सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अपी हिमालः जहाँ प्रकृति बोल्छ

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बझाङ, ७ मङ्सिरः चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन । हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल । प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको एउटा सुन्दर टुक्राजस्तै बनाएको छ । अपी, नाम्पा, कापुचुली र बबई हिमालले घेरिएको यो भूगोलले आगन्तुकलाई प्रकृतिको मौन सङ्गीत सुनाउँछ ।

समुद्री सतहबाट सात हजार १३२ मिटर उचाइमा रहेको सुदूरपश्चिमकै अग्लो चुचुरो अपी हिमाल यस क्षेत्रको मुख्य आकर्षण हो । तीन हजार ९०० मिटर उचाइमा अवस्थित आधार शिविर क्षेत्रबाट हिमशृङ्खलाको भव्य स्वरूप नजिकैबाट नियाल्न सकिन्छ । विशाल पाटन, निलो ताल, हिमनदीबाट निसृत जलधारा र दुर्लभ वनस्पतिले यस क्षेत्रको सुन्दरता थपेका छन् ।

यहाँ पुग्नु आफैँमा रोमाञ्चक यात्रा हो । मार्मा गाउँपालिका हुँदै मकरीगाडसम्म जीपमा पुगेपछि करिब दुई दिनको पदयात्रा गर्नुपर्छ । कठिन उकालो, भिरालो गोरेटो र नदी किनार हुँदै अघि बढ्दा यात्रीले हिमाली भूगोलका विविध रूप देख्न पाउँछन् । लामो बाटो पार गरेर आधार शिविर पुग्दा यात्राको थकान हिमालको मनमोहक दृश्यमा हराउँछ ।

कालीढुङ्गा, बयेली ताल, धर्मी तथा मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल र फराकिला पाटन यस क्षेत्रका प्रमुख आकर्षण हुन् । प्राकृतिक सम्पदासँगै धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलले पर्यटकीय सम्भावना अझ बढाएका छन् ।

गर्मीयाममा रङ्गीचङ्गी फूलले ढाकिने पाटन पर्यटकका लागि मात्र होइन, स्थानीयको जीविकोपार्जनका लागि महत्वपूर्ण छ । यहाँ यार्सागुम्बा, पाँचऔँले, पदमचाल, हत्वाजडी, बायुजडी, जटामसीलगायत बहुमूल्य जडीबुटी सङ्कलन गरिन्छ । भेडा, च्याङ्ग्रा र चौँरी चराउने परम्परागत थलोका रूपमा यो क्षेत्र परिचित छ ।

अपी हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा यस क्षेत्रलाई आधुनिक पर्यटन अर्थतन्त्रको बलियो आधार बनाउने योजनामा हुनुहुन्छ । पर्यटकीय गतिविधि बढाउन सके स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना हुने उहाँको विश्वास छ ।

सामुदायिक घरबास (होमस्टे), स्थानीय यातायात, पदयात्रा गाइड, भरिया, होटल तथा खाद्य सेवामा स्थानीयको सहभागिता बढाउने तयारी गरिएको उहाँले बताउनुभयो । यसका लागि आवश्यक जनशक्तिलाई पटक–पटक तालिम दिइएको छ । “हामीले पालिकाका धेरै जनालाई पर्यटन अर्थतन्त्र विस्तारमा स्थानीयको भूमिकाबारे विभिन्न क्षेत्रका जनशक्तिलाई तालिम दिएर तयार पारिसकेका छौँ,” अध्यक्ष बोहराले भन्नुभयो ।

चालु आर्थिक वर्षमा आधार शिविर क्षेत्रमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गाउँपालिकाको लक्ष्य छ । “अहिलेको तयारीअनुसार अपेक्षित सङ्ख्यामा पर्यटक आउँछन् भन्ने विश्वास छ,” उहाँले भन्नुभयो ।

