
काठमाण्डौ: बढ्दो पर्यटकको चापलाई मध्यनजर गर्दै गोरखा संग्रहालय तीन महिनाका लागि साताभरी नै खुल्ने भएको छ ।
यस अघि मंगलबार र सार्वजनिक बिदाको दिन संग्रहालय बन्द हुँदै आएको थियो ।
बढ्दो पर्यटकको चापलाई मध्यनजर गर्दै मंसिरदेखि माघसम्म हरेक दिन संग्रहालय खोल्ने निर्णय गरिएको कार्यालयकी सूचना अधिकारी सुनिता भडेलले बताएकी छिन् ।
शनिबार पर्यटकको चाप हुने भएकाले पुरातत्व बिभाग अन्तर्गतका संग्रहालयहरु मंगलबार बन्द गर्ने प्रावधान रहेको र हरेक दिन संग्रहालय खुल्दा पर्यटकको संख्या बढ्ने र राजश्वमा बृद्धि हुने उनको भनाइ छ ।
कात्तिक महिनामा मात्रै १६ हजार ४० जनाले संग्रहालय अवलोकन गरेका छन् ।
यसैगरी असोजमा ४ हजार ६५२ जनाले संग्रहालयको अवलोकन गरेका थिए ।
शैक्षिक भ्रमणको सिजन भएकाले सबैभन्दा बढी बिद्यार्थी नै अाउने गर्दछ्न ।
गोरखा दरबारमा नेपाल एकीकरणको उद्गम थलो भएकाले इतिहास बुझ्न पर्यटकहरु आउने गरेका छ्न् ।
संग्रहालय अवलोकन गर्न बिद्यार्थीलाई १०, नेपाली पर्यटकलाइ २५, सार्क राष्ट्रका नागरिकलाई ५० र बिदेशी पर्यटकलाई १०० रुपैया प्रवेश शुल्क रहेको कार्यालयले जनाएको छ ।