सदाबहार खबरको रफ्तार ....
मंग्सिर ८, २०८३ मंगलबार
November 24, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पर्यटकलाई घोडा चढाएर आम्दानी गर्दै कन्यामका किसान

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इलाम, ७ मङ्सिरः इलामको सूर्योदय नगरपालिका–७ कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी बिहान घोडा स्याहारसुसारबाट सुरु हुन्छ ।

बिहान उठ्ने बित्तिक्कै घोडालाई दानापानी खुवाउने, सरसफाइ गर्ने र पर्यटक सेवाका लागि तयार पार्नुहुन्छ । त्यसपछि उहाँ घोडा लिएर पर्यटकीय क्षेत्र कन्याम बजार निस्कनुहुन्छ । दिनभर पर्यटकलाई घोडा चढाएर कन्याम र आसपासका क्षेत्र घुमाउनुहुन्छ । दिनभरि कमाएको पैसा लिएर उहाँ साँझ घर फर्कनुहुन्छ । यसरी नै बित्ने गरेको छ उहाँको दैनिकी ।

परम्परागत कृषि गर्दै आउनुभएका तामाङका लागि घोडचढी व्यवासाय पछिल्ला दिनमा आम्दानीको मुख्य स्रोत बनेको छ । उहाँले सरदरमा दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । “बिहानदेखि साँझसम्म घोडालाई स्याहारसुसारदेखि पर्यटकलाई घोडामा चढाएर घुमाउनु आजकलको दैनिकी बनेको छ,” उहाँले भन्नुभयो, “दिनभर पर्यटकलाई घोडा चढाएर सरदर दैनिक रु तीन हजारसम्म कमाइ हुन्छ । दैनिक घोडालाई दानापानी खुवाउन रु एक हजार खर्च हुन्छ । बाँकी बचत हुन्छ ।”

प्याकेजमा पर्यटक घुमाउने मौका पाएको बेला भने रु पाँच हजारमसम्म कमाइ हुने उहाँको भनाइ छ । परम्परागत खेतीपातीसँगै पर्यटन व्यवसायमा जोडिन पाउँदा आफूलाई थप सन्तुष्टि र आनन्द मिलेको उहाँ बताउनुहुन्छ । सोमबहादुरको मात्र होइन, यतिबेला कन्यामका ३९ किसानको दिनचर्या यस्तै रहेको छ । घोडापालन गर्दै आएका किसानको दैनिकी अहिले पर्यटकलाई घोडामा घुमाउन ठिक्क छ । बिहानदेखि बेलुकासम्म उनीहरु पर्यटकलाई घोडचढी सेवा दिन व्यस्त हुन्छन् ।

पछिल्लो समय कन्याममा घोडचढी व्यवसाय फस्टाउँदो छ । यहाँ घुम्न आउने पर्यटक घोडचढी नगरी फर्कंदैनन् । पर्यटकको चाप बढेपछि घोडा व्यवसाही झनै दङ्ग छन् । यहाँ चियाबारी ट्रेलमा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने र टिकटक बनाउने पर्यटकहरुको सङ्ख्या बढेपछि घोडा व्यवसायीको आम्दानी बढेको छ । घोडचढी व्यवसायलाई व्यवस्थित बनाउनका लागि मूल्य निर्धारण गर्न र व्यवसायीलाई सङ्गठित गर्न घोडचढी व्यवसायी सङ्घ गठन गरिएको छ ।

सङ्घले दूरीअनुसार विभिन्न प्याकेजमा विभिन्न शुल्क निर्धारण गरिएको घोडचढी व्यवसायी सङ्घका कोषाध्यक्ष डिकबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार घोडा चढेर फोटो खिचेको मात्र रु ५० र १० मिनेट घुमेको रु १००, स्पोर्ट राउन्ड घुमेको रु ३००, हरियाली चिया बगान घुमेको ६०० र कन्यामका सबै क्षेत्र घुमेको (प्याकेजअनुसार) रु दुई ५०० देखि रु पाँच हजारसम्म लिने गरिएको छ ।

“सङ्घको निर्णयानुसार हामीले विभिन्न प्याकेजमा विभिन्न शुल्क निर्धारण गरेका छौँ । रु ५० देखि रु पाँच हजारसम्मको प्याकेज छ,” उहाँले भन्नुभयो, “हामीले आम्दानी गरेबापत नगरपालिकामा वार्षिक रु एक हजार ४७० र सरसफाइ शुल्कबापत मासिक रु ८० तिर्दै आएका छौँ ।”

घोडचढी व्यवसायी सङ्घका अध्यक्ष पनि रहनुभएका सूर्योदय नगरपालिका–७ का व्यवसायी प्रेमलाल ग्याबाले घोडचढी व्यवसाय आम्दानीको मुख्य स्रोत बनेको बताउनुभयो । कन्याम आउने पर्यटकलाई घोडामा सवार गराएर जीविकोपार्जन गर्न सहज भएको उहाँको भनाइ छ । “पर्यटकलाई घोडा चढाएर चाहेको स्थानमा घुमाउने गर्छौं । यो काम अन्य खेतीपातीको तुलनामा धेरै सहज छ,” उहाँले भन्नुभयो, “घोडचढी व्यवसायबाट आम्दानी मात्र हुँदैन, नयाँ नयाँ पर्यटकलाई घुमाउन र उनीहरुसँग भेटघाट गर्न पाउँदा मन आनन्दित हुन्छ ।” कन्याममा बालबालिका र युवादेखि वृद्धवृद्धाले घोडामा सवार गर्ने गरेका छन् ।

सूर्योदय नगरपालिका–७ मा अवस्थित कन्याम कोसी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र हो । यतिबेला कन्याम घुम्न आउने मुख्य ‘सिजन’ सुरु भएको छ । सामान्यतया असोजदेखि जेठसम्म कन्याममा पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय पर्यटन व्यवसायी टिका ओडारीले बताउनुभयो ।
चारैतिर हरियाली चियाबारीको बुट्यानले सजिएको कन्याममा वनभोज, फोटो, भिडियो खिच्नाका साथ साथै घोडचढीका लागि दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा

अझै सञ्चालनमा आएन निगाले सिमेन्ट

बारीमै फूलको बजार पाएपछि किसान उत्साहित

धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै

हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु

अयोध्याबाट करिब एक हजार यात्रु बोकेर जनकपुर आइपुग्यो रेल

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

ताप्लेजुङमा भूकम्प

आजको मौसमः देशैभरी पारिलो घाम लाग्ने

नारायणघाट–बुटवल सडकखण्डमा दुबो रोपिँदै

बाँदरको उप्रदोः हरियो मस्याङ काट्न बाध्य छन् किसान

उपत्यकामा ५६६ सवारीचालक कारबाहीमा