काठमाण्डाैंः भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वालासिंह)को कार्यकर्ता राजेश यादव उर्फ धर्मा सिंह पक्राउ परेका छन् । प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका यादवलाइ बाँकेको बिशेष खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
लामो समयदेखि भारतमा लुक्दै आएका यादवलाई वनकट्टीबाटै पक्राउ गरेको बाँकेका एसपी ओम रानाले बताए । यादवको साथबाट तरबार र चक्कुसमेत बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बाँके प्रहरी प्रमुख एसपी ओम रानाका अनुसार, यादव संलग्न भएको नौ वटा मुद्दा परेका छन् । त्यसमध्येमा केहीको फैसला भएर अदालतले कैद र जरिवाना तोकेको छ ।
२०७० पुस १३ गते त्रिभुवनप्रसाद कुर्मीले दिएको अपहरण मुद्दामा अदालतले २०७१ फाल्गुन १७ गते चार वर्ष कैद र तीस हजार जरिवाना गरेको थियो ।
२०६८ चैत्र ६ गते गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विष्फोट गराएको मुद्दामा जिल्ला अदालतबात २०७२ माघ २८ गते ६ महिना कैद र पाँच हजार जरिवाना तोकिएको थियो ।
२०६८ मंसीर १४ गते भूमिसुधार कार्यालय, बाँकेमा बम विष्फोट मुद्दामा अदालतबाट २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवाना भएको थियो । २०६८ मंसीर १४ गते मालपोत कार्यालय, बाँकेमा बम विष्फोट गराएको घटनामा २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवाना भएको थियो ।
२०६८ माघ ४ गते होलियाका नन्ना यादवलाई गोली हानी हत्या गरेको, २०६५ जेठ २६ गते राजबहादुर सिंहलाई गोली हानी घाइते बनाएको, २०६६ भदौ २१ गते बसन्त मल्ललाई अपहरण गरी हत्या गरेको, २०६६ मंसीर १७ गते राकेशकुमार लोनिया हतियारसहित पक्राउ पर्दा फरार रहेको, २०६६ मंसीर १ गते राकेशकुमार लोनियासमेतको जाहेरवालालाई अपहरण गर्ने धम्की दिएको मुद्दामा यादव फरार थिए ।