बोहराका अनुसार अहिले मुख्य समस्या सञ्चार ‘नेटवर्क’ र ‘इन्टरनेट’को हो । अन्य पूर्वाधार तयार भइसकेको उहाँको दाबी छ । “यहाँका मानिसको मौलिकपन नै ठूलो सम्पत्ति हो । आउने पर्यटकले कुनै समस्या भोग्नुपर्दैन । अहिलेलाई पुग्ने आवश्यक काम गरिसकेका छौँ । थप आवश्यकताअनुसार पूर्वाधार थपिन्छ,” उहाँले भन्नुभयो ।

अपी हिमालको पहिचान प्राकृतिक सुन्दरतामा मात्र सीमित छैन । यहाँको वेशभूषा, रीतिरिवाज, लोकबाजा, देउडा र परम्परागत ज्ञान उत्तिकै महत्वपूर्ण छन् । गैरा इको रिसोर्ट, घुसाका सञ्चालक महादेव धामी स्थानीय संस्कृति जोगाउँदै पर्यटकलाई आतिथ्य प्रदान गर्न आफूहरू सक्रिय रहेको बताउनुहुन्छ । गाउँपालिकाबाट प्राप्त तालिमपछि पाहुनाको खानपान, आवास र स्वागत सत्कारमा थप सहज भएको उहाँको भनाइ छ ।

गाउँपालिकाले मकरीगाडदेखि आधार शिविरसम्मका विभिन्न स्थानमा होमस्टे सञ्चालनको व्यवस्था मिलाएको छ । धनबोरा, घुसा, नाली, लामामाडौँ, आरूखोर, सिती, खायाकोट, छिरछिरे, सिमार, भल्याखोला र धौलीओडारमा पर्यटकका लागि आवास सुविधा उपलब्ध छ । त्यसपछि आधार शिविर क्षेत्रमा पुग्ने पाहुनालाई दैनिक ७० जनालाई पुग्ने स्थायी होटल तथा ठूला टेन्ट व्यवस्थित गरिएको छ । व्यक्तिगत रूपमा टेन्ट बोकेर जानेलाई पनि असहज हुँदैन ।

मकरीगाडबाट आधार शिविरसम्म ३४ किलोमिटरको दूरी भए पनि तीनदेखि पाँच किलोमिटरको अन्तरमा बनाइएका होमेस्टेले यात्रीलाई अझ सहज बनाएको छ । स्थानीय मौलिकता र आत्मीय व्यवहार यहाँको आतिथ्यका विशेषता नै हुन् । हरेक होमेस्टेमा फूलमालाले स्वागत गर्ने, सांस्कृतिक पहिचान झल्किने नाच देखाउने र स्थानीय परिकार खुवाउने परम्पराले पाहुनालाई आकर्षित गर्छ ।

दोलखाको बिगु गाउँपालिकाकी उपाध्यक्ष देवकी थामीले यहाँको आतिथ्य सत्कारको प्रशंसा गर्नुभयो । “सुरुमै फूलमालाले स्वागत गरिन्छ । सांस्कृतिक पहिचान झल्किने गरी स्थानीय नाच प्रस्तुत हुन्छ । बास र खानपिनमा तारे होटलको कमी महसुस हुँदैन । त्योभन्दा मीठो यहाँका मानिसको बोली, व्यवहार हो । यही सम्पत्तिले पर्यटकलाई अपिहिमाल नजिक्याउँछ,” उहाँले भन्नुभयो । पर्यटनलाई संस्कृति संरक्षणसँग जोड्न सके मौलिक पहिचान नयाँ पुस्तासम्म पु¥याउन सकिने थामीको विश्वास छ ।

गाउँपालिकाको पर्यटन विभाग हेर्ने बिसन बुढाथोकीका अनुसार गाउँपालिकाले आधार शिविरसम्म भरपर्दाे सञ्चार सेवा विस्तार, प्राथमिक उपचार सामग्रीको व्यवस्था, तालिमप्राप्त जनशक्ति परिचालन र आपत्कालीन उद्धार प्रणाली विकासको काम गरिरहेको  छ ।

