काठमाण्डौः धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा काँग्रेसले अग्रता लिइरहेको छ ।
पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार तिलक राईको २४ हजार ६ सय ५१ मत आएको छ भने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रकाश राईले २३ हजार ४ मत पाएका छन् ।
पछिल्लो परिणाम अनुसार धरानमा नेकपाले मतान्तर घटाउँदै गएको छ । प्रतिपक्ष काँग्रेस सत्तारूढ नेकपाभन्दा १६४७ मतले अगाडि रहेको छ ।
धरान उपमहानगरपालिकाको १ र २ नम्बर वडामा मात्र मत गणना गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । यी दुबै वडामा नेपाली कांग्रेस बलियो रहेको छ ।
त्यसैगरी नेकपा बलियो भनिएको ३ नम्बर वडामा पनि नेपाली काँग्रेसका राईले नेकपाका प्रकाश राईलाई पछाडि पारेका छन् । धरानमा जम्मा ५५ हजार ११ मत खसेको थियो ।
धरानमा २०७४ शालमा सम्पन्न भएको स्थानिय निर्वाचनमा तत्कालिन नेकपा एमालेका तारा सुब्बा विजयी भएपनि उनको निधन पछि उपनिर्वाचन भएको हो ।
