काठमाण्डौः भारतमा रहेका मल्टिप्लेक्स सिनेमा हल सञ्चालकहरूले अब १५ जुलाईबाट आफूहरूले हल खोल्न पाउनुपर्ने माग गरेका छन् । भारतमा ठूला डिपार्टमेन्ट स्टोरसँगै मल पनि खुला भएकाले अब सिनेमा हल पनि खुला हुनुपर्छ भन्ने उनीहरूको माग छ ।
आफूहरूले एक सिट छाडेर दर्शकलाई हलमा राख्ने र हललाई सो सुरु हुनुअघि र सो सकिएपछि पूर्ण रूपमा स्यानिटाइजेसन गर्ने, दर्शकलाई स्यानिटाइजर गराएर मास्क अनिवार्य गरेर सामाजिक दूरी कायम बनाएर मात्र हलमा छिराउने मल्टिप्लेक्स हल एसोसिएसनको माग रहेको छ ।
मल्टिप्लेक्स हलवालाहरूले आफूहरूले अहिले सबै हल नखोलेर एक तिहाइ हल मात्र खोल्ने बिस्तारै दर्शक आएपछि हलको संख्या बढाउँदै जाने माग गरेका छन् । बलिउड फिल्म विश्लेषक कोमल नाहटाले चीन र युरोपका विभिन्न मुलुकमा जस्तै भारतमा पनि सिनेमा हल सञ्चालन गर्न सक्ने गाइडलाइन प्रस्तुत गरेपछि हल सञ्चालकहरूले फिल्म हल खोल्ने माग गरेका हुन् ।
मल्टिप्लेक्सभन्दा सिंगल हल सञ्चालन झन् सजिलो भएकाले आफूहरूले पनि सिंगल हल सञ्चालन गर्न पाउनुपर्ने एकल हल सञ्चालकहरूको माग रहेको छ ।
अहिले दर्शकमा डिप्रेसन अत्यधिक बढेकाले उनीहरूलाई मनोरञ्जन आवश्यक भएको र त्यसका लागि सिनेमा उपयुक्त माध्यम भएकाले सुरक्षित रूपमा आफूहरूले हल खोल्न पाउनुपर्ने माग उनीहरूको छ । कोरोना भाइरसविरुद्ध आफूहरूले हलमा अपनाउने सुरक्षाबारे सरकारलाई निरीक्षण गर्न पनि उनीहरूले सुझाव दिएका छन् । एजेन्सी