अपी हिमाल धार्मिक आस्थाको केन्द्र पनि हो । यहाँको फेदबाट उदाउने चमेलिया नदीलाई भगवान् शिवको शिरबाट प्रवाहित गङ्गाको स्वरूप मान्ने जनविश्वास छ । खायाकोटका झलकसिंह लोथ्यालका अनुसार क्षेत्ती र घाजिरमा सुर्मा भवानीप्रतिको श्रद्धा, सुर्मा सरोवरको तीर्थ परम्परा तथा मार्कण्डेय र धर्मी गुफाले यस क्षेत्रको धार्मिक पहिचानलाई समृद्ध बनाएका छन् । शिरमा शिव भएकै कारण स्थानीय मन्दिरमा पनि आध्यात्मिक महत्व थपेको उहाँको बुझाइ छ । अपी हिमाल प्रकृतिको उपहार मात्र होइन, आस्थाको प्रतीक भएको उहाँले बताउनुभयो ।

हिमालको काखमा जलवायु सङ्कट

अपी हिमालको सौन्दर्यसँगै यसको भविष्यप्रति चिन्ता पनि बढ्दै गएको छ । जलवायु परिवर्तनका कारण हिउँ पग्लिने क्रम तीव्र बनेको छ । पानीका मुहान सुक्न थालेका छन् । वर्षा चक्रमा आएको फेरबदलले परम्परागत जीविकोपार्जन प्रभावित हुन थालेको छ ।

एकातिर यस क्षेत्रलाई विश्व पर्यटनको नक्सामा स्थापित गर्ने अवसर छ । अर्कोतिर जलवायु परिवर्तनले हिमाली पारिस्थितिक प्रणाली र स्थानीय जीवनमा जोखिम थपिरहेको छ । यही चुनौतीलाई ध्यानमा राख्दै गाउँपालिकाले पर्यटन प्रवद्र्धनसँगै वातावरण संरक्षणको अभियान अघि बढाएको छ ।

नेपाल हिमालय विश्वको तेस्रो ध्रुव (थर्ड पोल) का रूपमा चिनिन्छ । यहाँका हिमनदी, हिमताल, नदी, वन, घाँसेमैदान र सिमसारले दक्षिण एसियाका करोडौँ मानिसको जीवनलाई आधार दिएका छन् । तर, विश्वव्यापी तापक्रम वृद्धिले हिमनदी तीव्र गतिमा पग्लिरहेका छन् । हिमताल विस्फोटको जोखिम बढेको छ । पानीका मुहान सुक्ने, कृषि प्रणाली प्रभावित हुने र जैविक विविधता घट्ने समस्या देखिन थालेका छन् ।

त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक वातावरणविद् डा रमेशराज पन्तका अनुसार जलवायु परिवर्तनको प्रभाव अपी हिमालजस्ता उच्च हिमाली क्षेत्रमा देखिन थालेको छ । वर्षाको समय र स्वरूपमा परिवर्तन, अनियमित हिमपात तथा पानीका स्रोत सुक्ने समस्याले स्थानीय जीवनशैली प्रभावित भएको उहाँ बताउनुहुन्छ ।

यसको असर हिमालको हिउँमा मात्र सीमित छैन । स्थानीयको भान्सा, गोठ र खेतबारीसम्म पुगेको छ । भेडापालन, चौँरीपालन, कृषि र जडीबुटी सङ्कलनमा निर्भर परिवारका लागि बदलिँदो मौसम थप चुनौती बनेको उहाँले बताउनुभयो ।

डा पन्तका अनुसार जलवायु सङ्कटले सबैलाई समान असर गर्दैन । न्यून आर्थिक क्षमता भएका परिवार, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बढी जोखिममा छन् । जलवायु परिवर्तनमा न्यून योगदान गर्ने हिमाली समुदायले नै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो ।

