सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भरोसायोग्य साथी कुकुर

२०८३ कार्तिक २२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, कात्तिक २२ गते । घरको सुरक्षा होस् वा अपराध अनुसन्धान, प्राकृतिक विपत्तिमा खोजी होस् वा भग्नावशेषमा पुरिएका मानिसको उद्धार । कुकुर मानिसको भरोसायोग्य साथी बन्दै आएको छ । मानिससँगको हजारौँ वर्ष पुरानो सहयात्रामा कुकुरले आफ्नो वफादारी, चनाखोपन र असाधारण सुँघ्ने क्षमताका कारण विशेष स्थान बनाएको छ । यही सम्बन्धको सम्मान गर्दै यमपञ्चकमा कुकुरको पूजा गर्ने परम्परा रहिआएको छ ।

मानिसले गाई, भैँसी, घोडा, भेडा र हात्तीलाई विभिन्न प्रयोजनका लागि पाल्दै आए पनि कुकुरको भूमिका सुरक्षा र सहकार्यमा विशिष्ट छ । घरको रेखदेखदेखि सिकार, पशुधनको सुरक्षा र अपराधी पहिचानसम्म कुकुरले मानिसलाई सहयोग गर्दै आएको छ । पछिल्लो समय कुकुरलाई घरको अभिन्न सदस्यका रूपमा पाल्ने क्रम पनि बढेको छ ।

ज्योतिष पण्डित शम्भुप्रसाद गुरागाईंले कुकुरतिहारको धार्मिक तथा सांस्कृतिक महत्व रहेको बताउनुहुन्छ । कुकुरलाई यमदूत तथा यमराजको प्रिय भक्त मान्ने धार्मिक विश्वास छ । महाभारतमा युधिष्ठिरले आफ्नो भक्त कुकुरलाई साथ नलिई स्वर्ग जान अस्वीकार गरेको प्रसङ्गले पनि कुकुरप्रतिको सम्मानलाई उजागर गरेको उहाँले बताउनुभयो ।

अपराध अनुसन्धानमा विशेष भूमिका 

कुकुरको उपयोगिता धार्मिक र घरेलु जीवनमा मात्र सीमित छैन । अपराध अनुसन्धानमा कुकुरको प्रयोग गर्दै आएको नेपाल प्रहरीको केनाइन सेवा पाँच दशकभन्दा लामो समयदेखि सञ्चालनमा छ । नेपाल प्रहरीले २०२६ सालबाट कुकुरलाई अपराध अनुसन्धान तथा खोजी कार्यमा प्रयोग गर्न थालेको हो ।

नेपाल प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रोडर, ककर स्प्यानियल, गोल्डेन रिट्रिभर, बिगल, बेल्जियन मेनोलोइज र डच सेफर्ड गरी विभिन्न प्रजातिका १०६ वटाभन्दा बढी कुकुर छन् ।

प्रहरीका कुकुरलाई ट्र्याकर, विस्फोटक पदार्थ पहिचान, खोज तथा उद्धार र लागुऔषध पहिचान गरी चार विधामा परिचालन गर्दै आएको नेपाल प्रहरी केनाइन कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक बद्रीप्रसाद पौडेलले बताउनुभयो । हत्या, अपहरण तथा बलात्कार जस्ता घटनाको अनुसन्धानमा ट्र्याकर कुकुर प्रयोग गरिन्छ । घटनास्थलमा भेटिएका वस्तु वा व्यक्तिको गन्ध पहिचान गरी अनुसन्धानलाई अगाडि बढाउन कुकुरले सहयोग गर्छ । लागुऔषध पहिचान गर्ने कुकुरले अवैध पदार्थको खोजी गर्छ भने विस्फोटक पदार्थ पहिचान गर्ने कुकुरलाई बम, बारुद  तथा अन्य विस्फोटक पदार्थ पत्ता लगाउन प्रयोग गरिन्छ । केनाइन कार्यालयका कुकुरको नस्ल र स्वभाव अनुसार तालिमको विधि निर्धारण गरिन्छ । भारत, थाइल्यान्ड, बेलायत र अमेरिकालगायतका देशबाट नेपालमा कुकुरका छाउरा ल्याइन्छ । पछिल्लो समय नेपालमा उत्पादन भएका कुकुरको पनि प्रयोग गरिँदै आएको छ । छ महिना पुगेपछि तालिम सुरु गरिने कुकुरलाई तीन महिनाको आधारभूत तालिम दिइन्छ । त्यसपछि क्षमता र विशेषताका आधारमा वर्गीकरण गरी जिम्मेवारी तोकिने पौडेलले जानकारी दिनुभयो ।

विपत्तिमा उद्धारकर्ताका सहयोगी 

बाढीपहिरो र भग्नावशेषमा पुरिएका वा बेपत्ता भएका मानिसको खोजीमा तालिमप्राप्त कुकुरको प्रयोग प्रभावकारी बन्दै गएको छ । उद्धारकर्मी तथा उपकरण पुग्न कठिन हुने स्थानमा कुकुरको सुँघ्ने क्षमताले खोजी कार्यलाई सहज बनाउँछ ।

भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र चितवनलगायतका क्षेत्रमा नेपाल प्रहरीले केनाइन टोली परिचालन गरेको थियो । रसुवामा जर्मन सेफर्ड जम्बो र बेल्जियन सेफर्ड रक्की, नुवाकोटमा ल्याब्राडोर लियो र कालु तथा चितवनमा जर्मन सेफर्ड दिप्सीलाई खोजी कार्यमा खटाइएको थियो । तीमध्ये उत्कृष्ट कार्य गरेबापत यो वर्ष नुवाकोटमा ल्याब्राडोर लियोलाई उत्कृष्ट कुकुरका रूपमा सम्मान गर्न लागिएको हो । कुकुरतिहारको अवसरमा पाँच वर्षको लियोलाई सम्मान गर्न लागिएको हो । बाढीपछि लियोले लगातार तीन वटा मृत शरीर र तथा धेरैको सङ्ख्यामा मानव अङ्ग पत्ता लगाएको थियो । त्यस्तै पोखरामा कार्यरत टाइसन, हेटौँडामा कार्यरत दिप्सी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सेटा र वेस्ट फिमेल डग फन्नीलाई कार्यक्षमताका आधारमा सम्मान गरिन लागेको हो । नेपाल प्रहरी केनाइन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामचन्द्र सत्यालले भग्नावशेष, माटो तथा हिलोमा पुरिएका मानिसको गन्ध पत्ता लगाउन कुकुर प्रभावकारी हुने बताउनुभयो । प्रविधि, तालिमप्राप्त जनशक्ति र केनाइनको संयोजनले खोज तथा उद्धार कार्यलाई छिटो बनाउन सहयोग पुगेको उहाँले उल्लेख गर्नुभयो । नेपाल प्रहरी केनाइन कार्यालयका प्रवक्ता डा. चेतनारायण ज्ञवालीका अनुसार कुकुरलाई लगातार खोजीमा लगाउँदा क्षमतामा असर पर्न सक्ने भएकाले विश्राम दिइन्छ । सामान्यतः ३० मिनेट खोजी गरेपछि १५ देखि २० मिनेट विश्राम दिने गरिएको उहाँले बताउनुभयो । भोटेकोशी बाढीका क्रममा सशस्त्र प्रहरी बलको साम्बा नामक कुकुरले दिएको सङ्केतका आधारमा रसुवामा १८ र नुवाकोटमा दुई गरी २० जनाको शव फेला पारिएको थियो । विपत्तिमा कुकुरको उपयोगिताको यो महत्वपूर्ण उदाहरण हो ।

तालिम, स्याहार र निवृत्त जीवन 

अपराध अनुसन्धान र उद्धारमा खटिने कुकुरको क्षमता कायम राख्न नियमित तालिम, उचित खानपान र स्वास्थ्य परीक्षण आवश्यक हुन्छ । नेपाल प्रहरीले तालिमप्राप्त कुकुरलाई जथाभावी खानेकुरा नदिई दैनिक करिब छ सय ग्राम डग फुड खुवाउने गरेको छ ।

कुकुरका छाउरा हुर्काउने, स्याहार गर्ने र तालिम दिने जिम्मेवारी डग ह्यान्डलरलाई दिइन्छ । कुकुर र ह्यान्डलरबिचको सम्बन्धले तालिम तथा कार्यसम्पादनमा महत्वपूर्ण भूमिका खेल्छ । कुकुरको स्वभाव र क्षमताको पहिचान गरी जिम्मेवारी तोक्नु यसको प्रभावकारी प्रयोगको आधार हो । पाँचदेखि १० वर्षसम्म अनुसन्धानमा खटिएका कुकुरलाई निवृत्त गरिन्छ । निवृत्त कुकुरलाई तालिम दिने व्यक्तिले जिम्मा लिन पाउने व्यवस्था छ । उनले लिन नमानेमा नेपाल प्रहरीकै कर्मचारीलाई जिम्मेवारी दिइन्छ । यसले लामो समय सेवा गरेका कुकुरको स्याहार र संरक्षणलाई निरन्तरता दिने व्यवस्था गरेको छ ।

सहरमा बढ्दो कुकुरपालन 

मानिसको सुरक्षा, अपराध अनुसन्धान, विपत् उद्धार र भावनात्मक साथसम्म कुकुरको भूमिका विस्तार भएको छ । यमपञ्चकमा गरिने पूजा केवल धार्मिक परम्परा मात्र नभई मानिसको जीवनमा कुकुरले पु¥याउँदै आएको योगदानप्रतिको सम्मान भएको सुमन चौप्रधानले बताउनुभयो । गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै

दानबहादुरको मुद्दालाई अग्राधिकार

स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना

बैंकमा पैसा थुप्रियो, मुद्दती निक्षेप घट्यो

शिक्षकको क्षमता विस्तार पढाउन जानुअघि तीन महिनाको तालिम अनिवार्य

कर तिर्नेलाई सम्मान, लगानीकर्तालाई अन्योल