सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ

२०८३ कार्तिक २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर, २४ कात्तिकः गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कारलाई नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल संवत् ११४७ को अवसरमा आज ललितपुरको पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले आधुनिकीकरण र पश्चिमीकरणका नाममा मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आधुनिकता र पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि हामीले आफ्नो मौलिक पहिचान र पुर्खाबाट प्राप्त संस्कार बिर्सन हुँदैन । ललितपुरको कला, संस्कृति, वास्तुकला, भूगोल र ऐतिहासिक संरचनाले नेपालको पहिचान अन्तरराष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पु¥याएको छ । पुर्खाहरूले जोगाएर राखेको सम्पदा र परम्पराका कारण विदेशी पर्यटकलाई नेपालको ऐतिहासिक तथा सांस्कृतिक वैभव देखाउन सम्भव भएको हो । ”

उहाँले पाटनसँग आफ्नो सामाजिक यात्राको विशेष सम्बन्ध रहेको उल्लेख गर्दै ‘इनफ इज इनफ’ आन्दोलनका क्रममा यही ठाउँमा अनशन बसेको स्मरण गर्नुभयो ।

गृहमन्त्री गुरुङले नेवार समुदायका जात्रा, पर्व र सामूहिक परम्पराले सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले परिवार र संस्कारले ज्येष्ठ नागरिक तथा अग्रजलाई सम्मान गर्न सिकाएको बताउनुभयो । बाल्यकालमा घरमा नेवारी भाषा बोलिने गरेको स्मरण गर्दै उहाँले अहिले भाषा बोल्न बिर्सिए पनि आफ्नो सांस्कृतिक पहिचान र पारिवारिक संस्कारप्रति गर्व रहेको बताउनुभयो । नेवार समुदायले कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा गरेको प्रयास प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।

गृहमन्त्री गुरुङले नेपाली सांस्कृतिक अभ्यासलाई सबै जातजाति र समुदायले आ–आफ्नो ठाउँबाट संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले जतिसुकै आधुनिक वा पश्चिमी जीवनशैली अपनाए पनि आफ्नो धर्म, संस्कृति, परम्परा र संस्कारलाई बिर्सन नहुने बताउनुभयो ।

अग्रज पुस्ताले नयाँ पुस्तालाई संस्कार सिकाएजस्तै अहिलेको पुस्ताले पनि भावी पुस्तालाई केही न केही सांस्कृतिक विरासत हस्तान्तरण गर्नुपर्ने उहाँको भनाइ थियो ।

तिहार र दीपावलीको परम्परागत उत्सव मनाउने वातावरण क्रमशः साँघुरिँदै गएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले सुरक्षा व्यवस्थाका कारण सांस्कृतिक गतिविधि सीमित हुन नहुने बताउनुभयो ।

तिहारका अवसरमा घरघरमा गएर देउसी–भैलो खेल्ने र सामूहिक रूपमा रमाइलो गर्ने परम्परा कमजोर हुँदै गएको भन्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले सुरक्षा प्रदान गर्ने जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै २४ सै घण्टा सांस्कृतिक गतिविधि सहज रूपमा सञ्चालन गर्न सक्ने निर्णय गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले नेपाल संवत् ११४७ को अवसरमा शुभकामना व्यक्त गर्दै देश र समाजका लागि अझ राम्रो काम गर्न सक्ने अवसर तथा अग्रजहरूको आशीर्वाद प्राप्त होस् भनी कामनासमेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव