सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

२०८३ कार्तिक १८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मनाङ, १८ कात्तिकः अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन् ।

अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले अक्टोबरसम्म कुल ३० हजार ६६२ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका जानकारी दिनुभयो । उहाँका अनुसार १९ हजार १४० पुरुष, ११ हजार ५१२ महिला र अन्य १० पर्यटकले भ्रमण गरेका हुन् ।

आयोजनाका अनुसार, भारतीय पाँच हजार ४९, इजरायलका दुई हजार ७६८, जर्मनका एक हजार ९४८, चीनका एक हजार ८९९ र फ्रान्सका एक हजार ३४ पर्यटकले मनाङको भ्रमण गरेका छन् । “अक्टोबरसम्म ११९ देशका नागरिकले मनाङका विभिन्न स्थानको भ्रमण गरेका छन्,” प्रमुख भुजेलले भन्नुभयो, “सार्क राष्ट्रका पाँच हजार ९० र अन्य देशका २५ हजार ५७२ पर्यटकले यहाँको सुन्दरताको अवलोकन तथा भ्रमणमा आएका छन् ।”

अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको अवस्थामा पनि उल्लेख्य पर्यटक आएको उहाँले बताउनुभयो । “जोखिमकै अवस्थामा पनि मनाङको सौन्दर्यता तथा प्राकृतिक, सांस्कृतिक क्षेत्रको भ्रमणमा आएका हुन् । जोखिम कम भएपछि अहिले पर्यटक गन्तव्यतर्फ पुगिसकेका छन्,” उहाँले भन्नुभयो ।

अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ (पास), विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल र मनास्लु हिमाल अरोहण गर्न पर्यटक आउने गरेका छन् ।

हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज र प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।

पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्छन् । पछिल्लो समय सवारीसाधनमा नै चामे, खाङ्सारसम्म पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै पदयात्रा सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

सुनचाँदीको मूल्य घट्यो,कारोबार कत्तिमा हुदैछ

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक

नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउनुपर्छ: मन्त्री पौडेल

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार?

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार?