सर्लाही । गाउँसभा सदस्यहरूको हस्ताक्षर किर्ते गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय पक्राउ परेका छन् ।
गाउँसभाको माइन्युटमा सदस्यहरूको हस्ताक्षर किर्ते गरेको आरोपमा दर्ता भएको मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले रायलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै बुधबार अदालतमा पेस गरिने बताए । प्रहरीले मुद्दाबारे थप विवरण खुलाएको छैन ।
राय गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
