काठमाण्डौ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनको कार्यकाल एक वर्ष बढाउन नदिने बरिष्ट नेता रामचन्द्र पौडेलको लामो समयदेखिको प्रयास अन्तत: खेर जाने निश्चित जस्तै देखिएको छ ।
सभापति देउवाको बुढानिलकण्ठ स्थित निवाशमा बसेको संस्थापन समुहको बैठकले पार्टी विधानको प्रावधानलाइ टेकेर एकवर्ष कार्यकाल थप्ने, विभागको संख्या बढाउने योजना सफल हुँदै गएको हो । यद्दपी औपचारिक रूपमा उक्त निर्णय कार्यान्वयमा आउन बाँकी रहेको छ ।
चार वर्षीय कार्यकालको नेतृत्व पाएको सभापति देउवा समुहले डाकेको बिहिवारको केन्द्रीय कार्य समिति बैठकमा संस्थापन इतरका समुहले महाधिवेशनको कार्यतालिका माग गर्दै बैठक बहिष्कार गरेपछी नेपाली काँग्रेसको विवादले एकाएक चर्को रूप लिदै गएको छ । उक्त स्थगित बैठक आईतबारलाइ पुनः बस्ने भएको छ ।
उपनिर्वाचनमा एक भएको सन्देश दिँदै हिडेको काँग्रेसमा चुनावी नतिजा सोचे अनुसार आएपछि पुन नेतृत्व हुत्याउने दाउमा रहेका नेताहरू बिचको जुँगा लडाइ रोचक बन्दै गएको छ ।
सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा तथा बरिष्ठ नेता पौडेल समूहले महामन्त्री कोइराला निवाश तथा अर्का नेता प्रकाशमान सिंहको निवासमा छुट्टै भेलाको आयोजना गरेका थिए ।
पार्टीमा १४औँ महाधिवेशनका लागि देउवा र पौडेल पक्षबीच शक्ति सन्तुलनको लडाइँ सुरु भएसँगै सभापति देउवा विरुद्ध मोर्चाबन्दीमा दोस्रो र तेस्रो धार एकैठाँउमा उभिएका छन् ।
त्यसक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेल समुह र अर्का समुहका नेता कृष्णप्रसाद सिटौलाले देउवाविरुद्धको मोर्चाबन्दी थप कस्ने रणनीतिमा रहेका छन् । सोहीअनुसार शुक्रबार अपराह्न पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारी स्थित निवासमा पौडेल समुहको छलफल भएको थियो । उक्त छलफलका लागि महामन्त्री डा. शसांक कोइरालाले पोखराको फ्लाइट रद्द गरेरै सहभागीता जनाएका थिए ।
सभापति देउवाले आफ्नो कार्यकाल एक वर्ष थप गर्ने योजना बनाएसँगै आगामी महाधिवेशनको बागडोर पुनः कब्जामा लिन पार्टीका विभिन्न विभागको संख्या २८ बाट बढाएर ४१ बनाउने, तरुण दलको म्याद ६ महीना थप गर्ने र विघटित अवस्थामा पुगेको नेविसंघलाइ नेतृत्व प्रदान गरेर आगामी एकवर्ष भित्र महाधिवेशन गर्ने रणनितिमा केन्द्रित रहेको छ ।
यता केन्द्रीय समिति बैठकमा जसरी भएपनि पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४१ पुर्याउने देउवा पक्षको प्रस्ताव रोक्ने पौडेल पक्षको रणनीति रहेको छ ।
यतिबेला सभापति र बरिष्ट नेताको मध्यस्तता भूमीकामा रहेका महामन्त्री डा. शसांक कोइराला पनि सभापति देउवाको विभाग गठनको औचित्य नभएको निष्कर्षमा पुगेको स्रोतको दावी छ ।
सभापति देउवाको केन्द्रीय विभाग गठन गर्ने प्रस्ताव आफूनिकट नेताहरुलाई व्यवस्थापन गर्दै १४औँ महाधिवेशनको माहोल आफूअनुकल बनाउने रणनीति हो भन्दै महामन्त्री कोइराला पनि संस्थापन इतर समुहसँगै खुलेरै बिरोधमा लागेका छन् ।
यही विवादका विच सभापति शेरबहादुर देउवाले विहिवार १ बजेलाइ डाकेको केन्द्रीय कार्य समिति बैठक एकाएक संस्थापन इतरका समुहले बहिष्कार गरेसँगै उक्त विवाद सतहमा देखिएको हो ।
नेपाली काँग्रेसमा १४औँ महाधिवेशनको जोडघटाउ सुरु भएसँगै महामन्त्री शशांक कोइराला पनि सभापति शेरबहादुर देउवाविरुद्ध उत्रिएका छन् ।
चार बर्ष अघि सम्पन्न भएको १३औँ महाधिवेशनमा रामचन्द्र पौडेल प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका डा. शसांक कोइरालाले यो बीचमा सभापति देउवाका अधिकांश निर्णयका ‘साक्षी’ बसेपनि पछिल्लो निर्णयहरूमा भने असहमति प्रकट गरिरहेका छन् ।
