काठमाण्डौः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आन्तरिक विवाद अन्तत सतहमा आएको छ ।
पूर्वघोषित केन्द्रीय समितिको बैठक बिहीबार बरिष्ट नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेसँगै काँग्रेसको विवाद सतहमा आएको हो ।
केन्द्रिय कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका बनाउने विषयमा कुनै प्रस्ताव नआएपछि बहिस्कार गरिएको काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
विधान अनुसार महाधिवेशनका लागि ३ महिनाको समय मात्रै बाँकी रहँदा पनि पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन कार्यतालिकाको एजेण्डा उक्त बैठकमा राख्न नमानेपछि बैठक बहिस्कार गरिएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको उनको भनाई छ । मंसिर मसान्तभित्र निर्वाचन कार्यतालिका सार्वजनिक गरिसक्ने यसअघिको निर्णय भएपनि कार्यान्वयन नभएको उनको अरोप छ ।
बैठकमा एजेण्डा मिलाएर जाँउ भन्दा पनि सभापति देउवाले नटेरेको पौडेलले बताए । बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका बनाउने एजेण्डा नराख्दासम्म सहभागी नहुने अडान पौडेल पक्षले लिएका छन् ।
काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सुरु हुनु नै अन्त्य हुनु नभएको र प्रस्ताव आउनु नै पारित हुनु नभएको बताएका छन् । बैठकमा सीमा अतिक्रमणका सन्दर्भमा पार्टीले पहिले नै आफ्नो आधिकारिक धारणा व्यक्त गरेपनि बैठकमा प्रस्ताव पेश भएको उनले जानकारी दिए । पार्टीको तेस्रो चरणको जागरण अभियान सञ्चालन, पार्टीका २८ वटा विभागहरु बढाएर ४१ बनाउने, उपनिर्वाचनको समीक्षा र तरुण दलले थप गरेको ६ महिनाको समय अनुमोदन गर्ने प्रस्ताव पेश गरिएको उनले बताए ।
२०७४ को निर्वाचनको पूर्वसन्ध्यामा पार्टीमा एकीकरण भएको नेपाल लोकतान्त्रिक फोरमका समायोजन गर्न बाँकी पार्टीका समिति र क्रियाशील सदस्यलाई कसरी समायोजन गर्ने भन्ने विषयको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको प्रवक्ता शर्माले बताए ।
तेस्रो चरणको जागरण अभियान अन्तर्गत प्रदेश नम्बर १ को धरान, २ को जनकपुर, ३ को भरतपुरमा अन्तक्रिया आयोजना गरिएको उनले बताए । त्यसैगरि गण्डकी प्रदेशको दमौली, प्रदेश ५ को तौलिहवा, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा गर्ने गरि प्रस्ताव गरिएको प्रवक्ता शर्माले बताएका छन् । माघ १६ गतेबाट २५ सम्म अभियान सञ्चालन गर्नेगरि छलफल सुरु भएको बताए ।
