झापा, ६ मङ्सिर । त्रिभुवन आर्मी फुटबल क्लबले दोस्रो झापा महिला गोल्डकपमा फराकिलो जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ। शिवसताक्षीस्थित दुधे रंगशालामा आइतबार भएको क्वाटरफाइनलमा आर्मीले भारतको गयेसपुर महिला फुटबल एकेडेमीलाई १०–० गोलले पराजित गर्यो।
आर्मीको जितमा चन्द्रा भण्डारी र हेमा चौधरीले ह्याट्रिक पूरा गरे। त्यस्तै सुक्रिया मियाले दुई तथा जेनिफर राना मगर र दीपा शाहीले एक–एक गोल गरे।
खेलको पाँचौँ मिनेटमै चन्द्राले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन्। उनले १६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्। त्यसको दुई मिनेटपछि हेमाले गोल थप्दै आर्मीको अग्रता फराकिलो बनाइन्। सुक्रियाले ३३औँ मिनेटमा गोल गर्दा चन्द्राले ४३औँ मिनेटमा आफ्नो तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
पहिलो हाफको अन्त्यतिर पनि आर्मीले गोल गर्ने क्रम जारी राख्यो। ४४औँ मिनेटमा हेमाले हेडमार्फत गोल गरिन् भने अतिरिक्त समयमा सुक्रियाले व्यक्तिगत दोस्रो गोल गरिन्। दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै हेमाले अर्को गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन्।
त्यसपछि जेनिफरले ७९औँ मिनेटमा र दीपा शाहीले ८९औँ मिनेटमा गोल थपेपछि आर्मीले १०–० को प्रभावशाली जित दर्ता गर्यो।
उत्कृष्ट प्रदर्शन गरेकी चन्द्रा प्लेयर अफ द म्याच घोषित भइन्। उनले रु १५ हजार पुरस्कार प्राप्त गरिन्। कतारमा रहेका तेक्वान्दोका पूर्वराष्ट्रिय खेलाडी ज्याकी चानले पनि चन्द्रालाई प्रोत्साहनस्वरूप थप रु १५ हजार प्रदान गरेका छन्।
यससँगै आर्मी प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ। यसअघि उद्घाटन खेलमा झापाकी सजिना स्याङताङले ह्याट्रिकसहित चार गोल गर्दै आफ्नो टोलीलाई अघि बढाएकी थिइन्।
प्रतियोगिताअन्तर्गत सोमबार हुने तेस्रो क्वाटरफाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब र भुटानको थिम्पू राभेन महिला फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
दोस्रो झापा महिला गोल्डकपको विजेताले रु ११ लाख तथा उपविजेताले रु ५ लाख ५० हजार पुरस्कार पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु १ लाख ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही रु २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
