सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०८३ बिहिबार
November 26, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्याराग्लाइडिङमा रमाउँदै पर्यटक

२०८३ मंग्सिर १०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गण्डकी, १० मङ्सिर ः हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र हरिया डाँडापाखा नियाल्दै पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न यतिबेला पर्यटक लालयित छन् । नेपाल हवाई खेलकुद संस्थाका अनुसार अहिले दैनिक दुई सयबढी स्वदेशी तथा विदेशी पर्यटकले प्याराग्लाइडिङ उडानको साहसिक अनुभव लिइरहेका छन् । दसैँ–तिहारको बिदाका बेला यो सङ्ख्या दैनिक चार सयसम्म पुगेको थियो ।

प्याराग्लाइडिङ गर्नेमा विदेशी झण्डै ६० प्रतिशत र स्वदेशी ४० प्रतिशत रहेका संस्थाका अध्यक्ष माधव तिवारीले बताउनुभयो । “वर्षा भइरहेको र मौसम बिग्रेको दिनबाहेक वर्षमा करिब तीन सय दिन पोखरामा प्याराग्लाइडिङ उडान हुने गर्छ”, उहाँले भन्नुभयो, “प्याराग्लाइडिङ उडानमा पछिल्लो समय नेपालीहरुको पनि आकर्षण बढ्दो छ ।” साहसिक पर्यटनसँग जोडिएको प्याराग्लाइडिङ पोखराको चिनारीका रुपमा स्थापित भएको अध्यक्ष तिवारीले बताउनुभयो । पोखरा घुम्न आएका पर्यटकमध्ये झण्डै २० प्रतिशतले प्याराग्लाडिङ गर्ने गरेको उहाँको भनाइ छ ।

नेपाल हवाई खेलकुद संस्थामा आबद्ध ५४ कम्पनीले पोखरामा प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्दै आएका छन् । ती कम्पनीमा दुईसय ३० जना तालिमप्राप्त पाइलट कार्यरत छन् । पाइलटदेखि प्याराग्लाइडिङमा उडान गर्ने यात्रुसम्मको बीमा गर्ने गरिएको अध्यक्ष तिवारीले बताउनुभयो । प्याराग्लाइडिङ दुर्घटना हुन नदिन सुरक्षाका सबै उपायहरु अबलम्बन गर्ने गरिएको उहाँको भनाइ छ । प्याराग्लाइडिङ व्यवसायको अनुगमन, सञ्चालन अनुमति पत्रको नवीकरणलगायतका काम पनि नेपाल हवाई खेलकुद संस्थामार्फत हुने गरेको उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिका–१८ सराङकोट र तोरीपानीबाट प्याराग्लाइडिङ उडान गरी फेवाताल किनारको खपौदीमा अवतरण हुने गरेको छ । समुद्री सतहदेखि १६ सय ५० मिटरको उचाइबाट उडान हुने गरेको फिस्टेल नेपाल प्याराग्लाइडिङ कम्पनीका प्रशिक्षक एवं पाइलट एलिस थापाले बताउनुभयो । सुरक्षाका सबै मापदण्ड पालना गरेर मात्र पाइलटले प्याराग्लाइडिङ उडान गर्ने गरेको उहाँको भनाइ छ ।

उहाँले साहसिक पर्यटन गतिविधि रुचाउने विदेशी पर्यटकका लागि आकर्षित गर्न पोखरामा प्याराग्लाइडिङ उडानका लागि उडान क्षेत्र विस्तार गर्नुपर्ने बताउनुभयो । “एयर स्पेस कम हुँदा सोलो उडानका लागि आउने विदेशी पर्यटकलाई सोचेजति पोखरामा ल्याउन सकिएको छैन”, प्रशिक्षक थापाले भन्नुभयो, “नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ उडानका लागि एयर स्पेस बढाउने हो भने धेरै विदेशी पर्यटक भित्राउन सकिन्छ ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई उडानको सुरक्षालाई दृष्टिगत गरी प्याराग्लाइडिङ केही समय बन्दसमेत गरिएको थियो । पछि निश्चित स्थान तोकेर प्राधिकरणले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिएको थियो । प्रशिक्षक थापाले पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता पनि विगतकोभन्दा कम हुँदा विभिन्न देशबाट उक्त प्रतियोगिताकै लागि आउने पर्यटक पनि घटेको बताउनुभयो । प्याराग्लाइडिङका लागि पोखरा उपयुक्त र आकर्षक गन्तव्य भएकाले राज्यले व्यवसायीहरुलाई प्रोत्साहित गर्ने गरी योजना ल्याउनुपर्ने उहाँको भनाइ छ ।

पोखरामा अहिले रु. आठ हजार पाँच सय तिरेर प्याराग्लाइडिङ गर्न पाइने व्यवस्था छ । उक्त दरमा केही घटबढ पनि हुनसक्ने व्यवसायी बताउँछन् । प्याराग्लाइडिङ गर्ने पर्यटकले १५ देखि ३० मिनेट आकाशमा उड्न पाउँछन् । पोखरामा तीन दशकअघिदेखि प्याराग्लाइडिङ गर्न सुरु गरिएको थियो ।

प्याराग्लाइडिङका लागि पाइलट तयार गर्न तालिमसमेत यहीँ सञ्चालन गर्ने गरिएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–५ रिभानमा केही दिनअघि प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । स्वेदशमै दक्ष पाइलट उत्पादन गर्ने उद्देश्यले एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुछ«े गाउँपालिकासँगको सहकार्यमा उक्त प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको हो ।

पोखरामा प्याराग्लाइडिङसँगै बञ्जी, स्काइडाइभिङ, अल्ट्रालाइट, हट एयर बेलुन जस्ता साहसिक पर्यटन गतिविधि सञ्चालन हुँदै आएका छन् । रोमाञ्चक र साहसिक अनुभवका लागि देशविदेशका पर्यटक ती गतिविधिमा आकर्षिक हुने गरेका छन् । ‘प्रकृति, संस्कृित र साहस’मा आधारित पोखराको पर्यटनमा साहसिक खेल गतिविधिको महत्वपूर्ण स्थान रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताउनुभयो । साहसिक पर्यटन गतिविधिमा धेरैभन्दा धेरै विदेशी पर्यटकलाई आकर्षित गर्न सकिएमा पोखराको पर्यटन क्षेत्रले ठूलो लाभ लिनसक्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लमजुङका ग्रामीण क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

तनहुँ जलविद्युत् आयोजनाः प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

सुनचाँदीको मूल्य निरन्तर घट्दो, तोलाको कति पुग्यो ?

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर