सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाली भूमी गुँजी, कालापानी र नाभिढाङ अतिक्रमण गरेर भारतीय फौजका ८ वटा क्याम्प तैनाथ

२०७६ कार्तिक २५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  नेपाली भूमि कालापानी मात्र होइन, गुन्जी र नावीढाङमा पनि भारतीय फौजका आठ क्याम्प छन् । तर, कालापानीभन्दा तल टिंकरको छ्यालेकमा नेपाल प्रहरीको सानो चौकी मात्र छ । जाडो थाम्न नसकेर त्यहाँका प्रहरी छाङरु झरिसकेका छन् । अझ जाडो बढेपछि उनीहरू ५१ किमि तल दुम्लिङ झर्नेछन् । यसरी सबैभन्दा बढी अतिक्रमण भएको ठाउँमा सरकारको उपस्थिति नै शून्य छ ।

नेपाली भूभाग कालापानीमा ५७ वर्षदेखि भारतीय सुरक्षा फौजको परेड चलिरहेको छ  । सन् १९६२ मा अर्धसैनिक बलको ब्यारेक स्थापना गरेको भारतले आफ्नो फौज विस्तार गर्दै अहिले तीन स्थानमा आठ क्याम्प खडा गरेको छ ।तर, कालापानी, लिपुलेकलगायतका संवेदनशील सीमा क्षेत्र हेर्ने नेपाल प्रहरीका चौकीहरू भने ६ महिनामा विस्थापित हुन्छन् । कालापानीबाट १८ किलोमिटर दक्षिणमा रहेको व्यास गाउँपालिका–१ छाङरुस्थित सीतापुल प्रहरी चौकी केही हप्तामै विस्थापनको तयारीमा छ ।

छाङरुबाट १२ किलोमिटर पूर्व (चीन) तर्फ रहेको व्यास–१ कै टिंकर स्थित छियालेक चौकीका प्रहरी ५ कात्तिकमै सीतापुल झरिसकेका छन् । अब दुवै चौकीका प्रहरी व्यास गाउँपालिका–२ राप्लास्थित दुम्लिङ चौकी झर्दै छन्, जुन कालापानीबाट ६३ किलोमिटर दक्षिणमा छ । यो छियालेक र सीतापुलका प्रहरीलाई हिउँदका ६ महिना राख्न स्थापना गरिएको अस्थायी चौकी हो ।  दुम्लिङमा प्रहरी नायब निरीक्षक (सइ)को कमान्डमा १३ प्रहरी कार्यरत छन् ।

यो वर्ष हिउँ पर्न थालेपछि टिंकरमा कार्यरत प्रहरी सीतापुल झरेको बझाङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए । थप जाडो हुँदै गएपछि त्यहाँबाट पनि तल दुम्लिङमा झर्ने उनले बताए । यद्यपि, सीमाविवाद आएपछि सो क्षेत्रमा मनिटरिङ निर्देशन दिइएको उनको भनाइ छ । यीबाहेक कालापानीबाट निकै टाढा दक्षिणतर्फ हिकिला, धौलाकोट, सुन्सेला, हुती र ब्रह्मदेव चौकी छन् ।

खलंगामा नेपाली सेना र सशस्त्र प्रहरीको एक–एक गुल्म छन् । तर, सदरमुकामबाट टिंकरसम्म सडक अवरुद्ध हुँदा यो वर्ष गस्ती नै निस्किएको छैन । भारतले महाकाली नदीकिनारमा सडक बनाउँदा नेपालतिर दुम्लिङदेखि छाङ्ग्रुसम्मको करिब ६० किलोमिटर बाटो पूर्ण रूपमा अवरुद्ध छ । यहाँका नागरिक भारतीय बाटोबाट आवतजावत गर्न बाध्य छन् ।

भारतीय सुरक्षा फौज भने कालापानीबाट पनि अघि बढेर टाटा क्षेत्रसम्म गस्तीमा आइरहन्छन् । सीमा क्षेत्रको भारतीय बजार धार्चुलाबाट नेपालको कालापानी क्षेत्रसम्म भारतले भने १५ स्थानमा २८ क्याम्प बनाएर सुरक्षा फौज तैनाथ गरेको छ । २० क्याम्प भारततर्फ छन् भने आठ क्याम्प नेपाली भूमी गुँजी, कालापानी र नाभिढाङ अतिक्रमण गरेर राखेको छ ।

भारतको व्यापार प्रतिनिधिसमेत बस्ने गुँजी क्षेत्रमा एसएसबी, कुमाउँ स्काउटको भारतीय सेना र सिख बटालियन तैनाथ छन् । कालापानीमा आइटिबिपी (इन्डियन तिबेतियन बोर्डर पुलिस), एसएसबी र भारतीय सेनाका दुई गुल्म छन् । कालापानीबाट लिम्पियाधुरातर्फ नाबिढाङमा आइटिबिपी र भारतीय सेनाको एक गुल्म तैनाथ छन् ।

