बागलुङ। बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकमा वृद्ध महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २० बस्ने १९ वर्षीय रबिन कुमार यादव र १८ वर्षीय प्रकाश राय यादव रहेका छन्।
प्रहरीका अनुसार कार्तिक २ गते दिउँसो १:०९ बजेको समयमा हल्लनचोकस्थित जीवन पुनकी आमा ७० वर्षीया कृष्ण माया पुनले घाँटीमा लगाएको २.७८ तोलाको सुनको सिक्री चोरी गरी उनीहरू भागेका थिए। उक्त सुनको सिक्रीको मूल्य आठ लाख छ हजार दुई सय रुपैयाँ बराबर रहेको छ।
प्रहरीले बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकबाटै उनीहरूलाई फेला पारी खानतलासी गर्दा सिक्री बरामद भएको थियो।
सिक्री बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि बागलुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिएका छन्।
