सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

युद्धमा फर्कदा कसैलाई फाइदा हुँदैन: इरानी राष्ट्रपति

२०८३ कार्तिक १८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, १८ कात्तिक (रासस\एएफपी):‘स्ट्रेट अफ होर्मुज’मा पर्ने इरानी टापुमा अमेरिकी आक्रमण भएको खबर सार्वजनिक भएको केही घण्टापछि इरानका राष्ट्रपति मसुद पेजेस्कियनले मङ्गलबार युद्ध पुनः सुरु हुँदा कसैलाई फाइदा नहुने बताउनुभएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूले होर्मुजस्थित केसम टापुमा अमेरिकी आक्रमण भएको जनाएका छन् । तर अमेरिकी सेन्ट्रल कमान्डले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

पेजेस्कियनले आफ्नो सरकार अझै पनि वार्तामार्फत सङ्कट समाधान गर्ने पक्षमा रहेको बताउनुभयो । इरानका सर्वोच्च नेताले यसअघि वार्ताको दायराभन्दा बाहिर राखिएका विषयमा समेत छलफल गर्न सरकारलाई नयाँ अधिकार दिएको उहाँको भनाइ छ ।

इरानका प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफले भने देश युद्धका लागि तयार रहेको चेतावनी दिनुभएको छ । उपविदेशमन्त्री काजेम घारिबाबादीले पनि अमेरिकी आक्रमणपछि इरानसँग आत्मरक्षाको वैध अधिकार सुरक्षित रहेको बताउनुभएको छ ।

अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नल, सीएनएन र न्युयोर्क टाइम्सले नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै केसम टापुमा भएका आक्रमण रक्षात्मक प्रकृतिका रहेको जनाएका छन् । इजरायली सेनाले भने उक्त आक्रमणमा आफ्नो सङ्गलग्नता नरहेको स्पष्ट पारेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने बताउनुभएको छ । ‘इरान जतिसक्दो चाँडो समाधान चाहन्छ,’ उहाँले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभएको छ ।

इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार केसम टापुमा पाँचवटा विस्फोट भएका थिए । स्थानीय बासिन्दाले आकाशमा दुईवटा विमान उडिरहेको देखेको बताएका छन् । गालिबाफले अब युद्ध रोक्ने वा अघि बढाउने निर्णय अमेरिकाको हातमा रहेको बताउनुभएको छ ।

अमेरिका र इरानबीच अप्रत्यक्ष वार्तामा मध्यस्थता गरिरहेको कतारले पनि सम्झौताको सम्भावना कायमै रहेको जनाएको छ । कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले दुवै पक्ष वार्ताप्रति प्रतिबद्ध रहेको र प्रस्तावहरूको आदानप्रदान भइरहेको बताउनुभयो । कतारले अन्तरिम सम्झौताका लागि प्रयास गरिरहेको उहाँको भनाइ छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता जारी रहेको पुष्टि गर्नुभएको छ । वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै परामर्श र छलफल तीव्र बनाइएको उहाँले बताउनुभएको छ ।

यसैबीच, इरानले आफ्ना माग पूरा भए दुई दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्न सकिने सङ्केत दिनुभएको छ । विश्वको प्रमुख तेल तथा ग्यास आपूर्ति मार्गमध्ये एक मानिने उक्त जलमार्ग खुलाउन इरानले रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा, तेलमाथिका प्रतिबन्ध हटाउने र इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्नुपर्ने माग राखेको छ ।

इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले दुई दिनभित्र जलमार्ग खोल्न सकिने प्रस्तावलाई इरानको सदाशयताको प्रमाणका रूपमा व्याख्या गर्नुभएको छ ।

यद्यपि ट्रम्पले इरानमाथि थप आक्रमण हुन सक्ने चेतावनी दिँदै आउनुभएको छ । उहाँले मध्य इरानस्थित ‘पिकएक्स माउन्टेन’ नामक सम्भावित आणविक स्थललाई पनि सम्भावित निशानाका रूपमा उल्लेख गर्नुभएको छ । तेहरानले भने त्यहाँ आणविक सुविधा रहेको दाबी अस्वीकार गर्दै आएको छ ।

यसैबीच, इरानी अधिकारीहरूले अमेरिकी आक्रमण पुनः सुरु भए व्यापक प्रतिकार गर्ने चेतावनी दिएका छन् । तेहरानमा अमेरिकी राष्ट्रपति ट्रम्पको तस्बिरसहित ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको विशाल होर्डिङ बोर्ड राखिएको एएफपीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास