सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान

२०८३ कार्तिक २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, कात्तिक २८ गते । देशभर पछिल्लो पाँच वर्षमा भएका एक लाख २९ हजार ७४१ सवारी दुर्घटनामा १२ हजार ९९४ जनाले ज्यान गुमाउनुका साथै एक लाख ८७ हजार १९८ जना घाइते भएका छन् ।

दुर्घटना न्यूनीकरणका लागि प्रविधिको प्रयोग, ट्राफिक निगरानी, जनचेतना र कानुनी कारबाहीका प्रयास भइरहे पनि दुर्घटना तथा मानवीय क्षति घट्नुको सट्टा पछिल्ला दुई वर्षमा बढ्दै गएको देखिएको छ । यसले सडक सुरक्षा व्यवस्थापन, पूर्वाधार सुधार र कानुन कार्यान्वयनमा गम्भीर चुनौती रहेको देखाएको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा दुर्घटनामा  एक लाख ८७ हजारभन्दा बढी घाइते भएका छन् । सवारी दुर्घटनामा परी मृत्यु र घाइते हुनेको कुल सङ्ख्या दुई लाखभन्दा बढी पुगेको छ ।

दुर्घटनाको वार्षिक विवरण अनुसार अघिल्ला तीन आर्थिक वर्षमा दुर्घटना घट्दो क्रम देखिए पनि पछिल्ला दुई वर्षमा तीव्र रूपमा बढेको देखिएको छ । आव २०८१/८२ मा २८ हजार ६९२ दुर्घटना हुँदा दुई हजार ५४९ जनाको मृत्यु भएको थियो । आव २०८२/८३ मा दुर्घटनाको सङ्ख्या बढेर २९ हजार ९८८ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या दुई हजार ८०७ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता दीपशमशेर जबरा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि प्रहरी तथा सुरक्षा निकायको प्रयास मात्र पर्याप्त नहुने बताउनुहुन्छ । उहाँका अनुसार यसमा सम्बन्धित मन्त्रालय, विभाग, यातायात क्षेत्र, स्थानीय तह र आमनागरिकको सामूहिक जिम्मेवारी आवश्यक छ । जबराले दुर्घटनाबाट भइरहेको मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि राष्ट्रियस्तरमै गम्भीर समीक्षा गरी एकीकृत रणनीति बनाउनुपर्ने बताउनुभयो ।

सवारी दुर्घटना बढ्नुमा चालकको लापर्बाही, तीव्र गति र ट्राफिक नियमको उल्लङ्घन प्रमुख कारणका रूपमा देखिएका छन् । मादक तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने, असुरक्षित ओभरटेक गर्ने, लेन अनुशासन पालना नगर्ने तथा लामो समयसम्म सवारी चलाउँदा हुने थकान र निद्राले दुर्घटनाको जोखिम बढाएको छ । मोबाइल फोन प्रयोग, क्षमताभन्दा बढी यात्रु राख्ने र जथाभाबी यात्रु चढाउने तथा ओराल्ने प्रवृत्तिले पनि जोखिम थपेको सरोकारवालाको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौला चालकको लापर्बाहीसँगै सडकको कमजोर अवस्था र राज्यको नियमन प्रभावकारी नहुनुलाई दुर्घटनाको प्रमुख कारण मान्नुहुन्छ । साँघुरा सडक, जोखिमपूर्ण घुम्ती, खाल्टाखुल्टी, सडक, सङ्केतको अभाव र सडकछेउमा पर्याप्त सुरक्षा बार नहुँदा दुर्घटनाको जोखिम बढेको उहाँको भनाइ छ ।

सिटौला भन्नुहुन्छ, “सवारीसाधन जथाभाबी सञ्चालन गर्न दिने तर नियमन र पूर्वाधार निर्माणमा पर्याप्त ध्यान नदिने प्रवृत्ति छ । विद्युतीय सवारीसाधन सञ्चालनको मापदण्ड, सडक सुरक्षाका बार, कुन सडकमा कुन प्रकारका सवारी चलाउने भन्ने व्यवस्था र दक्ष चालक उत्पादनमा राज्यको ध्यान पुग्नु पर्छ ।”

सवारीसाधनको नियमित यान्त्रिक परीक्षण, क्षमताभन्दा बढी यात्रु तथा मालसामान बोक्ने प्रवृत्ति र चालकको कार्यसमय व्यवस्थापनमा पनि कडाइ हुनुपर्ने उहाँ बताउनुहुन्छ । दुर्घटना न्यूनीकरणका लागि सरकारले नीतिगत व्यवस्था र प्रविधिको प्रयोग विस्तार गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार दुर्घटनाका कारण, न्यूनीकरणका उपाय तथा भावी कार्ययोजनासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ कार्यान्वयनमा ल्याइएको छ । दुर्घटनाग्रस्त क्षेत्र अर्थात् ‘ब्ल्याक स्पट’ पहिचान, नक्साङ्कन र जोखिमका आधारमा वर्गीकरण गरी प्राविधिक सुधारको योजना बनाउने काम भइरहेको छ ।

त्यस्तै ट्राफिक सचेतना कार्यक्रम सञ्चालनसम्बन्धी मार्गनिर्देशन, २०८३ कार्यान्वयनमा ल्याइएको छ । लामो दुरीका सार्वजनिक यात्रुवाहक सवारीमा दुई जना चालकको व्यवस्था भए/नभएको अनुगमन गर्न ट्राफिक कम्युनिकेसन एप (टिसिए) अनिवार्य गरिएको छ । देशभरका ७७ जिल्लाका २२८ स्थानमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम लागु गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र सातै प्रदेशका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा लागुपदार्थ सेवन परीक्षण किट वितरण गरी जाँच गर्ने व्यवस्था गरिएको छ । सिसिटिभी, ट्राफिक सिग्नल र राडार गनको प्रयोग तथा तीव्र गति, मादक पदार्थ सेवन र लेन अनुशासन उल्लङ्घन गर्नेमाथि निगरानी र कारबाहीलाई पनि निरन्तरता दिइएको यातायात व्यवस्था विभागले जनाएको छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै

दानबहादुरको मुद्दालाई अग्राधिकार

स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना

बैंकमा पैसा थुप्रियो, मुद्दती निक्षेप घट्यो

शिक्षकको क्षमता विस्तार पढाउन जानुअघि तीन महिनाको तालिम अनिवार्य

कर तिर्नेलाई सम्मान, लगानीकर्तालाई अन्योल