काठमाडौँ, ४ मङ्सिर: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमण उपचारमा चुनौती थप्नुका साथै स्वास्थ्य प्रणालीमा आर्थिक भार बढाउँदै लगेको बताउनुभएको छ ।
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह २०२६ को अवसरमा आज स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमणको उपचार कठिन बनाउनुका साथै उपचार खर्च बढाउने बताउनुभएको हो ।
उहाँले यसको नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहसम्म समन्वित प्रयास आवश्यक रहेको बताउनुभयो ।
एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि औषधिको विवेकपूर्ण प्रयोग, प्रभावकारी नियमन र स्वास्थ्य, कृषि तथा पशुपन्छी क्षेत्रबीच समन्वय आवश्यक रहेको मन्त्री मेहताले बताउनुभयो । उहाँले भन्नुभयो, “एएमआर कुनै एक क्षेत्रको मात्र समस्या नभई मानव, पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग जोडिएको साझा चुनौती बनेको छ ।”
कार्यक्रममा मन्त्री मेहताले ‘नेपालका अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगसम्बन्धी सर्वेक्षण’ दस्तावेज सार्वजनिक गर्नुभयो । यस अध्ययनले अस्पतालहरूमा औषधि प्रयोग तथा चिकित्सकीय सिफारिसको अभ्यासबारे व्यवस्थित तथ्याङ्क सङ्कलन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै सर्वेक्षणले अस्पतालमा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोग प्रवर्द्धन गर्न तथा प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
मन्त्री मेहताले एएमआर नियन्त्रणका लागि औषधिको प्रयोगमा नियामकीय निगरानी कडा बनाउनुका साथै खोप, सङ्क्रमण रोकथाम तथा नियन्त्रण र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताका अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह यस वर्ष ‘एक स्वास्थ्य, एक अभियान: प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
