काठमाडौं : १५औं महाधिवेशनबाट नयाँ नेता र नीति तय गरेको नेपाली कांग्रेसले आफ्नो नीति–कार्यक्रम र संकल्पलाई नागरिकस्तरमा पुर्याउन ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्दै छ । यही मंसिर १५ देखि पुस ५ गतेसम्म सञ्चालन गरिने कार्यक्रममार्फत पार्टी र नागरिक जोड्ने योजनासहित केन्द्रीयतहका नेताहरू ७५३ स्थानीय तहमा पुग्दै छन् ।
मंगलबारबाट प्रारम्भ भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा ‘हामी तयार छौं’ अभियानको अवधारणा तथा कार्ययोजना प्रस्तुत भएको छ । पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले तयार पारेको प्रस्तावअनुसार अभियान २०८३ मंसिर १५ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन गरिनेछ । १५औं महाधिवेशनको दस्ताबेजलाई मूल आधार मानेर अभियानका क्रममा तीनवटा मुख्य विषयमा संवाद र अभिमुखीकरण गरिने वरिष्ठ उपसभापति शर्माले पेस गरेको कार्ययोजनामा उल्लेख छ ।
असोज १८–२३ मा भएकोे १५औं महाधिवेशनपछि पार्टीलाई आधुनिक, गतिशील र समयसापेक्ष बनाउने नयाँ योजनामा कांग्रेसको छ । कांग्रेसले नागरिकमा आशा जगाउने र आशा पूरा गर्ने जिम्मेवारीसहित वर्तमान समस्याको समाधानतर्फ जानुपर्ने निष्कर्ष निकालेको छ । कांग्रेसको नयाँ नेतृत्वमाथि थुप्रै चुनौती छन् । एकातिर पार्टीको आन्तरिक किचलो र अर्कोतिर शक्तिशाली बहुमतको सरकारबाटै हुँदै आएको प्रहारलाई थामेर नागरिकमा नयाँ उत्साह जगाउनुपर्ने दायित्व नेतृत्वमाथि छ । प्रमुख प्रतिपक्षी दलको भूमिकामाथि समेत प्रश्न उठिरहेका छन् । कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका सडकदेखि सदनसम्म देखिने र सुनिने बनाउन नसकेको आरोप खेप्दै आएको छ । भूमिका अझै सशक्त बनाउनका लागि पनि ‘हामी तयार छौं’ अभियानमार्फत सरकारको खबरदारी गर्न सकिने नेताहरूले बताएका छन् ।
विशेष महाधिवेशनबाट उत्कर्षमा पुगेको आन्तरिक विवादकैबीच सम्पन्न १५औं नियमित महाधिवेशनमा शेरबहादुर देउवापक्ष सहभागी भएन । उनीहरूले समानान्तर महाधिवेशन गरिरहेका छन् । पालिका, क्षेत्र र जिल्ला हुँदै प्रदेश अधिवेशन गरिरहेको संस्थापनइतर समूहले मंसिर २१–२३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यातालिका तय गरेको छ । यो अवस्थामा पार्टीलाई एकताबद्ध गरेर जनतामाझ बलियो कांग्रेस र बदलिँदो नीति कार्यक्रमसहित जानुपर्नेमा पार्टीभित्रका अवरोध हटाउन वर्तमान नेतृत्वलाई चुनौति रहेको कांग्रेसका नेताहरूले बताएका छन् ।
यद्यपि गगन थापा राजनीतिक आन्दोलनबाटै उदाएको नेता भएकाले उनले पार्टीभित्र देखापरेका राजनीतिक समस्या हल गर्दै जानसक्ने कांग्रेसका सहमहामन्त्री अजय शिवाकोटीको दाबी छ । ‘यावत् चुनौतीलाई चिर्दै १५औं महाधिवेशनबाट पारित नीति, कार्यक्रम, संकल्प र सन्देश पार्टीका प्रत्येक सदस्यसम्म पुर्याउने अभियानमा छौं,’ उनले भने, ‘महाधिवेशनबाट आगामी पाँच वर्षका लागि आएको नेतृत्वले पार्टीभित्र र बाहिर देखिएका अवरोध हटाउँदै जनआकांक्षाअनुरूप पार्टी हाँक्न सक्षम छ ।’ केन्द्रीय समिति बैठकमा पार्टीको संशोधित विधान, नयाँ सांगठनिक व्यवस्था र कार्यप्रणालीबारे सदस्यहरूलाई अभिमुखीकरण विषयमा छलफल हुँदै गरेको सहमहामन्त्री शिवाकोटीले बताए ।
हामी तयार छौं अभियानमाफर्त आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया तथा प्राइमरी निर्वाचनको तयारी प्रारम्भ गर्ने विषयसमेत राखिएको छ । त्यस्तै, पार्टीपंक्तिमा आत्मविश्वास, जिम्मेवारीबोध र कार्यसम्पादनप्रतिको प्रतिबद्धता अभिवृद्धि गर्ने, नागरिकका समस्या, अपेक्षा, सुझाव र स्थानीय जनसरोकारका विषय पहिचान गरी पार्टीको नीति निर्माण तथा प्रतिपक्षी भूमिकालाई बलियो बनाउने अभियानको मूल ध्येय हुने कांग्रेसले जनाएको छ ।
अभियानका क्रममा राष्ट्रिय पुनर्जागरण र समुन्नतिको संकल्पबारे नागरिकसँग छलफल गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । रोजगारी, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सुशासन र सार्वजनिक सेवाका चुनौतीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गरी स्थानीय तहबाट प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रमसँग जोड्ने उद्देश्य रहेको उनको भनाइ छ । प्रमुख प्रतिपक्षको संवैधानिक र राजनीतिक जिम्मेवारी निर्वाह गर्ने विषयलाई विश्वप्रकाश शर्माले कार्ययोजनामा समेटेका छन् । ‘सरकारका सकारात्मक काममा समर्थन गर्ने, तर लोकतन्त्र, संविधान, विधिको शासन, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक संस्थाको स्वायत्ततामा आँच पुग्ने कदमप्रति निरन्तर खबरदारी गरिनेछ,’ शर्माले भनेका छन् । आधुनिक, व्यवस्थित र उत्तरदायी संगठन निर्माणका लागि संशोधित विधान, प्राइमरी निर्वाचन प्रणाली, नेतृत्व विकास प्रतिष्ठान, सुशासन प्रतिष्ठान, निर्वाचन ब्युरो र सदस्यता व्यवस्थापनको आधुनिकीकरणबारे अभियानले स्पष्ट पार्ने कांग्रेसको अपेक्षा छ ।
अभियान अवधिभर देशभरका सबै गाउँपालिका र नगरपालिकामा पाँच प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना छ । त्यस्तै, केन्द्रीय प्रतिनिधिको उपस्थितिमा बैठक बसी अभियानको कार्यतालिका तय गर्ने, पदाधिकारीको विधानअनुसारको जिम्मेवारी र आचारसंहिताबारे जानकारी गराउने तथा स्थानीय सांगठनिक समस्यामाथि छलफल गर्ने, विधानअनुसार स्थानीय तहका सदस्यहरूको सहभागितामा प्राइमरी निर्वाचनमार्फत उम्मेदवार छनोट गर्न आवश्यक आधार तयार पार्ने, स्थानीय तहको आधिकारिक जनसंख्या, आर्थिक र सामाजिक तथ्यांक तयार पार्ने तथा प्राइमरी निर्वाचनको तयारीमा समेत अभियानले काम गर्नेछ । अभियान सञ्चालनका लागि ७५३ वटै स्थानीय तहमा एक–एकजना केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेसको तयारी छ । त्यसरी खटेका केन्द्रीय प्रतिनिधि अभियान अवधिभर अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहमै रहनुपर्नेछ भने प्रतिनिधिको भूमिका निर्देशन दिनेमा मात्र सीमित नभई स्थानीय संरचनाका कुरा सुन्ने, समस्या बुझ्ने र सुझाव केन्द्रसम्म पुर्याउने रहेको छ ।
उत्साहित संस्थापन, अन्योलमा देउवा समूह
१५औं महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मंगलबार अद्यावधिक गरेको छ । योसँगै नेपाली कांग्रेस संस्थापन पक्ष उत्साहित छ । तीन हप्ताअघि नै अध्यावधिकका लागि आयोग पुगेको कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको अध्यावधिक गर्न ढिला गरेपछि संस्थापनइतर (देउवा) पक्ष उत्साहित थियो । तर, आवश्यक कागजात अध्ययन सकेर आयोगले कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिलाई अध्यावधिक गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगले नयाँ कार्यसमितिलाई अद्यावधिक गरे पनि कांग्रेसभित्रको किचलो भने कायमै छ । गत पुस अन्तिम साता विशेष महाधिवेशन भएपछि सुरु भएको कांग्रेस विवाद अझै समाधान हुन सकेको छैन । पूर्वसभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला समूहले त्यो विशेष महाधिवेशन र त्यही विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको समितिले गरेको १५औं महाधिवेशन अस्वीकार गर्दै सहभागी भएनन् ।
देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा आयोजन गर्ने गरी समानान्तर महाधिवेशनको घोषणा गरेको छ । देउवा समुहका नेता एनपी साउदले भने, ‘हामी नियमित महाधिवेशन पक्षधरले १५औं महाधिवेशन कार्यतालिकाअनुसार गरिरहेका छौं ।’ विशेष महाधिवेशन विधि सविधानविपरीत रहेकाले त्यो मान्नुहुँदैन भन्ने र कांग्रेसलाई जटिल परिस्थितिमा पनि बचाएर राखेका नेता कार्यकर्ता आफूहरूसँगै रहेको साउदको दाबी छ ।
गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले अध्यावधिकसहित आधिकारिकता दिइसकेको अवस्थामा देउवा समूहले कुन हैसियत र के नाममा महाधिवेशन गर्छ ? भन्ने प्रश्न उठेको छ । यद्यपि निर्वाचन आयोगको निर्णयपछि पनि पनि आफूहरू पूर्वघोषित कार्यतालिकाबाट पछि नहट्ने सो समूहको भनाइ छ । यसरी कांग्रेसको झण्डा र चुनाव चिह्नमा महाधिवेशन गर्न लागेका नेताहरूमाथि संस्थापन पक्षले कारबाही गर्ने संकेत गरेको छ । निर्वाचन आयोगबाट आधिकारिकताको प्रमाणपत्र पाइसकेको अवस्थामा अब पार्टीको नाम र झण्डा दुरुपयोग गरेर समानान्तर गतिविधि हुन नदिने र गैरकानुनी रूपमा गतिविधि गर्नेमाथि कारबाही हुने सहमहामन्त्री प्रतिमा गौतमले बताइन् । मंगलबारदेखि चालु पार्टीको बैठकमा समानान्तर महाधिवेशनका नाममा देउवापक्षमा लागेका जनप्रतिनिधिलाई फिर्ता बोलाउनुपर्ने विषयमा छलफल भएपछि देउवा पक्षमा लागेका स्थानीय तहदेखि राष्ट्रिय सभा सम्मका जनप्रतिनिधिहरू तरंगित छन् ।मध्यान्ह दैनिकबाट
