सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘प्रधानमन्त्री शाह र रवि लामिछानेबीच मनमुटाव छैन, नीतिगत विषयमा निरन्तर छलफल भइरहेको छ’ : रास्वपा नेता, प्रमोद न्यौपाने (अन्तवार्ता)

२०८३ भाद्र २५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबिचको सम्बन्धलाई लिएर अनेक अड्कलबाजी भइरहेका छन् । खासमा कस्तो छ सम्बन्ध ?

प्रधानमन्त्री र सभापतिबिचको सम्बन्धलाई लिएर बाहिर जुन खालका अतिरञ्जित हल्लाहरू फैलाइएका छन्, त्यसमा सत्यता छैन । जब देशको आवश्यकता र राजनीतिको लय परिवर्तनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भयो, त्यतिबेलादेखि नै कतिपय शक्तिहरूलाई यो समीकरण मन परेको थिएन । यो समीकरण बनेदेखि नै यिनीहरू मिलेर के गर्छन् र भन्ने आशंका गर्ने र अविश्वास सिर्जना गराउन खोज्ने एउटा तप्का सक्रिय छ ।

उनीहरूले नै अहिले पनि दुई नेताबीच राम्रो सम्बन्ध छैन, मनमुटाव छ भन्ने अफवाह फैलाउने प्रयास गरिरहेका छन् । तर यथार्थ त्यस्तो होइन । उहाँहरूबिच नीतिगत कुराहरूमा, देशको सुशासन र सेवा प्रवाहको विषयमा निरन्तर र सघन छलफल भइरहेको छ ।

तर संसद्मा रास्वपाकै सांसदहरूले सरकारको आलोचना गरिरहेका छन् नि । ती आलोचना गर्ने सांसद बढी सभापति निकटका मानिन्छन् । यसले त पार्टी र सरकारबिच असमझदारी छ भन्ने देखाउँदैन र ?

संसद्मा हाम्रा माननीय सदस्यहरूले राख्नुभएका विचारहरूलाई सरकार विरोधी भनेर अर्थ्याउनु गलत हुन्छ । संसद् भनेको जनप्रतिनिधिहरूले आम जनताका समस्या मुखरित गर्ने थलो हो । हाम्रा सांसदहरू कुनै व्यक्ति विशेष वा सरकारको बचाउ गर्न मात्र त्यहाँ गएका होइनन् । उहाँहरूले जनताका पीरमर्का, प्रणालीका कमजोरी र सुधार्नुपर्ने पक्षहरू औँल्याउनुभएको हो । सरकारमा हाम्रो सहभागिता छ भन्दैमा प्रणालीका त्रुटिहरूमा आँखा चिम्लिनुपर्छ भन्ने छैन । सांसदहरूले आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर रचनात्मक सुझाव र आलोचना गर्नुभएको हो, जसलाई पार्टीले आन्तरिक लोकतन्त्रको सुन्दर पक्ष मान्छ ।

रास्वपाले त आफ्ना सांसदहरूलाई संसद्मा बोल्नुअघि लिखित रूपमा जानकारी गराउनुपर्ने नियम बनाएको छ नि, यसले त सांसदहरूको स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको देखियो नि, होइन ?

नियन्त्रण र सञ्चालनमा फरक छ । पार्टीले सांसदहरूलाई नबोल भनेको होइन । हामीले त संसदीय दललाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि सांसदहरूले संसदमा कुन विषय उठान गर्दै हुनुहुन्छ, त्यसको पूर्वजानकारी संसदीय दललाई होस् मात्र भन्न खोजेको हो । यसो गर्दा पार्टीको आधिकारिक धारणा र सांसदहरूको प्रस्तुतिमा एकरूपता आउँछ र विषयवस्तुको गाम्भीर्यता अझ बढ्छ । यो संसद् र संसदीय दललाई मर्यादित बनाउने लोकतान्त्रिक अभ्यास हो, नियन्त्रण होइन ।

अब अलिकति कुरा गरौँ, तपाईंको नयाँ जिम्मेवारीको । तपाईं भर्खरै संगठन विभाग प्रमुख बन्नुभएको छ । बजारमा चर्चा छ— तपाईं सभापति रवि लामिछानेको साह्रै निकट भएकाले यो महत्त्वपूर्ण पद पाउनुभयो । के यो अवसर निकटताकै आधारमा प्राप्त भएको हो ?

हाम्रो पार्टीको विधानले केन्द्रीय सदस्य वा प्रतिनिधि सभा सदस्य मात्र विभागको प्रमुख हुन सक्ने व्यवस्था गरेको छ । केन्द्रीय समितिमा निर्वाचित भएर आउनुभएका सबै साथीहरू आफैँमा योग्य हुनुहुन्छ । यदि योग्य हुनुहुन्थेन भने त महाधिवेशनका प्रतिनिधिहरूले उहाँहरूलाई चुनेर पठाउनुहुने थिएन । म सुरुदेखि नै पार्टीको सांगठनिक काममा निरन्तर क्रियाशील छु । मैले यसअघि कुनै ठुलो सांगठनिक जिम्मेवारी नलिईकन पनि इमानदार सदस्यका रूपमा काम गरेकै हो । सभापतिसँगको निकटताको कुरा गर्नुहुन्छ भने सभापति सबै केन्द्रीय सदस्य र पार्टी सदस्यहरूको अभिभावक हुनुहुन्छ । उहाँ सबैको नजिक हुनुहुन्छ र म पनि उहाँको विश्वासिलो सहयात्री हुँ । तर जिम्मेवारी निकटताका आधारमा होइन, कार्यक्षमता, लगनशीलता र सांगठनिक आवश्यकताका आधारमा दिइएको हो ।

त्यसो भए तपाईं र सभापति रविजीबिचको सम्बन्धलाई कसरी परिभाषित गर्नुहुन्छ त ?

हामी लामो समयदेखि पेसागत रूपमा पनि सँगै काम गरेका सहयात्री हौँ । हामीले मिडियामा सँगै काम गर्दादेखि नै एकअर्काको कार्यशैली र क्षमतालाई बुझेका छौँ । त्यसैले हामीबिच एउटा बलियो समझदारी र विश्वास छ । तर राजनीतिक रूपमा हामी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै सम्बन्ध राख्दैनौँ । पार्टीभित्र हामी विधान अनुसार चल्छौँ ।

फेरि सरकारकै कुरामा फर्कौँ । रास्वपा सरकारमा गएको ६ महिना बितिसकेको छ । तर बजारमा ग्यासको चरम अभाव छ, राहदानी बनाउन उत्तिकै सास्ती छ । लाइन होइन अनलाइन भन्ने नारा त नारामा मात्र सीमित भयो नि ?

जनताले भोग्नुपरेको सास्तीप्रति हामी पूर्ण रूपमा सचेत छौँ । तर वर्षौँदेखि जकडिएर रहेको प्रशासनिक ढिलासुस्ती र बेथिति पाँच महिनामा जादुमयी ढङ्गले तुरुन्तै समाप्त हुन सक्दैन । अनलाइन प्रणाली विकास गर्ने प्रक्रिया सुरु भइसकेको छ । कतिपय प्राविधिक र व्यवस्थापकीय कमजोरीका कारण अझै पनि केही समस्या देखिएका छन् । ग्यासको आपूर्तिको कुरा गर्दा तथ्याङ्कले देखाउँछ कि आयातमा कुनै कमी छैन, तर आन्तरिक वितरण र व्यवस्थापनमा केही कमजोरी अवश्य भएका हुन् । यसलाई सुधार्न सम्बन्धित मन्त्रालयले निरन्तर काम गरिरहेको छ । सरकारले गल्ती नै गरेको छैन म भन्दिनँ, तर नियत सफा राखेर काम गरिरहेको छ र नतिजाहरू क्रमशः देखिँदै जानेछन् ।

प्रधानमन्त्रीले संसद्मा दिएको कतिपय अभिव्यक्ति विवादित बन्यो । नेपालले भारतको भूमि मिचेको छ भन्ने जस्ता कुरा संसद्मै आए । यस्तो संवेदनशील राष्ट्रियताको विषयमा प्रधानमन्त्रीको कमजोरीलाई रास्वपाले किन ढाकछोप गरिरहेको छ ?

