सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

२०८३ मंग्सिर ४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ४ मङ्सिर : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) डा मनोजकुमार केसीले प्रहरी कर्मचारीका गुनासा तथा पीरमर्का प्रत्यक्ष रूपमा सुन्न र सम्बोधन गर्न स्थापना गरिएको केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको उद्घाटन गर्नुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा आइजीपी केसीले डेस्कको औपचारिक उद्घाटन गर्नुभएको हो । उहाँले नेपाल प्रहरीको सियुजी सेवामा आबद्ध प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फारामको लिङ्क पठाउनुभएको थियो । साथै, एक जना प्रहरी कर्मचारीको टेलिफोनमार्फत गुनासोसमेत सुन्नुभएको थियो ।

प्रहरी सङ्गठनको आधारस्तम्भका रूपमा रहेका तल्लो तहका कर्मचारीहरूको पेशागत जीवनलाई सुरक्षित, सम्मानित, मर्यादित र न्यायपूर्ण बनाउने उद्देश्यले डेस्क स्थापना गरिएको नेपाल प्रहरीले जनाएको छ । कार्यक्षेत्रमा कर्मचारीले भोग्नुपरेका समस्या, कठिनाइ, विभेद तथा अन्य गुनासालाई सहज र प्रभावकारी रूपमा सम्बोधन गर्न डेस्कले काम गर्नेछ ।

आइजीपी केसीले आधारभूत तहका प्रहरी कर्मचारीका गुनासा विभिन्न तह पार गर्दै नेतृत्वसम्म पुग्न कठिन हुने अवस्थालाई ध्यानमा राखेर छिटो र प्रभावकारी रूपमा समस्या समाधान गर्ने उद्देश्यले डेस्क स्थापना गरिएको बताउनुभयो ।

उहाँले आधारभूत तहका प्रहरी कर्मचारी सङ्गठनको महत्त्वपूर्ण स्तम्भ भएको उल्लेख गर्दै सडकदेखि सीमासम्म, प्रहरी कार्यालयदेखि विपद् घटनास्थलसम्म नागरिकले प्रत्यक्ष रूपमा देख्ने र महसुस गर्ने प्रहरीको वास्तविक अनुहार उनीहरू नै भएको बताउनुभयो ।

आधारभूत तहका कर्मचारी सन्तुष्ट नभएसम्म नागरिकले गुणस्तरीय र प्रभावकारी प्रहरी सेवा प्राप्त गर्न कठिन हुने उहाँको भनाइ थियो । प्रहरी कर्मचारीका गुनासाको प्रभावकारी सम्बोधन समग्र सङ्गठनको कार्यसम्पादनसँग जोडिएको उल्लेख गर्दै आइजीपी केसीले यो डेस्क गुनासो दर्ता गर्ने स्थान मात्र नभई नेतृत्व तह र आधारभूत तहका कर्मचारीबीच विश्वासको सेतुका रूपमा स्थापित हुनुपर्ने बताउनुभयो ।

उहाँले गुनासोकर्ताको गोपनीयतालाई विशेष प्राथमिकता दिँदै प्रत्येक गुनासालाई गम्भीरतापूर्वक लिन र निष्पक्ष रूपमा सम्बोधन गर्न डेस्कमा खटिएका कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । नेपाल प्रहरीको कूल जनशक्तिमध्ये ८२ प्रतिशतभन्दा बढी आधारभूत तहका कर्मचारी रहेको तथ्यलाई मध्यनजर गर्दै प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी डेस्क स्थापना गरिएको हो ।

डेस्क स्थापनाको मुख्य उद्देश्य आधारभूत तहका प्रहरी कर्मचारीलाई आफ्ना जायज गुनासा स्वस्फूर्त रूपमा राख्न सक्ने वातावरण निर्माण गर्नु, सहज, पहुँचयोग्य, गोप्य र निष्पक्ष गुनासो व्यवस्थापन प्रणाली विकास गर्नु तथा प्राप्त गुनासाको प्रमाणमा आधारित शीघ्र सम्बोधन गर्नु रहेको छ ।

गुनासो सम्बोधन गर्ने संयन्त्रलाई प्रभावकारी बनाउने, सुपरिवेक्षक तथा जिम्मेवार अधिकारीको जवाफदेहिता बढाउने र सङ्गठनभित्र दोहोरिरहने समस्या तथा प्रणालीगत कमजोरी पहिचान गरी नीतिगत, प्रशासनिक र कल्याणकारी सुधारका उपाय अवलम्बन गर्नु पनि डेस्कको उद्देश्य रहेको छ ।

कार्यक्रममा केन्द्रीय गुनासो व्यवस्थापन डेस्कका संयोजक प्रहरी उपरीक्षक गोविन्द पुरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । साथै, सातवटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरीका प्रदेश कार्यालय, प्रहरी शिक्षालय, तालिम केन्द्र, जिल्ला प्रहरी परिसर तथा कार्यालयलगायत विभिन्न प्रहरी एकाइका प्रमुख र प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना