सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चलचित्र विधेयकमाथि सैद्धान्तिक छलफल

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ७ मङ्सिर : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलचित्र विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको छ । चलचित्र क्षेत्रलाई समयानुकूल विकास गर्दै उद्योगका रूपमा स्थापित गर्ने, नयाँ प्रविधि र सङ्घीय संरचनाअनुसार कानुनी व्यवस्था गर्ने तथा चलचित्रकर्मीका अधिकार र क्षेत्रका विद्यमान समस्या सम्बोधन गर्न अघि बढाउने गरी विधेयक समितिको आजको बैठकमा छलफल गरिएको हो ।

सरकारले विसं २०२६ देखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई प्रतिस्थापन गर्दै चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन, नियमन र व्यावसायिक विस्तारका लागि नयाँ विधेयक अघि बढाएको हो । चलचित्रलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी सामाजिक, सांस्कृतिक, सिर्जनशील तथा आर्थिक योगदान गर्ने उद्योगका रूपमा विकास गर्ने उद्देश्य विधेयकले राखेको छ ।

समितिका सभापति डा ओजस्वी शेरचनले चलचित्र क्षेत्रका सरोकारवालासँग गहन छलफल गरी विधेयकलाई थप परिष्कृत बनाइने बताउनुभयो ।
चलचित्रले नेपालको भाषा, संस्कृति, पहिचान र राष्ट्रिय हित प्रवर्द्धन गर्ने भएकाले यसको विकास र संरक्षणलाई ध्यान दिएर आवश्यक कानुनी व्यवस्था गरिने उहाँको भनाइ थियो ।

बैठकमा सांसद डा लेखजङ्ग थापाले चलचित्र विकास बोर्डलाई थप स्वायत्त र अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । चलचित्र संस्कृति र पहिचानको महत्वपूर्ण क्षेत्र भएकाले अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सेन्सरसीपलाई थप व्यवस्थित गर्ने कानुनी आधार तथा चलचित्रकर्मीको सामाजिक सुरक्षाका विषय विधेयकमा समेटिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

सांसद रमेशकुमार मल्लले चलचित्र क्षेत्रका वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने गरी नयाँ कानुन बनाउनुपर्ने बताउनुभयो । नेपालमा चलचित्र क्षेत्रको ठूलो सम्भावना भए पनि त्यसलाई व्यवहारमा उपयोग गर्न नसकिएको उल्लेख गर्दै पर्यटन र चलचित्र उद्योगलाई एकीकृत रूपमा विकास गर्न आवश्यक कानुनी तथा पूर्वाधार तयार गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद डा तोसिमा कार्कीले चलचित्रलाई बहुआयामिक क्षेत्रका रूपमा हेर्नुपर्ने बताउनुभयो । नेपाली चलचित्रको उपलब्धता सहज बनाउने, स्वदेशी चलचित्रको प्रदर्शन तथा प्रवद्र्धन गर्ने र चलचित्रले प्रदर्शनका लागि हल नपाउने समस्याको समाधान गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । नेपाली चलचित्रको बजार, दर्शकको रुची तथा विदेशी चलचित्रको प्रभावबारे पनि अध्ययन गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद गणेश पौडेलले चलचित्र क्षेत्रका विद्यमान समस्या पहिचान गरी कानुनमा आवश्यक सुधार गर्नुपर्ने बताउनुभयो । भाषा, संस्कृति र पर्यटनलाई विश्व समुदायमा पुर्‍याउन चलचित्र महत्वपूर्ण माध्यम भएकाले त्यसबाट नेपालले लाभ लिन सक्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । चेतनामूलक, शिक्षामूलक तथा सन्देशमूलक चलचित्रको प्रवर्द्धन र व्यावसायिक रूपमा सफल चलचित्र निर्माणका साथै नयाँ प्रविधिबाट लाभ लिन आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद डा अच्युतम लामिछानेले चलचित्रकर्मीको पारिश्रमिक, सामाजिक सुरक्षा, शारीरिक तथा मानसिक हिंसा, दुर्घटना र बिमासम्बन्धी विषयलाई कानुनले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

चलचित्र क्षेत्रमा श्रमिकको अधिकार र सुरक्षाका विषय पटकपटक उठ्ने गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।
सांसद पुकार बमले चलचित्र क्षेत्रलाई उद्योग र पर्यटनसँग मात्र नभई संस्कारका रूपमा पनि हेर्नुपर्ने बताउनुभयो । नेपाली चलचित्रले अन्तरराष्ट्रिय बजारमा पर्याप्त उपस्थिति जनाउन नसकेको उल्लेख गर्दै त्यसको प्रवद्र्धन र बजार विस्तारमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
सांसद प्रभा ढकालले चलचित्र पाइरेसी बढ्दै गएको उल्लेख गर्दै त्यसको नियन्त्रण तथा नियमनका लागि विधेयकमा प्रभावकारी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

विधेयकमा चलचित्र विकास बोर्डलाई थप स्वायत्त र अधिकार सम्पन्न बनाउने, चलचित्र निर्माण, वितरण तथा प्रदर्शनलाई व्यवस्थित गर्ने र बोर्डको नियमनकारी भूमिका सुदृढ गर्ने प्रस्ताव गरिएको छ । चलचित्र क्षेत्रमा बक्स अफिस प्रणालीलाई अनिवार्य तथा व्यवस्थित गरी टिकट बिक्री, आम्दानी, कर, प्रदर्शन अवधि र दर्शकको रुचीसम्बन्धी विवरण पारदर्शी बनाउने व्यवस्था पनि विधेयकमा समेटिएको छ ।

त्यस्तै, चलचित्रकर्मीको श्रम अधिकार र सामाजिक सुरक्षा, मातृभाषाका चलचित्रको प्रवद्र्धन, आदिवासी जनजाति समुदायका कलात्मक तथा बौद्धिक चलचित्रको संरक्षण, स्वदेशी चलचित्रको बजार विस्तार, विदेशी लगानी आकर्षण र नयाँ प्रविधिको प्रयोगलाई व्यवस्थित गर्ने विषयलाई विधेयकले प्राथमिकता दिएको छ ।

नेपाललाई अन्तरराष्ट्रिय चलचित्र छायाङ्कन तथा निर्माणको आकर्षक गन्तव्य बनाउने, चलचित्रमार्फत पर्यटन प्रवद्र्धन गर्ने, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनअघि अनिवार्य जाँचको व्यवस्था गर्ने र नेपाली चलचित्रको अन्तरराष्ट्रियकरणमा सहयोग पुर्‍याउने लक्ष्य पनि विधेयकमा राखिएको छ ।

नेपालको संविधान, राष्ट्रिय आमसञ्चार नीति २०७३ र राष्ट्रिय चलचित्र नीति २०७१ लाई आधार बनाएर विधेयक तयार गरिएको जनाइएको छ । नयाँ ऐन कार्यान्वयनमा आएपछि चलचित्र निर्माण, वितरण तथा प्रदर्शन व्यवस्थित हुने, आर्थिक कारोबारमा पारदर्शिता र जवाफदेहिता बढ्ने तथा नेपाली चलचित्रलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा सिर्जनशील, सांस्कृतिक र व्यावसायिक उद्योगका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरान तनावबारे रुबियो र कतारी प्रधानमन्त्रीबीच वार्ता

प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार

जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुर्व्यवहार हुने गरेको गुनासो

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना