सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

२०८३ मंग्सिर ४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बनेपा (काभ्रे), ४ मङ्सिरः काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित लड्केश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीका अवसरमा लाग्ने मेला धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा परिचित छ ।

करिब ३५० वर्ष पुरानो इतिहास बोकेको मानिने यस मेलामा काभ्रेपलाञ्चोकसहित आसपासका विभिन्न जिल्लाबाट भक्तजन दर्शन तथा पूजाआजाका लागि आउने गरेका छन् । गुफाभित्र अवस्थित लड्केश्वर महादेवको दर्शन गर्न आउने भक्तजनको उपस्थितिले मेलास्थलमा छुट्टै रौनक छाउने गर्दछ ।

लड्केश्वर धाम परिसरमा स्थापित १०८ फिट अग्लो शिव त्रिशूल र १०८ शिवधाराले यस क्षेत्रको धार्मिक तथा आध्यात्मिक महिमा थप बढाएको छ । यी धार्मिक संरचनाले धामको विशिष्टता थप बढाउनुका साथै भक्तजनलाई आकर्षित गर्दै आएका छन् । धार्मिक किंवदन्तीअनुसार तत्कालीन राजा भूपतेन्द्र मल्लले लड्केश्वर महादेवको दर्शन तथा पूजाआजा गरेपछि यस क्षेत्रमा मेला लाग्ने परम्परा सुरु भएको मानिन्छ ।

स्थानीय सागर आचार्यका अनुसार मेलाका अवसरमा भक्तजनले महादेवको पूजाआजा गर्नुका साथै भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ । धार्मिक आस्थासँगै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा यस मेलाले महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताउनुभयो । हरिबोधिनी एकादशी भगवान् विष्णुको चातुर्मास शयन समाप्त भई जागरण हुने पवित्र दिनका रूपमा लिइन्छ । यस दिन तुलसी विवाह, व्रत, पूजाआराधना, भजनकीर्तन तथा तीर्थदर्शन गर्ने सनातन परम्परा रहिआएको छ ।

मेलाको धार्मिक तथा सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै पनौती नगरपालिकाले यस अवसरमा स्थानीय बिदासमेत दिँदै आएको छ । नगरप्रमुख रामशरण भण्डारीले संस्कृति संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो । “संस्कृति संरक्षण गर्नु हामी सबैको दायित्व हो । स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख भण्डारीले यस वर्षको मेलामा करिब ५० हजार भक्तजन सहभागी हुने अनुमान गरिएको बताउनुभयो । धार्मिक विश्वास, ऐतिहासिक महत्व र प्राकृतिक सुन्दरताले भरिपूर्ण लड्केश्वर क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उहाँले बताउनुभयो । पुस्तौँदेखि चल्दै आएको यस मेलाले धार्मिक आस्थालाई जीवन्त राख्नुका साथै नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल

मिथिलाक्षेत्रमा घरआँगनमै छठघाट तयार गरी पर्व मनाउनेक्रम बढ्दै