विराटनगर । मोरङको उर्लाबारीमा रातको समयमा तास खेल्दै जुवाको खाल जमाइरहेका ८ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ।
उर्लाबारी नगरपालिका–४ भानुमार्गस्थित एक घरमा जुवा खेल भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले बुधबार राति करिब १०ः३५ बजे छापा मारेको हो।
प्रहरीले तास खेलिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिँदै उनीहरूको साथबाट नेपाली नगद २२ हजार २०० रुपैयाँ र तासका दुई बुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ का ३२ वर्षीय शिवनिधि, ४९ वर्षीय युवराज थापा, ३५ वर्षीय डम्बरबहादुर अधिकारी, ३९ वर्षीय कमल खड्का, ५० वर्षीय गोपाल भुजेल, ४१ वर्षीय दुर्गाबहादुर भुजेल, ४२ वर्षीय मोहन खड्का र ५० वर्षीय सुरेश कार्की रहेका छन्।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चाडपर्व होस् वा सामान्य दिन, जुवातासविरुद्ध प्रहरीको निगरानी जारी छ।
