काठमाडौं, १० मंसिर । कांग्रेस सांसद अर्जुननरसिंह केसी सुकुम्बासीको व्यवस्थापन नगरी उनीहरूमाथि सरकारी रवैयाप्रति आक्रोशित भएका छन् । सरकारले भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई अविलम्ब छाड्न निर्देशन दिएपछि केसीले त्यसको विरोध गरेका छन् ।
‘भोटेकोशी (रसुवा–नुवाकोट) बाढीपीडितको महासंकट जस्ताको तस्तै छ। डोजर लगाएर उठिबास गराइएका सुकुमवासी परिवार सात महिनादेखि बासी खाना, उपचार अभाव र अनिश्चितताको अन्योलमा छन्। सरकारी निकायहरू एकअर्कामाथि जिम्मेवारी पन्छाउँदै खाली गर्ने उर्दी जारी गरिरहेका छन्, जसले आवास, स्वास्थ्य र शिक्षा जस्ता संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूलाई कुण्ठित गरेको छ,’ उनले लेखेका छन् ।
सात महिनादेखि बिरामी, वृद्ध र बालबालिकालाई बासी खाना र उपचार अभावमा तड्पाएर विकल्पबिना होल्डिङ सेन्टर खाली गर्न उर्दी जारी गर्नु राज्यको क्रूरताको चरम नमूना भएको उनको भनाइ छ । ‘उठिबास गराइएपछि स्थायी बसोबासको व्यवस्था नगरी, १५ दिनभित्र मिलाउने वाचा बिर्सेर नागरिकलाई शरणार्थी बनाउने सरकारलाई लाज लाग्नुपर्छ,’ उनले भनेका छन् ।
नेता केसीले यही सिलसिलामा कैयौं बेघरबार बनाइएकाहरूको मृत्युसम्बन्धी हृदयविदारक समाचारहरुमा आएको उल्लेख गर्दै उपचार, डाइलासिस र औषधिको अभावमा गम्भीर बिरामी तथा वृद्धवृद्धा, बालबालिकाको ज्यान जोखिममा परेको र राज्यले मर्न छाडेको पीडा व्यक्त गरिरहेको जनाएको छन् ।
‘ठुलो दुन्दुभि मच्चाएर पृयताबादको आड्मा अत्यधिक बहुमत प्राप्त शक्तिशाली सरकार सुकुम्बासी समस्यालाई पन्छाएर के हेरेर बसेको छ ? तत्काल अन्तरिम राहत र जरुरी स्वास्थ्यसेवा, वैकल्पिक बास र पीडितका छोराछोरीको शिक्षादीक्षा को टुङ्गो नलागेसम्म होल्डिङ सेन्टर खाली गर्न उर्दी रोक्ने, खाना, नियमित औषधि र एम्बुलेन्सरउपचार सुनिश्चित गर्ने काममा सरकार १ अलमल, आलटाल र ढिलासुस्ती नगर,’ उनले लेखेका छनु ।
