भक्तपुर । सरकारले भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई दुई दिनभित्र हट्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय, भक्तपुरले सूचनामार्फत बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई यही मंसिर ११ गते दिउँसो २ बजेभित्र खाली उर्दी जारी गरेको हो ।
प्रशासनले सूचनामा भूमि समस्या समाधान समितिको बुधबारकै पत्रको हवाला दिँदै होल्डिङ सेन्टर खाली गर्न भनेको छ । काठमाडौं उपत्यकाका नदी किनारका बस्ती हटाइएपछि विस्थापित सुकुम्बासी परिवारलाई अस्थायी रूपमा यहाँ व्यवस्थापन गरिएको थियो । सूचनामा उल्लेख भएअनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणमा घरमूली वा निजका परिवारका सदस्यहरूको नाममा जग्गा रहेको देखिएका सात परिवार भूमिहीन नठहरिने भएका छन् ।
त्यस्तै, जग्गा नदेखिएका १२ परिवारका हकमा सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने प्रयोजनका लागि कारबाही अगाडि बढी निस्सासमेत प्राप्त भइसकेको सिडियोद्वारा जारी सूचनामा उल्लेख छ । प्रशासनले जग्गा नदेखिएका परिवारहरूलाई आ–आफ्नो निस्सा लिन र सरकारले घरभाडास्वरूप तोकिदिएको सुविधा बुझ्न भनेको छ ।
सुकुम्बासीहरूलाई भूमिहीनको निस्सा दिएर होल्डिङ सेन्टर छाड्न भनिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो । ‘बोडेमा १९ परिवार बसेका छन्, सात परिवार भूमिहीनमा नपरेको पाइएको छ, बाँकी १२ परिवारलाई भूमिहीनको निस्सा दिएर होल्डिङ सेन्टर छाड्न भनिएको हो’, उहाँले भन्नुभयो । उनीहरूलाई एक महिनाको घरभाडासमेत दिएर शुक्रबार दिउँसो २ बजेभित्र होल्डिङ सेन्टर छाड्न भनिएको उहाँको भनाइ छ ।हिमालय टाइम्स