राष्ट्रियताको सवालमा रास्वपा कहिल्यै पनि सम्झौता गर्दैन । प्रधानमन्त्रीले संसद्मा दिनुभएको अभिव्यक्तिलाई लिएर परराष्ट्र मन्त्रालय र सरकारले स्पष्टीकरण दिइसकेको छ । अभिव्यक्ति दिँदा कुन सन्दर्भ र कुन आशयले दिइएको हो भन्ने कुराको व्याख्या सरकारको आधिकारिक संयन्त्रले गरिसकेपछि त्यसैलाई लिएर सधैँ विवाद गरिरहनु आवश्यक छैन ।

प्रधानमन्त्रीको हैसियतमा उहाँले बोलेका कुराहरूको देशको सार्वभौमिकता र परराष्ट्र नीतिसँग गम्भीर सम्बन्ध हुन्छ । त्यसैले सरकारले आधिकारिक रूपमा धारणा सार्वजनिक गरिसकेकाले यसलाई सोही रूपमा बुझ्नुपर्छ ।

तर संसद्मा प्रधानमन्त्रीले त्यस्तो बोलिरहँदा रास्वपाकै सांसदहरूले ताली बजाइरहेका थिए नि । यसले त पार्टीको लाचारीपन देखाउँदैन र ?

संसद्मा कुन सन्दर्भमा ताली बज्यो वा माननीयज्यूहरूले कसरी बुझ्नुभयो भन्ने कुरा उहाँहरूको व्यक्तिगत बुझाइको कुरा पनि होला । तर समग्र पार्टी पङ्क्ति राष्ट्रियता र भौगोलिक अखण्डताको सवालमा दृढ छ । कसैको व्यक्तिगत अभिव्यक्तिका कारण पार्टीको सिद्धान्त र प्रतिबद्धता विचलित हुँदैन ।

अब पार्टीको आन्तरिक विधानको कुरा गरौँ । रास्वपाको विधानको धारा ६८ को निकै चर्चा र विवाद छ । यो व्यवस्था विशेषगरी बालेन शाह वा अन्य कसैलाई पार्टीमा भित्र्याउन अनुकूल बनाइएको हो भन्ने आरोप छ नि ?

विधान भनेको कुनै व्यक्ति विशेषलाई हेरेर वा कसैलाई लक्षित गरेर बनाइने दस्तावेज होइन । यो पार्टीलाई दीर्घकालीन रूपमा सञ्चालन गर्नका लागि बनाइएको मार्गदर्शक नियम हो । धारा ६८ को व्यवस्थाले पार्टीलाई थप समावेशी, गतिशील र बलियो बनाउनका लागि विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई पार्टीमा ल्याउने बाटो खोलेको हो । यो कुनै एउटा व्यक्तिका लागि मात्र होइन । भोलि जो कोही योग्य र देशका लागि केही गर्न चाहने व्यक्ति यस अन्तर्गत पार्टीमा जोडिन सक्छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्छ, न कि शंकाको दृष्टिकोणले ।

रास्वपामा मनोनित गर्ने प्रक्रियामा सभापतिको एकलौटी नियन्त्रण छ । पार्टीलाई एकलौटी कम्पनी जस्तो बनाइयो, जसले गर्दा पार्टीभित्र तीव्र असन्तुष्टि छ भनिन्छ । यो के हो ?

यो आरोप पूर्णतः निराधार छ । मनोनित गर्ने वा पद जिम्मेवारी हेरफेर गर्ने कुरा केन्द्रीय समिति र सम्बन्धित कमिटीहरूको सामूहिक निर्णयका आधारमा हुन्छन् । पार्टीभित्र कार्यविभाजन परिवर्तन हुनु सामान्य सांगठनिक प्रक्रिया हो, यसलाई कब्जा वा एकलौटी भन्नु गलत बुझाइ हो ।

रास्वपाका सांसद र नेताहरूलाई महँगा होटलहरूमा लगेर प्रशिक्षण दिइन्छ । तर संसद्मा उहाँहरूको भूमिका हेर्दा कतिपयले कमेडी क्लब जस्तो भयो भनेर टिप्पणी गर्छन् । के तालिमले काम नगरेकै हो ?

