काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। विहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री शाहको भारत भ्रमणकाे विषयमा छलफल हुने बताइएकाे छ।
यही मङ्सिर ६ र ७ गते हुने प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच द्विपक्षीय हित, आपसी सहकार्य, विभिन्न सम्झौता तथा समझदारीका पत्रहरूमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ। भ्रमणमा प्रस्तुत गरिने आधिकारिक एजेन्डा, राष्ट्रिय तथा कूटनीतिक हितका विषयहरू र दुई देशको सम्बन्धलाई ‘बहुआयामिक ब्रेक थ्रु’ मा लैजाने कसरतस्वरूप सरकारले विगत केही दिनयता लगातार गृहकार्य गर्दै आएको छ।
आज बस्ने मन्त्रिपरिषद्को यस बैठकमा भ्रमणका क्रममा उठाइने मुख्य मुद्दाहरू, नेपाल-भारत सीमा समस्या, व्यापार घाटा, पूर्वाधार विकास तथा द्विपक्षीय सहकार्यका प्रस्तावहरूलाई अन्तिम रूप दिने र मन्त्रिपरिषद्बाट औपचारिक अनुमोदन गर्ने एजेन्डा रहेको छ।
साथै, भ्रमण टोलीमा सहभागी हुने सदस्यहरूको अन्तिम टुंगो लगाउने तथा सरकारका अन्य समसामयिक प्रशासनिक र नीतिगत निर्णयहरूसमेत बैठकमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।
