सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

छठपछि सरकारविरुद्ध उत्रिँदै विपक्षी दल

२०८३ कार्तिक ११, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा सरकार गठन भएको सात महिना पूरा हुन लागेको छ । गत वर्ष भदौमा ‘जेन-जी’ आन्दोलनपछि भएको निर्वाचनबाट झण्डै दुई तिहाइको सिट हासिल गरेको रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले सरकारको नेतृत्व गरिरहनु भएको छ । गठन भएको सात महिना बित्नै लाग्दा पनि सरकारले अपेक्षाअनुसार काम गर्न सकेको छैन । भदौ १० को रसुवा बाढीको विपत् व्यवस्थापनदेखि बजार महँगीले गर्दा सरकारप्रति आम नागरिकको असन्तुष्टि व्याप्त छ । नागरिक असन्तुष्टिलाई समातेर विभिन्न राजनीतिक दलहरू सरकारविरुद्ध संघर्ष चर्काउने गृहकार्यमा जुटेका छन् । सरकारका काम कारबाहीप्रति असन्तुष्टि बढिरहेको बेला मुलुकका दुई वाम दलहरू नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहकार्यको गृहकार्यमा जुटेका छन् । दुई दलको सहकार्यबाट सरकारलाई दबाब दिने दुई दलले रणनीति तय गरेका छन् ।

एमाले र नेकपाबीच राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा र आमनागरिकले भोग्दै आएको महँगी लगायतका विषयमा पनि साझा कार्यक्रम बनाउने तयारी छ । सहकार्य भए संसद् र सडकबाट सरकारलाई दबाब दिने एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालको तयारी छ । नेताहरू माथिको अनुसन्धान, सुकुमबासी विस्थापन र ट्रेड युनियन खारेज गर्ने लगायतका सरकारी निर्णयविरुद्ध दुवै दलको साझा धारणा छ । ‘जेन–जी’ आन्दोलन, २४ भदौको प्रदर्शन र २१ फागुनको निर्वाचनपछि लोकतन्त्र संकटमा परेको उल्लेख गर्दै अध्यक्ष ओलीले वामपन्थीसहित लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताउँदै आउनुभएको छ ।

सरकारविरोधी मोर्चाबन्दी कस्ने तयारीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभन्दा पनि वाम दलहरू अग्रसर देखिएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक दाहालले वर्तमान सरकार राष्ट्रियता, सामाजिक न्याय, आर्थिक समृद्धि तथा जनजीविकाको सबालमा अनुदार बन्दै गएकाले दशैँ-तिहार-छठ पर्वलगत्तै आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिँदै आउनुभएको छ । दशैँअघि असोज २३ गते बसेको केन्द्रीय संयोजन समिति बैठकमा दाहालले सरकार बनेको ६ महिनामै बालेन्द्र शाह नेतृत्वको सरकार अलोकप्रिय बन्दै गएको निष्कर्ष निकाल्नुभएको थियो ।

प्रधानमन्त्री बालेन्द्र शाहले सत्तारूढ रास्वपाकै एक समूहलाई बाइपास गरेर अगाडि बढेकाले सरकारको आयु धेरै नभएको दाहालको तर्क छ ।
सरकारको गलत कामको भण्डाफोर गर्दै पार्टी संगठनलाई सुदृढीकरण गर्ने उद्देश्यका साथ नेकपाले कात्तिक ७ देखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान घोषणा गरेको छ । नेकपाले सार्वजनिक गरेको अन्तरपार्टी (अपानी)-५ को १३ नम्बर बुँदामा राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक गणतन्त्र, जनजीविका, सुशासनलगायत सवालमा सबै पक्षसँग सहकार्य गर्ने निर्णय गरेको छ । जागरण अभियानबारे पार्टीको धारणा प्रष्ट पार्न कात्तिक ७ गते नेकपाले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक दाहालले केही समयमै देशमा नयाँ परिस्थिति बनिछाड्ने दाबी गर्नुभएको छ ।

दाहालको सार्वजनिक अभिव्यक्ति, आन्तरिक बैठक गरिएको ब्रिफिङ, पार्टीको निर्णय र एमालेलगायत अन्य वामपन्थी दलहरूसँग निरन्तर सम्वाद तथा छलफलबाट चाडपर्व सकिएलगत्तै सदन र सडकबाट आन्दोलन चर्काउने तयारीमा वाम दलहरू रहेका छन् । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ठूलो धक्का खाएका विपक्षी दलहरूले प्रधानमन्त्री, मन्त्रीहरूको कार्यशैली, राष्ट्रियताविरोधी अभिव्यक्ति, सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा देखिएको उदासीनतालाई मुख्य हतियार बनाउने रणनीति अख्तियार गरेका छन् ।

‘जेन-जी’ आन्दोलनका कारण सत्ता गुमाउनुभएका एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरोधी आन्दोलन चर्काउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । गत असोजको दोस्रो हप्ता सम्पन्न केन्द्रीय समिति बैठकले एमालेविरुद्ध चौतर्फी घेराबन्दी भएकाले सदन र सडकबाट सशक्त आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सुरक्षा निकायहरूले पनि दशैँ, तिहार र छठ पर्व सकिएपछि काठमाडौं केन्द्रित आन्दोलन हुनसक्ने सुरक्षा विश्लेषण गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि आन्दोलनको सम्भावनाबारे गृह मन्त्रालयमा यसअघि नै ‘ब्रिफिङ’ गरिसकेका छन् । राष्ट्रिय अनुसन्धान विभागले कात्तिक महिनापछि आन्दोलन हुनसक्ने लिखित रिपोर्ट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ  हिमालय टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै

दानबहादुरको मुद्दालाई अग्राधिकार

स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना

बैंकमा पैसा थुप्रियो, मुद्दती निक्षेप घट्यो

शिक्षकको क्षमता विस्तार पढाउन जानुअघि तीन महिनाको तालिम अनिवार्य

कर तिर्नेलाई सम्मान, लगानीकर्तालाई अन्योल