काठमाडौं । छठ पर्वको अवसरमा वीरगञ्जमा नेपाली सेनाले छठी माई र सूर्य भगवान्लाई विशेष सैनिक परेडसहित सलामी अर्पण गर्ने भएको छ। वीरगञ्ज महानगरपालिका–१० स्थित घडिअर्वा छठघाटमा छठ पर्वको मुख्य दिन कात्तिक २९ गते आइतबार साँझ विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो।
श्रीपुरस्थित नेपाली सेनाको श्रीजंग गणबाट प्रमुख सेनानी लोकेन्द्र कार्कीको नेतृत्वमा सैनिक टोली वाद्यवादनसहित मार्च गर्दै घडिअर्वा छठघाट पुग्ने कार्यक्रम रहेको छ। सैनिक टोलीले छठघाट परिसरमा रहेको सूर्य भगवान्को मन्दिरमा सैनिक विधिअनुसार छठी माई र सूर्य भगवान्लाई सलामी अर्पण गर्नेछ।
प्रमुख सेनानी कार्कीले छठ पर्वप्रतिको आस्था र लोकप्रियतालाई सम्मान गर्दै सलामी कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको जानकारी दिए। नेपाली सेनाले सबै धर्म, संस्कृति, परम्परा र चाडपर्वको सम्मान गर्दै आएको उल्लेख गर्दै उनले यस कार्यक्रमले धार्मिक तथा सांस्कृतिक सद्भाव अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
घडिअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहका अनुसार छठ पर्वप्रति सम्मान प्रकट गर्ने उद्देश्यले स्थानीयवासीको सल्लाहमा गत वर्ष नेपाली सेनासँग सलामी कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको थियो।
स्थानीयवासीको आग्रहपछि नेपाली सेनाले सहमति जनाएसँगै गत वर्षदेखि घडिअर्वा छठघाटमा छठी माई र सूर्य भगवान्लाई सैनिक सलामी अर्पण गर्ने कार्यक्रम सुरु भएको हो। उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको अध्यक्ष साहले बताए।
छठ पर्व नेपालको तराई–मधेश क्षेत्रमा विशेष श्रद्धा र उल्लासका साथ मनाइने प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। यस पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठी माईको पूजा आराधना गर्ने परम्परा छ।
वीरगञ्जमा नेपाली सेनाले आयोजना गर्न लागेको विशेष सलामी कार्यक्रमले छठ पर्वको धार्मिक महत्त्वलाई सम्मान गर्नुका साथै नेपाली समाजमा रहेको धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सामाजिक एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
