सदाबहार खबरको रफ्तार ....
मंग्सिर ८, २०८३ मंगलबार
November 24, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जेनजीका मुद्दा छुट्टै छानबिन गर्न अध्यादेश

२०८३ मंग्सिर ८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित मुद्दाको छुट्टै छानबिन गर्न लागेको छ । यसका साथै प्रभावित र पीडितलाई क्षतिपूर्ति र परिपूरण उपलब्ध गराउन आयोग गठन गर्ने गरी अध्यादेश ल्याइँदै छ ।

यससम्बन्धी तयार अध्यादेश जारी गर्न मन्त्रिपरिषद्ले राष्ट्रपति कार्यालयमा पठाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने संवैधानिक व्यवस्था छ । संघीय संसद्का दुवै सदनको अधिवेशन चालु नरहेको अवस्थामा तत्काल कानुनी व्यवस्था आवश्यक भए मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था संविधानमा छ । अध्यादेश जारी भएपछि ऐनसरह लागू हुनेछ ।

२३ र २४ भदौ २०८२ मा जेनजी आन्दोलन भएको थियो । त्यसक्रममा भएका घटनासँग सम्बन्धित मुद्दालाई थप छानबिन गर्ने, पीडित तथा प्रभावितलाई क्षतिपूर्ति उपलब्ध गराउने र सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण बनाउने उदेश्यले अध्यादेश ल्याउन लागिएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ । अध्यादेश जारी भएपछि गम्भीर अपराधबाहेकका मुद्दालाई छिटो र व्यवस्थित रूपमा टुंग्याउने कानुनी आधार तयार हुने सरकारको अपेक्षा छ ।

आन्दोलनपछि उत्पन्न घटनाका सम्बन्धमा हाल देशका ३३ जिल्लामा ४४५ मुद्दा दर्ता भएका छन् । ती मुद्दामा १ हजार ८८७ जना प्रतिवादी रहेको विवरण सरकारले यसअघि सार्वजनिक गरेको थियो । कतिपय प्रतिवादी फरार छन् भने केही थुनामा र केही धरौटी वा तारेखमा छुटेका छन् ।

यसअघि जेनजी आन्दोलनमा सहभागी भएका कारण पक्राउ परेकाहरूको मुद्दा फिर्ता लिन सकिने/नसकिने विषय अध्ययन गर्न उच्च अदालतका पूर्वन्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा समिति गठन गरिएको थियो । समितिले ४४५ मुद्दाका एक हजार ७७८ प्रतिवादीमध्ये ३०० जनाको मुद्दा फिर्ता लिन सकिने राय दिएको थियो ।

अध्ययन समितिको निष्कर्षअनुसार आन्दोलनमा सहभागी भएकै आधारमा मुद्दा चलाइएको अवस्थामा मुद्दा फिर्ता लिन सकिने भए पनि हत्या, ज्यान मार्ने उद्योग, हातहतियार लुटपाट तथा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा क्षति पुर्‍याउनेजस्ता गम्भीर कसुरमा संलग्न आरोपितको मुद्दा फिर्ता लिन कानुनी बाधा छ । थप मुद्दा फिर्ता लिनुपर्ने भए कानुन संशोधन आवश्यक पर्ने सुझावसमेत समितिले दिएको थियो ।

सरकारले अहिले अघि बढाएको अध्यादेशले त्यस्ता मुद्दाको थप छानबिन र निरूपणका लागि छुट्टै आयोग गठन गर्ने व्यवस्था प्रस्ताव गरेको छ । अध्यादेश जारी भएसँगै आयोग गठन गरिनेछ । आयोगमा अध्यक्षसहित तीन सदस्य रहने प्रस्ताव छ । उच्च अदालतको न्यायाधीश भइसकेको वा न्यायाधीश बन्न योग्यता पुगेको व्यक्ति आयोगको अध्यक्ष बन्न सक्ने व्यवस्था प्रस्तावित छ ।

आयोगको कार्यावधि नियुक्त भएको मितिदेखि तीन महिनाको हुने प्रस्ताव छ । निर्धारित अवधिमा काम सम्पन्न नभए सरकारले म्याद थप गर्न सक्नेछ । आयोगले आन्दोलनसँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दा संकलन गर्ने, प्रहरीमा अनुसन्धान भइरहेका उजुरी संकलन गर्ने, घटनामा संलग्न पक्ष र क्षतिको थप यकिन गर्ने तथा पीडित र प्रतिवादीबीच मेलमिलाप गराउने काम गर्ने प्रस्ताव अध्यादेशमा छ । गम्भीर अपराधका मुद्दाको निरूपण भने आयोगले गर्ने छैन ।

सरकारले अघि बढाएको यो अध्यादेश १० बुँदे सम्झौताको कार्यान्वयनसँग जोडिएको छ । २०८२ मंसिर २५ मा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौतामा आन्दोलनका क्रममा भएका घटनाको छानबिन, आन्दोलनमा सहभागी भएकै कारण फौजदारी अनुसन्धान वा अभियोजन नगरिने, गम्भीर अपराधमा संलग्न नदेखिएका व्यक्तिलाई थुनामुक्त गर्न र मुद्दा फिर्ता लिन सरकारलाई सिफारिस गर्ने व्यवस्था उल्लेख थियो ।

सम्झौतामा आन्दोलनका क्रममा ज्यान गुमाएकालाई सहिद घोषणा, घाइते तथा सहिद परिवारलाई क्षतिपूर्ति, उपचार, शिक्षा, रोजगारी र सामाजिक सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता पनि थियो । आन्दोलनलाई जनआन्दोलनका रूपमा स्वीकार गर्दै त्यसका राजनीतिक, सामाजिक र संरचनात्मक कारण सम्बोधन गर्ने विषयसमेत सम्झौतामा समेटिएको थियो ।

अध्यादेश जारी भएमा आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित मुद्दाको छानबिन, क्षतिको यकिन, पीडितलाई क्षतिपूर्ति तथा परिपूरण र मुद्दाको शीघ्र निरूपणका लागि छुट्टै आयोग गठन गर्ने कानुनी बाटो खुल्नेछ ।मध्यान्ह दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चलचित्र क्षेत्रमा विदेशी लगानी खुला गर्ने बहस

भिड नियन्त्रणका लागि शक्तिशाली गण स्थापना गर्दै प्रहरी

भारत भ्रमणको उपलब्धि

जनसम्बन्ध विस्तारमा नयाँ आयाम

सर्वोच्चमा मुद्दाको चाप घटाउन क्षेत्राधिकार कटौतीको प्रस्ताव

बढ्यो घरजग्गा कारोबार

चुनौतीपूर्ण बन्दै साइबर अपराधको जालो

हप्तामै साढे २६ हजारले घट्यो सुन

फर्जी विद्यार्थी प्रकरण ठुला विद्यालय मन्त्रालयको निगरानीमा

वाम एकताको बहस फेरि सतहमा

स्थानीय तहमा हुन सकेन ‘ओएनएम’

प्रधानमन्त्रीको भ्रमणलाई भारतको ‘विशेष कूटनीतिक महत्व’