काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
उनले आगामी मंसिर २६ गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।
शाहीले शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि शाहीसहित विक्रम पाण्डे र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन पनि दाबेदारका रूपमा देखिएका छन्।
यसअघि पनि शाहीले पार्टीको नेतृत्वमा पुग्ने आकांक्षा व्यक्त गर्दै आएका थिए। पार्टीभित्र नेतृत्व परिवर्तन र सांगठनिक सुधारको विषय उठाउँदै आएका उनले यसपटक औपचारिक रूपमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
मंसिर २६ गतेदेखि हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।