चमेलिया जलाधारः संरक्षणको साझा जिम्मेवारी

करिब सात सयदेखि सात हजार मिटर (अपी हिमाल) उचाइसम्म फैलिएको चमेलिया जलाधार क्षेत्र भौगोलिक र पारिस्थितिक विविधताका दृष्टिले महत्वपूर्ण छ । वातावरणविद् डा पन्तका अनुसार उपलब्ध अध्ययनले यहाँको औसत तापक्रम सातदेखि १८ डिग्री सेल्सियस, वार्षिक वर्षा करिब एक हजार ७०० मिलिमिटर र औसत जलप्रवाह १७७ घनमिटर प्रतिसेकेन्ड देखाएको छ । जसले गर्दा माथिल्लो र तल्लो तटीय क्षेत्रमा कृषि प्रणालीसहित विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव परेको उहाँ बताउनुहुन्छ ।

चमेलियाका शाखा नदीमध्ये रिठेगाडलगायत क्षेत्रमा पानीको गुणस्तर घट्दै गएको पनि अनुसन्धानले देखाएको छ । सन् २०२५ को एक अध्ययनले महाकाली नदीको माथिल्लो र तल्लो तटीय क्षेत्र व्यवस्थापनका लागि चमेलिया जलाधारलाई उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिएको डा पन्तले बताउनुभयो ।

यी तथ्यले जलाधार संरक्षण कुनै एक पालिकाको मात्र जिम्मेवारी नभएको स्पष्ट पार्छ । यसमा अन्तरपालिका, प्रदेश र सङ्घीय सरकारको साझा भूमिका आवश्यक भएको उहाँले बताउनुभयो ।

नदी, शाखा नदी, पानीका मुहान, वनजङ्गल, चरन क्षेत्र र जैविक विविधताको एकीकृत व्यवस्थापन गर्नुपर्ने देखिन्छ । सुक्दै गएका स्रोत पुनर्जीवन, भूजल पुनर्भरण र वर्षाको पानी सङ्कलनसँगै समुदायमा आधारित पानी सुरक्षा कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको भूगर्भविद् कमल थापा बताउनुहुन्छ ।

अपी नाम्पा संरक्षण क्षेत्र दुर्लभ वन्यजन्तु र वनस्पतिको आश्रयस्थल हो । रेडपान्डा, हिउँ चितुवा, कस्तुरी र डाँफेजस्ता प्रजाति यहाँ पाइन्छन् । विभिन्न प्रकारकार बहुमूल्य जडीबुटी उपलब्ध छ । जलवायु परिवर्तन, प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग र मानवीय गतिविधिले यी सम्पदाको अस्तित्वमा चुनौती थपेका थापा बताउनुुहुन्छ ।

हिमालको भविष्य जोगाउने साझा सङ्कल्प

अपी हिमालमा पर्यटनको ठूलो सम्भावना छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, संस्कृति र हिमाली जीवनशैलीलाई व्यवस्थित रूपमा पर्यटनसँग जोड्न सके यो क्षेत्र नेपालको महत्वपूर्ण गन्तव्य बन्न सक्ने भूगर्भविद् थापा बताउनुहुन्छ ।

प्रकृति जोगिएन भने पर्यटनको भविष्य पनि सुरक्षित हुँदैन । त्यसैले विकासलाई सडक, होटल र पर्यटकको सङ्ख्यामा मात्र सीमित गर्न नहुने उहाँको धारणा छ । उहाँ भन्नुहुन्छ, “हिमाल, जलस्रोत, जैविक विविधता र स्थानीय समुदायको जीवनशैली संरक्षणलाई विकासको केन्द्रमा राख्नुपर्छ ।”

आधार शिविरबाट उठेको जलवायु संवादले हिमाली सङ्कट स्थानीय समुदायको मात्र समस्या नभएको सन्देश दिएको छ । हिमालमा परेको असर नदी हुँदै बस्ती, खेतबारी र मानव जीवनसम्म पुग्छ । त्यसैले यसको संरक्षणमा स्थानीयदेखि अन्तरराष्ट्रिय तहसम्म सहकार्य आवश्यक रहेको थापाले बताउनुभयो ।

हिमालबाट उठेको जलवायु न्यायको आवाज

आधार शिविर क्षेत्रमा अपी हिमाल गाउँपालिकाले आयोजना गरेको अपी हिमाल पर्यटन उत्सव तथा जलवायु संवादमा अपी हिमाल घोषणापत्र–२०८३ जारी गरिएको छ । चमेलिया नदी तटीय क्षेत्रका पालिकाबीच सहकार्य सुदृढ गर्दै हिमाली प्रकृति, जलवायु न्याय र दिगो विकासका लागि साझा प्रतिबद्धता जनाउनु यसको मुख्य उद्देश्य थियो ।

घोषणापत्रमा जैविक विविधता संरक्षण, पारिस्थितिकीय पुनस्र्थापना, प्राकृतिक स्रोतको दिगो उपयोग, स्थानीय ज्ञान र संस्कृतिको प्रवद्र्धन, जलवायु उत्थानशील जीविकोपार्जन, दिगो पर्यटन तथा अनुसन्धान र नवप्रवर्तनलगायत १७ विषय समेटिएका छन् ।

यसले हिमाली क्षेत्रका समस्या स्थानीय सीमाभित्र मात्र सीमित नरहेको सन्देश दिएको छ । घोषणापत्रले वन, भूमि, पानी, जडीबुटी र चरन क्षेत्रको वैज्ञानिक तथा न्यायोचित उपयोगमा जोड दिएको छ । परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

महिला, युवा, किसान र सीमान्तकृत समुदायलाई केन्द्रमा राखी हरित रोजगारी, जैविक खेती, जडीबुटी उद्यम तथा नवीकरणीय ऊर्जामा आधारित अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ ।
हिमाली पदमार्गलाई वातावरणमैत्री बनाउने, प्लास्टिक तथा ठोस फोहोर नियन्त्रण गर्ने, हिमनदी र ताल जोगाउने तथा पानीका मुहान पुनर्जीवन गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ ।

पर्यटन, खेलकुद र अन्तरराष्ट्रिय पहिचान

अपी हिमाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनाउने अर्को आधार उच्च हिमाली खेलकुद हो । गाउँपालिकाको आयोजनामा मैत्रीपूर्ण क्रिकेट र भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

उच्च उचाइमा खेलकुद आयोजना गर्न सके स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटनसँगै खेल पर्यटनको विकास र क्षेत्रीय पहिचान विस्तारमा सहयोग पुग्न सक्ने विश्वासले खेल आयोजना गरिएको अपी हिमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर विष्टले बताउनुभयो ।

प्राकृतिक सौन्दर्य र उच्च हिमाली वातावरणलाई पर्यटन तथा खेलकुदसँग जोड्न सके अपी हिमाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय आकर्षणको केन्द्र बन्न सक्ने उहाँको बुझाइ छ ।

प्रकृतिले दिएको अनुपम सम्पदा जोगाउँदै स्थानीय संस्कृति र जीविकोपार्जनलाई पर्यटनसँग जोड्ने अपी हिमालको सपना भएको उहाँले बताउनुभयो । हिमाललाई केवल पर्यटकीय आकर्षणका रूपमा मात्र होइन । जीवन, सभ्यता, जलस्रोत र जैविक विविधताको आधारका रूपमा बुझ्नुपर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्नेछ : प्रधानमन्त्री शाह

चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

सम्बन्धित समाचार

सहिद स्मारकमा पर्यटकको आकर्षण

सुनचाँदीको मूल्य बढ्यो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै

सुनचाँदीको मूल्यमा आजपनि गिरावट

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

चाररातेमा पर्यटकको घुइँचो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव