सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

२०८३ मंग्सिर ३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । कपालमा सेता पत्र देखिने, काँधमा चाया झर्ने र टाउको बारम्बार चिलाउने समस्या धेरै मानिसमा देखिन्छ। सामान्य समस्या ठानेर बेवास्ता गर्ने गरिए पनि चायाले टाउकोको छालामा असहजता र जलनसमेत गराउन सक्छ। विशेषगरी चिसो तथा सुक्खा मौसममा यसको समस्या अझ बढ्न सक्छ।

टाउकोको छालाबाट मसिना सेता वा पहेँला पत्र उप्किएर झर्नुलाई चाया भनिन्छ। यो प्रायः टाउकोको छालामा तेलको मात्रा बढी हुनु, मालासेजिया नामक ढुसीको अस्वाभाविक वृद्धि र छालाको संवेदनशीलतासँग सम्बन्धित हुन्छ। त्यस्तै, कपालको उचित सरसफाइ नहुनु वा प्रयोग गरिने कस्मेटिक उत्पादनले छालामा जलन गराउँदा पनि चायाको समस्या देखिन सक्छ।

चाया प्रायः सेबोरिक डर्मेटाइटिस नामक छालाको समस्यासँग सम्बन्धित हुन्छ। यसले टाउकोको छालामा पत्र उप्किने, चिलाउने र कहिलेकाहीँ रातोपन निम्त्याउँछ।

चाया पर्नुका मुख्य कारण

टाउकोको छालामा प्राकृतिक रूपमा तेल उत्पादन गर्ने सेबेसियस ग्रन्थी हुन्छन्। यी ग्रन्थीबाट आवश्यकताभन्दा बढी तेल उत्पादन हुँदा मालासेजिया नामक ढुसीको वृद्धि हुन सक्छ। यसले छालामा जलन गराउने र पत्र उप्किने समस्या निम्त्याउन सक्छ।

चाया पर्नुका अन्य कारणमा नियमित रूपमा कपाल नधुनु, धेरै पटक कपाल धोएर छाला सुक्खा बनाउनु, कपालमा विभिन्न रासायनिक उत्पादन प्रयोग गर्नु तथा तनाव पनि पर्छन्। त्यस्तै, छालाको संवेदनशीलता, हावापानीमा परिवर्तन र केही स्वास्थ्य समस्याले पनि चायाको जोखिम बढाउन सक्छन्। किशोरावस्थादेखि यसको समस्या बढी देखिए पनि जुनसुकै उमेरका मानिसमा चाया पर्न सक्छ।

चायाका लक्षण के–के हुन्रु

चायाको मुख्य लक्षण टाउकोको छालाबाट सेता वा पहेँला पत्र झर्नु हो। यससँगै टाउको चिलाउने र छालामा जलन हुने समस्या पनि देखिन सक्छ।

चायाका सामान्य लक्षणहरू यस्ता छन् :

  • कपाल र काँधमा सेता वा पहेँला पत्र झर्नु।
  • टाउकोको छाला बारम्बार चिलाउनु।
  • टाउकोको छाला रातो हुनु वा जलन महसुस हुनु।
  • आँखीभौँ तथा कानको वरिपरि पत्र देखिनु।
  • अनुहारको छालामा समेत सुक्खा वा चिल्ला पत्र देखिनु।
  • टाउकोमा अत्यधिक तेल जम्नु।
  • कतिपय अवस्थामा चायासँगै कपाल झर्ने समस्या पनि देखिन सक्छ। तर चाया पर्नु मात्रै कपाल झर्नुको प्रत्यक्ष कारण भने होइन।

चाया हटाउन कस्तो स्याम्पु प्रयोग गर्ने?

चाया नियन्त्रणका लागि औषधियुक्त स्याम्पु उपयोगी हुन सक्छन्। बजारमा पाइने चाया प्रतिरोधी स्याम्पुमा विभिन्न औषधीय तत्त्व मिसाइएको हुन्छ। यस्ता स्याम्पुले ढुसीको वृद्धि नियन्त्रण गर्न वा टाउकोमा जमेको पत्र खुकुलो पार्न मद्दत गर्छन्।

चाया नियन्त्रणका लागि प्रयोग हुने प्रमुख तत्त्वहरूमा केटोकोनाजोल, सेलेनियम सल्फाइड, जिङ्क पाइरिथियोन र कोल टार पर्छन्। तर सबै स्याम्पु सबैको टाउकोको छालाका लागि उपयुक्त हुँदैनन्। त्यसैले आफ्नो कपालको प्रकृति र छालाको अवस्थाअनुसार स्याम्पु छनोट गर्नुपर्छ। स्याम्पु प्रयोग गर्दा प्याकेटमा उल्लेख गरिएको निर्देशन पालना गर्नु आवश्यक हुन्छ।

घुम्रेको, बाक्लो वा खस्रो कपाल भएका व्यक्तिले आवश्यकता अनुसार कपाल धुनुपर्छ। त्यस्तै, मसिनो वा सिधा कपाल भएका व्यक्तिले तुलनात्मक रूपमा बढी पटक कपाल धुनुपर्ने हुन सक्छ। चाया प्रतिरोधी स्याम्पु कति पटक प्रयोग गर्ने भन्ने कुरा पनि यसको प्रकार र टाउकोको छालाको अवस्थाअनुसार फरक हुन्छ।

घरेलु उपायले चाया हट्छ?

चाया देखिनेबित्तिकै धेरैले नरिवलको तेल, घिउकुमारी वा कागतीको रस प्रयोग गर्ने गर्छन्। तर यस्ता घरेलु उपायले चाया निको पार्छन् भन्ने पर्याप्त वैज्ञानिक प्रमाण छैन।

नरिवलको तेलले केही व्यक्तिमा छालाको सुक्खापन कम गर्न सक्छ। तर अत्यधिक तेलयुक्त टाउकोमा तेल लगाउँदा समस्या झन् बढ्न पनि सक्छ। त्यस्तै, कागतीको रस, बेकिङ सोडा र एप्पल साइडर भिनेगरले संवेदनशील छालामा जलन वा एलर्जी गराउन सक्छन्। त्यसैले चाया हटाउने नाममा जथाभावी घरेलु सामग्री प्रयोग गर्नु हुँदैन। विशेषगरी टाउकोको छालामा घाउ, रातोपन वा जलन छ भने यस्ता सामग्री प्रयोग नगर्नु राम्रो हुन्छ।

चाया र सुक्खा छालाबीचको फरक

चाया र टाउकोको सुक्खा छालामा देखिने लक्षण उस्तै हुन सक्छन्। दुवै अवस्थामा टाउको चिलाउने र सेता पत्र झर्ने समस्या देखिन्छ। तर यी दुई समस्या एउटै होइनन्।

सुक्खा छालामा चिस्यानको कमी हुँदा मसिना र सुक्खा पत्र उप्किन्छन्। चायामा भने प्रायः तेलयुक्त, सेता वा पहेँला पत्र देखिन्छन्। चाया हुँदा टाउकोको छाला चिल्लो हुन सक्छ भने सुक्खा छालामा कसिलोपन र सुक्खापन महसुस हुन्छ। त्यसैले समस्या पहिचान नगरी एउटै प्रकारको स्याम्पु वा उपचार प्रयोग गर्नु उपयुक्त हुँदैन।

चाया पर्न नदिन के गर्ने?

  • चाया पूर्ण रूपमा रोक्न सधैँ सम्भव नहुन सक्छ। तर केही सावधानी अपनाउँदा यसको समस्या कम गर्न सकिन्छ।
  • आफ्नो कपाल र टाउकोको छालाअनुसार नियमित रूपमा स्याम्पु गर्ने।
  • धेरै रासायनिक पदार्थ भएका कपालका उत्पादन प्रयोग नगर्ने।
  • टाउकोको छाला जोडले कन्याउने वा नङले कोट्याउने नगर्ने।
  • कपालमा प्रयोग गरिएका उत्पादनका कारण जलन भए प्रयोग गर्न बन्द गर्ने।
  • सन्तुलित तथा पोषिलो खानपानमा ध्यान दिने।
  • पर्याप्त निद्रा लिने र तनाव कम गर्ने।
  • कपाल र टाउकोको सरसफाइमा ध्यान दिने।

कहिले चिकित्सकलाई देखाउने?

सामान्य चाया चाया प्रतिरोधी स्याम्पुको नियमित प्रयोगबाट नियन्त्रण हुन सक्छ। तर स्याम्पु प्रयोग गर्दा पनि समस्या कम नभएमा चिकित्सकको सल्लाह लिनुपर्छ।

टाउको अत्यधिक चिलाउने, छाला रातो हुने, सुन्निने, घाउ आउने वा कपाल असामान्य रूपमा झर्ने समस्या देखिएमा छाला रोग विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ। कहिलेकाहीँ यस्ता लक्षण सोरायसिस, एक्जिमा वा टाउकोको ढुसी सङ्क्रमणका कारण पनि देखिन सक्छन्। चाया सामान्य समस्या भए पनि यसको सही कारण पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ। आफ्नो टाउकोको छालाको प्रकृतिअनुसार उचित स्याम्पु र हेरचाह अपनाएमा चायाको समस्या नियन्त्रण गर्न सकिन्छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा