सदाबहार खबरको रफ्तार ....
मंग्सिर ११, २०८३ शुक्रबार
November 27, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

हेंवाखोलामा डाइभर्सन नबन्दा साना सवारीसाधन ठप्प, स्थानीयलाई दोब्बर दूरीको सास्ती

२०८३ मंग्सिर ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पाँचथर । हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास नै हुनसकेको छैन । डाइभर्सन नहुँदा दुई र तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधन यस खण्डमा सञ्चालनमा आउन सकेका छैनन् ।

खोलामा पानीको बहाव घटेसँगै तमोर करिडोर सडकको फिदिम–मुलघाट खण्ड नियमित सञ्चालनमा आइसकेको छ । तर फिदिम–काबेली खण्डमा भने डाइभर्सन नहुँदा ठूला सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । हिउँद लागे पनि फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमास्थित हेंवाखोलामा पानीको बहाव मनग्य हुने हुँदा दुई र तीनपाङ्ग्रे सवारी र साना चारपाङ्ग्रे सवारीसाधन पार गर्न सक्ने अवस्था नरहेको हिलिहाङ–७ माझीटारका बासिन्दा रामकुमार माझीले बताउनुभयो । उहाँका अनुसार तमोर करिडोरको यस खण्डको निर्माण गरिरहेको एपेक्स निर्माण कम्पनीले तिहारपछि विगतमा डाइभर्सन रहेको स्थानबाट ठूला सवारीसाधन पार गर्न सक्ने संरचना बनाएको छ ।

साना सवारी पार हुन नसक्दा तमोर करिडोर सडकले समेट्ने पाँचथरको हिलिहाङ गाउँपालिकाका बासिन्दा अत्यधिक प्रभावित भएका छन् । “डाइभर्सन नहुँदा सदरमुकाम आवतजावत गर्न दोब्बर बढी दूरी यात्रा गर्नुपर्ने बाध्यता छ । तमोर करिडोर सडक आयोजना र निर्माण कम्पनीले हेलचेक्र्याइँ गर्दा हामीले दुःख पाइरहेका छौँ”, हिलिहाङ गाउँपालिका–५ का वीरेन्द्र मङ्ग्रातीले भन्नुभयो, “यस विषयलाई सम्बन्धित निकायले गम्भीरताका साथ लिनुपर्छ ।”

फिदिम–४ माझीटारका व्यवसायी रमेश तामाङ निर्माण कम्पनी र सरकारी निकायले साह्रै सामान्य काम पनि नगरिदिँदा यात्रुले लामो र घुमाउरो बाटो हिँड्नुपरेको तथा माझीटार क्षेत्रको व्यापार व्यवसाय सञ्चालनमा आउन नसकेको बताउनुभयो । यस वर्ष गत चैतदेखि निरन्तर वर्षा भएकाले डाइभर्सन टिक्न सकेको छैन । जसकारण तमोर करिडोरको यस खण्डमा सवारीसाधन नियमित हुनसकेका छैनन् । “एकातिर घुमाउरो बाटो हिँड्नुपरेको छ, अर्कातिर माझीटार क्षेत्रको व्यापार व्यवसाय चौपट भएको छ”, तामाङले भन्नुभयो ।

विगतमा पनि यहाँ डाइभर्सन मर्मत र पुनर्निर्माणमार्फत नै यातायात सञ्चालन गर्ने गरिएको थियो । तर यस वर्ष यातायात अवरोध भएको आठ महिना बितिसकेको छ । डाइभर्सन निर्माणमा फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले समन्वय गरेर तत्कालै काम अगाडि बढाउनुपर्ने स्थानीयवासीको माग छ ।

निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पर्ने हेंवाखोलामा पुल निर्माण हुन बाँकी छ । यहाँ रहेको बेलिब्रिज तथा खोला किनाराको सडक २०८० साल असारमा आएको बाढीले बगाएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिएको थियो । विगतमा नियमित रूपमा डाइभर्सन मर्मत तथा पुनर्निर्माण हुँदै आएकामा यस वर्ष निर्माण कम्पनीले चासो नदिएको र पुल निर्माणकार्यमा समेत प्रगति नभएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

काठमाडौँ उपत्यकामा २४ घण्टामा ८८४ सवारी चालक कारबाहीमा

आज देशभरको मौसम मुख्यतया सफा रहने

‘लैङ्गिक हिंसा अन्त्य गर्ने अभियान घरबाटै सुरु गर्नुपर्छ’

सवारी दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते

बाह्र हजार क्विन्टल धान खरिद गरिँदै

हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन

चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

प्रहरी चौकी भवन हस्तान्तरण

आज मौसम मुख्यतया सफा रहने

रिडी क्षेत्रमा अघि सारिएको ‘रुरु महास्नान’ को अवधारणा