गुँजी, कुटी र नाबी गाउँ ०१८ सम्म नेपालले जनगणना गरेको क्षेत्र हो । ती नेपाली नागरिकका बस्ती थिए । बस्ती त अहिले पनि छन्, तर नागरिक सबै भारतीय बनाइएका छन् । नेपालमा मालपोत तिरेका ती गाउँ अहिले भारतीय कब्जामा छन् । विभिन्न सुविधाको ललिपप चखाउँदै नेपालीलाई भारतीय नागरिकता दिलाइएको छ । अहिले पनि उनीहरूलाई रासनदेखि ग्यास, यातायातलगायतमा सुलभ सुविधा छ । धार्चुलासम्म आउजाउ गर्न हेलिकोप्टरको सुविधा दिएको छ ।

धार्चुलातर्फबाट कालापानी क्षेत्रको प्रवेशद्वार छियालेक (भारततर्फ) मा हेलिप्याडसहितको कुमाउ स्काउटको भारतीय सैनिकको गुल्म र एसएसबीको क्याम्प छ । छियालेकबाट तीन किलोमिटर उत्तरतिर पर्ने गब्र्याङमा आइटिबिपी र एसएसबीको क्याम्प छ । छियालेकबाट उत्तरतिर कालापानीसम्म भारतीय सैनिकले नियमित गस्ती गर्छन् । पछिल्लोपटक ५ कात्तिकमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आइएस घुमानले यो क्षेत्र भ्रमण गरेका थिए । नेपालतिरबाट पाकिस्तानी आतंककारीहरूको घुसपैठ हुन सक्ने भन्दै एक महिनादेखि सीमाक्षेत्रमा क्षेत्रमा भारतीय सैनिकहरूको संख्या बढाइएको छ । भारतीय सैनिक क्याम्पमा सामान बोक्ने भरियाहरू छियालेकमा सैनिक संख्या थपिएको बताउँछन् ।

धार्चुलादेखि कालापानीसम्म भारतले सुरक्षा उपस्थिति झन् शक्तिशाली बनाउँदै लगेको छ । धार्चुलामा प्यारा बटालियनसहित कुमाउ स्काउटको भारतीय सेना, गोर्खा रेजिमेन्टका साथै एसएसबीको टुकडी छ । धार्चुलामै बख्तरबन्द गाडीको ग्यारेजदेखि मर्मतसम्भार केन्द्रसमेत छ ।

धार्चुलाबाट एक किलोमिटर दक्षिणतिर एमआई १७ हेलिकोप्टर उत्रिन सक्ने हवाईमैदान छ । सो क्षेत्रमा दैनिक हवाईसैनिक गस्ती गरिरहन्छ । त्यस्तै, धार्चुलाबाट उत्तरतिर दोबाट, एलागाड, तावाघाट र पाङ्ला गरी चार स्थानमा एसएसबीका क्याम्प छन् । पाङ्लाभन्दा उत्तरतिर घट्टेबगरमा एसएसबी, आइटिबिपी र कुमाउ स्काउटको क्याम्प छ । गर्बाधार र मालपा क्षेत्रमा एसएसबीको क्याम्प राखेको छ । मालपाको उत्तरतिर लामरीमा एसएसबी, आइटिबिपी र कुमाउ स्काउट तैनाथ छन् भने बुदीमा एसएसबी क्याम्प छ । धार्चुलामा थप हतियारसमेत भण्डार गरेको छ ।

भारतले धार्चुलादेखि चीनको सीमा लिपुपाससम्म ९४ किलोमिटर सडक निर्माण गरिरहेको छ । यसमध्ये २७ किलोमिटर नेपाली भूभागमा पर्छ । गुँजी–कालापानी आठ किलोमिटर, कालापानी–नाबिढाङ १० किलोमिटर र नाबिढाङ–लिपुपास ९ किलोमिटर पर्छ ।

सीमा सुरक्षा पोस्ट अलपत्र

गृहमन्त्री रामबहादुर थापाले नेपाल–भारत–चीन त्रिदेशीय सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउने बताउँदै आएका छन् । दार्चुलास्थित सीमाक्षेत्रमा सीमा सुरक्षा पोस्ट (बिओपी) राख्ने प्रक्रिया सुरु भएको ६ महिना बितिसक्यो । तर, अहिलेसम्म स्थापना हुन सकेको छैन । २० वैशाख ०७६ मा वातावरणीय प्रभाव अध्ययनको रिपोर्टसहित प्रतिवेदन दिने भन्दै वन तथा वातावरण मन्त्रालयले चिठी लेखेको भए पनि गृह मन्त्रालयले कुनै प्रतिक्रिया नदिएको मन्त्रालयका सूचना अधिकारी हरिप्रसाद पाण्डेले बताए । यो खबर नयाँपत्रिकामा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अझै रोकिएन सुन तस्करी, उच्च निगरानीमा उत्तरी नाका

साउदी अरबमा नेपालीलाई धमाधम एक्जिट भिसा

कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा

वास्तविक समयमा बिजुली बेच्न अनुमति

कोठा खोजिदिने ‘एजेन्ट’ को मनपरी शुल्क !

राहत शिक्षकलाई स्थायी प्रक्रियामा लैजान सरकार सहमत

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

स्नातकतर्फ सिट निर्धारण, कुन कलेजलाई कति ?

५१ देशका आरोहीले लिए अनुमति

दुध किसानको छ अर्ब भुक्तानी दिन बाँकी

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

प्रम कार्यालयमा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता लेखिएका बोर्ड नै गायब