सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ७ मङ्सिरः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप र नवीन प्रविधिबीच उद्योगका रूपमा विकास भइरहेको अवस्थालाई सम्बोधन गर्नेगरी चलचित्र विधेयक ल्याइएको बताउनुभएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा उहाँले चलचित्र क्षेत्रका वर्तमान आवश्यकता, नयाँ प्रविधि र बदलिँदो अभ्यासअनुसार कानुनी व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै विद्यमान आवश्यकतालाई विधेयकले समेट्ने प्रयास गरेको बताउनुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्रलाई परम्परागत रूपमा मनोरञ्जनको साधनका रूपमा मात्र बुझ्ने गरिएको भए पनि पछिल्लो समय यो उद्योगका रूपमा विकास भइसकेको उल्लेख गर्नुभयो । चलचित्रको माध्यम, स्वरूप, प्रविधि र योगदानको दायरा विस्तार हुँदै गएको अवस्थामा पुरानो कानुनले अहिलेका आवश्यकता सम्बोधन गर्न नसक्ने उहाँको भनाइ छ ।

“चलचित्रमा नयाँ प्रविधि आएका छन् । चलचित्र के हो भन्ने सन्दर्भमा बुझाइ नै परिवर्तन भएको छ । चलचित्र मनोरञ्जनको साधन मात्र नभई उद्योगका रूपमा विकास हुन थालेको छ । यसले योगदान गर्ने क्षेत्रको दायरा पनि बढेको छ ।”, उहाँले भन्नुभयो ।

चलचित्र क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले यस क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा समेत पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले चलचित्र क्षेत्रले खोजेको ऐन कस्तो हो भन्ने विषयमा समिति तथा संसद्मा विस्तृत छलफल गरी प्राप्त हुने रचनात्मक सुझावलाई विधेयकमा यथासक्य समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, चलचित्र क्षेत्रका विद्यमान समस्या समाधान गर्ने र सरोकारवालाका माग सम्बोधन गर्ने गरी विधेयकलाई उत्कृष्ट बनाउन अधिकतम प्रयास गरिने उहाँले स्पष्ट गर्नुभयो ।

सञ्चार मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेलले संविधानको धारा ५१ मा व्यवस्था भएको सामाजिक तथा सांस्कृतिक रूपान्तरणसम्बन्धी नीति कार्यान्वयनका लागि नयाँ चलचित्र ऐन आवश्यक रहेको बताउनुभयो । चलचित्र क्षेत्रको विकास, प्रर्वद्धन तथा नियमनलाई समयानुकूल बनाउन र अन्तरराष्ट्रियस्तरमा स्थापित सम्बन्धलाई कानुनी आधार प्रदान गर्न विधेयक आवश्यक रहेको उहाँको भनाइ थियो । चलचित्र विकास बोर्ड एसियन फिल्म कमिसन नेटवर्कको सदस्य रहेको तथा विश्वका विभिन्न चलचित्रसम्बन्धी संस्थासँग सम्बन्ध विस्तार हुँदै गएको प्रसङ्ग उल्लेख गर्नुहुँदै सचिव पौडेलले त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो ।

सरकारले २०२६ सालदेखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गर्दै सङ्घीय संरचना, समावेशिता र नयाँ प्रविधिअनुकूल कानुनी व्यवस्था गर्न चलचित्र विधेयक अघि बढाएको हो । चलचित्रलाई मनोरञ्जनको माध्यममा सीमित नराखी सामाजिक, सांस्कृतिक तथा सिर्जनशील उद्योगका रूपमा विकास गर्ने उद्देश्यले विधेयक ल्याइएको हो ।

प्रस्तावित विधेयकमा चलचित्रमार्फत नेपाललाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रर्वद्धन गर्ने, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनअघि अनिवार्य जाँचको व्यवस्था गर्ने तथा नेपाली चलचित्रको विकास, विस्तार, प्रर्वद्धन र नियमनलाई प्रभावकारी बनाउने प्रावधान समेटिएको छ ।

विधेयक तयार गर्दा नेपालको संविधान, राष्ट्रिय आमसञ्चार नीति, २०७३ र राष्ट्रिय चलचित्र नीति, २०७१ लाई आधार बनाइएको छ । संविधानले भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण तथा विकासलाई सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीतिमा समेटेकाले त्यसअनुरूप नयाँ कानुनी व्यवस्था आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, विधेयकमा चलचित्र विकास बोर्डलाई थप अधिकार सम्पन्न, सक्षम र स्वायत्त निकायका रूपमा विकास गर्ने प्रस्ताव गरिएको छ । चलचित्र निर्माण, वितरण र प्रदर्शनलाई व्यवस्थित बनाउनुका साथै बोर्डको नियमनकारी भूमिका प्रभावकारी बनाउन कानुनी अधिकार विस्तार गर्न खोजिएको हो । चलचित्र क्षेत्रको प्रर्वद्धन, विकास र व्यवस्थापनका लागि बोर्डको कार्यक्षेत्र तथा आयस्रोत विस्तार गर्ने विषयसमेत विधेयकमा समेटिएको छ ।

त्यसैगरी, चलचित्र क्षेत्रको आर्थिक कारोबार पारदर्शी बनाउन ‘बक्स अफिस’ प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ । टिकट बिक्री, आम्दानी, कर, प्रदर्शन अवधि तथा चलचित्रको लोकप्रियतासम्बन्धी विवरण पारदर्शी बनाउन ‘बक्स अफिस’ प्रणालीलाई अनिवार्य र व्यवस्थित गरिने व्यवस्था विधेयकमा गरिएको छ ।

नेपाली चलचित्र उद्योगलाई औपचारिक र व्यावसायिक उद्योगका रूपमा विकास गर्ने लक्ष्यसहित चलचित्रकर्मीको श्रम अधिकार संरक्षण, मातृभाषाका चलचित्रको प्रर्वद्धन तथा आदिवासी जनजाति समुदायका कलात्मक र बौद्धिक चलचित्रको संरक्षणमा समेत विधेयकमा जोड दिइएको छ । स्वदेशी चलचित्रको बजार विस्तार, विदेशी लगानी आकर्षण र नयाँ प्रविधिको प्रयोगलाई कानुनी रूपमा व्यवस्थित गर्ने प्रावधान पनि प्रस्ताव गरिएको छ ।

नयाँ ऐन कार्यान्वयनमा आएपछि चलचित्र निर्माण, वितरण र प्रदर्शन थप व्यवस्थित हुने, जवाफदेहिता बढ्ने तथा चलचित्र विकास बोर्डको कार्यक्षेत्र र क्षमता विस्तार हुने अपेक्षा गरिएको छ । यसबाट नेपाली चलचित्रलाई सिर्जनशील, सांस्कृतिक तथा मनोरञ्जन उद्योगका रूपमा राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्नेछ : प्रधानमन्त्री शाह

चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

अर्थसँग सम्बन्धित असान्दर्भिक ऐन खारेज गर्न लागेका छौँः कानुनमन्त्री गौतम

सम्बन्धित समाचार

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी