काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार राति स्वदेश फर्किएको छ।
प्रतियोगितामा नेपालले तीन खेल खेलेको थियो। जसमा दुई खेलमा पराजित हुँदा एक खेलमा जित हात पार्यो। नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’सँग पराजित भएको थियो भने युएईलाई पराजित गरेको थियो।
नेपालले युएईविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाले पनि भारत ‘ए’ र पाकिस्तान ‘ए’विरुद्धको खेलमा अपेक्षित नतिजा निकाल्न सकेन। प्रतियोगिताले नेपाली खेलाडीलाई बलिया टोलीविरुद्ध प्रतिस्पर्धा गर्ने अवसरसमेत दिएको छ।
कतारको प्रतियोगिता सकेर स्वदेश फर्किएको नेपाली टोली अब आईसीसी एकदिवसीय विश्वकप क्वालिफायर प्लेअफको तयारीमा केन्द्रित हुनेछ। उक्त प्रतियोगिता आगामी मंसिर १८ देखि पुस ६ गतेसम्म नेपालमै आयोजना हुँदैछ।
घरेलु मैदानमा हुने विश्वकप क्वालिफायर प्लेअफ नेपालका लागि महत्वपूर्ण प्रतियोगिता भएकाले टोलीले अब त्यसको तयारीलाई प्राथमिकता दिनेछ। प्रतियोगिताका लागि खेलाडीको तयारी, रणनीति तथा टोलीको संयोजनमा समेत ध्यान दिइनेछ।
एसिया कप राइजिङ स्टार्समा प्राप्त अनुभवलाई घरेलु मैदानमा हुने क्वालिफायर प्लेअफमा उपयोग गर्दै राम्रो प्रदर्शन गर्ने लक्ष्य नेपाली टोलीको हुनेछ।
