सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग

२०८३ कार्तिक २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

क्वालालम्पुर, मलेसिया : नेपाल र मलेसियाबीचको आगामी द्विपक्षीय वार्ता नयाँ श्रमिक पठाउने विषयमा मात्र सीमित नरही मलेसियामा कार्यरत श्रमिकले वर्षौंदेखि सामना गरिरहेका समस्या समाधानमा पनि केन्द्रित हुनुपर्नेमा त्यहाँ कार्यरत नेपालीहरूले जोड दिएका छन् ।

मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा २७५ नेपाली म्यानपावर कम्पनी दर्ता भएपछि मलेसियाको नयाँ रोजगारी प्रभावित भएको छ । नयाँ रोजगारी सहज बनाउन यहि नोभेम्बर १८ र १९ वा डिसेम्बर २ र ३ मा वार्ता गर्न नेपालले प्रस्ताव गरेको छ । तर, मलेसियाबाट जवाफ आएको छैन ।

मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको तलब, काम गर्ने समय तथा श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाली श्रमिकहरूले युवा, श्रम तथा रोजगार मन्त्रालयलाई सातबुँदे ध्यानाकर्षण पत्र पठाएको बताएका छन् । उनीहरूले नयाँ रोजगारी खुलाउने विषयलाई मात्रै प्राथमिकतामा राख्दा पुराना श्रमिकमाथिको शोषण यथावत् रहने बताएका छन् ।

विशेषगरी सेक्युरिटी क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूले महिनाको ३० दिनसम्म निरन्तर काम गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ । प्रत्येक दिन १२ घण्टा र महिनाको ३० दिन नै काम गर्दा पनि कतिपय श्रमिकले मासिक २३ सय रिंगेट मात्र तलब पाउने समस्या रहेको उनीहरूले उल्लेख गरेका छन् । पर्याप्त साप्ताहिक बिदा, ओभरटाइमको उचित भुक्तानी तथा श्रम अधिकारका विषयमा समस्या भोग्नुपरेको भन्दै उनीहरूले नेपाल र मलेसियाबीच हुन गइरहेको द्विपक्षीय श्रम वार्तामा मलेसियामा कार्यरत नेपाली श्रमिकलाई हप्तामा कम्तीमा एक दिन अनिवार्य बिदा सुनिश्चित गर्न माग गरेका छन् ।

त्यसैगरी, अतिरिक्त काम गरेको समयको ओभरटाइम रकम कानुनअनुसार छुट्टै उपलब्ध गराउनुपर्ने, महिनाको ३० दिन काम गराउने प्रथालाई नियन्त्रण गर्नुपर्ने तथा सेक्युरिटी क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम तलब र सेवा सुविधाको पुनरावलोकन गरी नेपाली र मलेसियन श्रमिकबीच समान कामको समान पारिश्रमिकको व्यवस्था सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।

श्रमिकको राहदानी, बिदा, स्वास्थ्य सुविधा तथा सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्न र मलेसियामा पहिलेदेखि कार्यरत नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल र मलेसिया सरकारबीच स्थायी श्रमिक गुनासो समाधान संयन्त्र स्थापना गर्न पनि उनीहरूले माग गरेका छन् ।

मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको तर्फबाट मन्त्रालयमा पठाइएको पत्रमा नयाँ श्रमिकलाई मात्र मलेसिया पठाउने विषय नभई पहिलेदेखि पसिना बगाइरहेका नेपाली श्रमिकको जीवन र अधिकारलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ । मध्यान्ह दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै

दानबहादुरको मुद्दालाई अग्राधिकार

स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना

बैंकमा पैसा थुप्रियो, मुद्दती निक्षेप घट्यो

शिक्षकको क्षमता विस्तार पढाउन जानुअघि तीन महिनाको तालिम अनिवार्य

कर तिर्नेलाई सम्मान, लगानीकर्तालाई अन्योल