काठमाडौं । ऐतिहासिक, सामरिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय नेपाली सेनाले भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित बुकाचोगढीको पुनरुत्थान गरेको छ। नेपाल एकीकरण अभियानसँग ऐतिहासिक सम्बन्ध जोडिएको यस गढीलाई संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सेनाले महत्वपूर्ण योगदान पुर्याएको छ।
नेपाली सेनाले देशका विभिन्न स्थानमा रहेका ऐतिहासिक गढी, किल्ला, युद्धस्थल, पाटीपौवा तथा अन्य पुरातात्त्विक सम्पदाको पहिचान, अन्वेषण, उत्खनन र संरक्षणका काम गर्दै आएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार नेपाल सरकारसँगको समन्वयमा एकीकरण मार्ग पहिचान गरी त्यस क्षेत्रमा रहेका ऐतिहासिक धरोहरको संरक्षण तथा प्रवर्द्धनमा सेना जुटिरहेको छ।
यसैक्रममा ऐतिहासिक सम्पदाको अवस्था र संरक्षणका प्रयासबारे जानकारी लिन सैनिक प्रवक्ता बस्नेतको नेतृत्वमा रक्षा पत्रकारहरूको टोलीले बुकाचोगढीको स्थलगत अवलोकन गरेको थियो। यस्ता स्थलको प्रचारप्रसारबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीय बासिन्दाको जीविकोपार्जन र आर्थिक विकासमा समेत सहयोग पुग्ने उद्देश्य राखिएको सेनाले जनाएको छ।
भक्तपुर सदरमुकामबाट करिब पाँच किलोमिटर दक्षिणपूर्वमा अवस्थित बुकाचोगढी ऐतिहासिक र सामरिक दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ। अग्लो स्थानमा रहेको यस गढीबाट काठमाडौं उपत्यका र काभ्रे जिल्लाका विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिन्छ। गढी आसपास आशापुरी महादेव, अनन्तलिङ्गेश्वर, डोलेश्वर र मुण्डलेश्वरजस्ता धार्मिक स्थलसमेत रहेका छन्।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार पृथ्वीनारायण शाहको नेतृत्वमा सञ्चालित नेपाल एकीकरण अभियानका क्रममा गोरखाली सेनाले उपत्यका विजयका लागि मल्लकालीन पुराना किल्लालाई सामान्य मर्मतसम्भार गरी रणनीतिक गढीका रूपमा प्रयोग गरेको थियो। वि.सं. १८२६ कात्तिक २९ गते गोरखाली सेनाले भक्तपुरमाथि विजय हासिल गर्दा बुकाचोगढीलाई सामरिक दृष्टिले महत्वपूर्ण स्थान तथा भन्सार चौकीका रूपमा उपयोग गरिएको इतिहासमा उल्लेख छ।
नेपाली सेनाले सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा गढीको पुनरुत्थान गरेको हो। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार अमरगढी शैलीमा ६०–६० फिटको गढी निर्माण गर्ने योजनाअन्तर्गत पृथ्वीनारायण शाहको पूर्णकदको सालिकसहित संरचना निर्माण गरिएको छ।
वि.सं. २०७९ पुस १५ गते सुरु भएको निर्माण कार्य २०८० जेठ ३२ गते सम्पन्न भएको थियो। निर्माण सम्पन्न भएपछि २०८० असार १५ गते संरचनाको उद्घाटन गरिएको र असार ३१ गते सूर्यविनायक नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
यसैगरी, नेपाली सेनाले आर्थिक वर्ष २०७८/०७९ मा करिब ६० फिट अग्लो भ्यु टावरसमेत निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेको थियो। गढी र भ्यु टावर निर्माणले यस क्षेत्रलाई ऐतिहासिक अध्ययन तथा दृश्यावलोकनका लागि थप आकर्षक बनाएको छ।
बुकाचोगढी नगरकोट–साँगा–बुकाचोगढी–रानीकोट–लाँकुरी भञ्ज्याङ पदमार्गसँग पनि जोडिएको छ। यसले धार्मिक तथा ऐतिहासिक पर्यटनसँगै पदयात्रा पर्यटनको सम्भावनासमेत बढाएको छ। आसपासका धार्मिक स्थल र प्राकृतिक दृश्यावलोकनको अवसरका कारण यो क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने देखिन्छ।
ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटन गतिविधि विस्तार हुँदा स्थानीय उत्पादनको बजार, रोजगारी र आयआर्जनका अवसर बढ्ने अपेक्षा गरिएको छ। बुकाचोगढीलाई पर्यटकीयस्थलका रूपमा थप विकास गर्न नेपाली सेनाले पुर्याएको योगदानको सूर्यविनायक नगरवासीले प्रशंसा गरेका छन्।
ऐतिहासिक महत्व बोकेका गढी तथा किल्लाको संरक्षणले नेपालको एकीकरण इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउन सहयोग पुग्नेछ। साथै यस्ता सम्पदालाई पर्यटनसँग जोड्न सके स्थानीय अर्थतन्त्र र राष्ट्रिय सम्पदाको संरक्षण दुवैमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
