिको सामना गरेको छ । १० भदौमा आएको रसुवा बाढीले ठूलो क्षति गरेको थियो । हालसम्म एक हजार ४५५ जनाको मृत्युको पुष्टि भएको छ भने अझै पाँच हजार २८५ जना बेपत्ता छन् । रसुवा बाढीको आर्थिक तथा भौतिक क्षति चार खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढी छ । त्यसपछि ८ देखि १२ असोजसम्म परेको निरन्तर वर्षाका कारण कालीगण्डकी नदीमा बाढीले थप क्षति गरेको थियो ।
११ असोजमा परेको भीषण वर्षाले कालीगण्डकीमा बाढी आउँदा तटीय क्षेत्र, आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । मुस्ताङदेखि बेनी–म्याग्दी, बाग्लुङ, स्याङ्जा र पाल्पासम्म प्रभावित बन्दा कालीगण्डकी बाढीले २६ जनाको ज्यान लिएको थियो । दुई ठूला बाढीको लगालगको क्षतिपछि आइतबार नेपालले फेरि अर्को तेस्रो ठूलो बाढीको वितण्डा भोगेको छ । बूढीगण्डकीमा आएको बाढीले नदीको तटीय क्षेत्रमा ठूलो आर्थिक तथा भौतिक क्षति गरेको छ । गोरखाको चुमनुब्री, आरुघाट क्षेत्र पूर्णरूपमा प्रभावित भएको छ ।हिमालय टाइम्स