संसद्मा हाम्रा सांसदहरूको भूमिकालाई लिएर गरिएका कतिपय हल्का टिप्पणीहरू पूर्वाग्रह प्रेरित छन् । रास्वपाका अधिकांश सांसदहरू पहिलो पटक संसद्मा पुग्नुभएको हो । उहाँहरू नयाँ हुनुहुन्छ, तर उहाँहरूले उठाएका विषयहरू अत्यन्तै जनपक्षीय र वजनदार छन् । हामीले गरेका प्रशिक्षणहरू सांसदहरूलाई संसदीय प्रक्रिया, नीति निर्माण र जनसरोकारका मुद्दाहरूलाई कसरी प्रभावकारी रूपमा उठाउने भनेर सिकाउनका लागि आयोजना गरिएका हुन् । नयाँ अभ्यासमा केही सिकाइका कमजोरीहरू हुन सक्छन्, तर समग्रमा हाम्रा सांसदहरूको भूमिका संसदमा प्रभावकारी नै छ ।

तपाईं संगठन विभाग प्रमुख भइसकेपछि अब स्थानीय तहको चुनाव र सांगठनिक विस्तारका लागि के योजना छन् ?

संगठन विभागको नेतृत्व सम्हालिसकेपछि मेरो मुख्य प्राथमिकता पार्टीको सांगठनिक संरचनालाई जगैदेखि बलियो बनाउनु हो । हामीले आगामी स्थानीय तहको निर्वाचन र सांगठनिक सुदृढीकरणका लागि स्पष्ट कार्ययोजना बनाएका छौँ ।

यो क्यान्डिडेट क्लब भन्ने अवधारणा के हो ?

क्यान्डिडेट क्लबको अवधारणा भनेको निर्वाचनमा उम्मेदवार बन्न चाहने योग्य, इमानदार र सक्षम व्यक्तिहरूलाई पहिचान गर्ने र उनीहरूलाई प्रशिक्षित गर्ने एउटा व्यवस्थित मञ्च हो । हामीले गाउँपालिका र नगरपालिका स्तरमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्छौँ ।

उनीहरूलाई प्रारम्भिक छनोट गरेर यो क्लबमा समावेश गरिन्छ । यो क्लबभित्र उनीहरूलाई स्थानीय सरकार सञ्चालन, नीति निर्माण, सेवा प्रवाह र पार्टीको सिद्धान्तका बारेमा सघन प्रशिक्षण दिइन्छ ।

यसको मतलब, जो कोहीले टिकट पाउँदैन ? पार्टीभित्र एउटा कडा प्रतिस्पर्धात्मक प्रणाली विकास गर्न खोज्नुभएको हो ?

हामी परम्परागत पार्टीहरू जस्तो नेताको खल्तीबाट उम्मेदवारको नाम निकाल्ने परिपाटीको अन्त्य गर्न चाहन्छौँ । क्यान्डिडेट क्लबमा सामेल भएका उम्मेदवारहरूलाई कम्तीमा चारवटा चरणको कठोर मूल्यैकन प्रक्रियाबाट गुज्रिनुपर्ने हुन्छ । उनीहरूको सामाजिक छवि, कार्यक्षमता, जनस्तरमा उनीहरूको लोकप्रियता र पार्टीप्रतिको प्रतिबद्धताको आधारमा मात्र अन्तिम उम्मेदवार छनोट गरिनेछ । यसले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनेछ र जनताले पनि उत्कृष्ट उम्मेदवार रोज्न पाउनेछन् ।

रास्वपाको संगठन विस्तार कति चुनौतीपूर्ण छ ? पहिलेको जस्तो क्रेज अहिले पनि छ त ?

चुनौतीहरू पक्कै छन् । हामीले गरेका काम र हाम्रा कमजोरीहरूलाई जनताले नियालिरहेका छन् । तर हाम्रो सांगठनिक विस्तार रोकिएको छैन । हालसम्म हाम्रो पार्टीमा करिब पाँच लाख साधारण सदस्यहरू जोडिसक्नुभएको छ । यो संख्या निरन्तर बढ्दो छ । हामी देशका प्रत्येक वडा र टोलसम्म पुगेर संगठन निर्माण गरिरहेका छौँ । हाम्रो क्रेज घटेको छैन, बरु यो थप परिपक्व र संस्थागत हुँदै गइरहेको छ । रातोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल