सदाबहार खबरको रफ्तार ....
मंग्सिर १३, २०८३ आइतबार
November 29, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रमुख दुई उत्तरी नाका साढे दुई महिनादेखि बन्द

२०८३ मंग्सिर १३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रमुख दुई उत्तरी नाका बन्द हुँदा त्यसको दबाब मुस्ताङस्थित कोरला नाकामा परेको छ । रसुवा र तातोपानी नाका बन्द भएपछि कोरला नाकामा चाप बढेको हो । प्रमुख व्यापारिक नाका बन्द भएको साढे दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि खुलाउन नसक्दा लामो दूरीको कोरला मार्ग प्रयोग गर्नुपरेको व्यवसायीले बताएका छन् । रसुवागढी र तातोपानीबाट आउनुपर्ने मालवाहक कन्टेनर कोरला हुँदै ल्याउने प्रयास गरिए पनि त्यहाँको पूर्वाधार, जनशक्ति र सडक क्षमताले बढेको व्यापारिक चाप धान्न कठिन भएको हो । कोरला नाकाबाट काठमाडौंसम्मको सडक लामो, साँघुरो र भौगोलिक रूपमा चुनौतीपूर्ण छ । कतिपय खण्डमा कच्ची सडक र पहिरोको जोखिमसमेत रहेकाले ठूला कन्टेनरको ढुवानी सहज छैन । यसले मालसामान आयातमा लाग्ने समय र खर्च दुवै बढाएको छ । कोरलाबाट सामान इम्पोर्ट गर्दा समय बढी लाग्ने, खर्चिलो हुने र भाडा महँगो पर्ने भएकाले बजारमा महँगी पनि बढेको उनीहरूको भनाइ छ । चीनबाट जाडोयामका लागि आयात गरिने लुगा- कपडालगायत फेन्सी सामान महँगिएका हुन् । लामो दूरी, महँगो ढुवानी भाडा र चिनियाँ मुद्रा युआनको मूल्यवृद्धिका कारण जाडोका सामानको मूल्य बढेको व्यवसायीको भनाइ छ ।

कोरला नाका हुँदै मुस्ताङबाट काठमाडौंसम्म सामान ल्याउँदा एउटा कन्टेनरको ढुवानी भाडा पाँच लाख रुपैयाँसम्म पुगेको छ । जबकि, तातोपानी र रसुवा नाका सञ्चालनमा हुँदा केरुङबाट काठमाडौंसम्म सामान ल्याउन डेढ लाख रुपैयाँ हाराहारीमा खर्च हुने गरेको थियो । त्यसैमाथि जाडो सिजनलाई लक्षित गरेर अर्डर गरिएका थोरै सामानमात्रै काठमाडौं आइपुगेका छन् । बाँकी सामान बाटोमै रोकिएको व्यवसायी बताउँछन् ।

उत्तरी नाका बन्द भएपछि कोरला नाकाबाट हुने आयात भने बढेको छ । त्यसको प्रभाव मुस्ताङ भन्सारको राजस्व संकलनमा पनि देखिएको छ । कोरला नाकाबाट हुने आयात बढेपछि मुस्ताङ भन्सारले दैनिक २५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिरहेको जनाएको छ । तर, हिउँ पर्न थालेसँगै नाकाबाट हुने आयात नियमित हुनसकेको छैन । भन्सारका अनुसार कोरला नाका हुँदै कपडा, फलफूल, ओखर र विभिन्न औद्योगिक कच्चा पदार्थ आयात भइरहेका छन् । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाका पूर्णरूपमा अवरुद्ध भएको छ । त्यसैलाई देखाएर चिनियाँ पक्षले तातोपानी नाका खुलाउन पनि आनाकानी गरेको हो । तातोपानी नाका खुलाउन नेपालले बारम्बार पहल र आग्रह गरे पनि त्यसले परिणम ल्याउनसकेको छैन ।

व्यापार प्रभावित, राजस्वमा समेत असर

रसुवागढी नाका नेपाल-चीन व्यापारको प्रमुख स्थलमार्ग हो । बाढीले सीमावर्ती टिमुरे बस्ती, भन्सार, अध्यागमन तथा सुरक्षासम्बन्धी संरचनामा क्षति पुर्‍याएपछि यो नाकाबाट हुने नियमित आयात-निर्यात ठप्प भएको छ । यसको प्रत्यक्ष असर चीनबाट आउने विद्युतीय सवारीसाधन, इलेक्ट्रोनिक्स, औद्योगिक कच्चा पदार्थ, लत्ताकपडा तथा चाडपर्व लक्षित उपभोग्य वस्तुको आपूर्तिमा परेको छ ।

रसुवागढी बन्द भएपछि चीनसँगको व्यापारका लागि अर्को प्रमुख विकल्प तातोपानी नाका पनि सहज रूपमा सञ्चालन हुन सकेको छैन । भोटेकोशी बाढीपछि चीनले पहिरोको जोखिम देखाउँदै भदौ १२ गतेदेखि तातोपानीबाट हुने आयात–निर्यात रोकेको थियो । यसअघि पनि अरनिको राजमार्गमा पहिरोका कारण नाका पटकपटक अवरुद्ध हुँदै आएको थियो ।

यता, कोरला नाका काठमाडौं उपत्यकाबाट करिब ४७० किलोमिटर टाढा पर्छ । चीनतर्फको लिजे क्षेत्रमा रहेको चिनियाँ भन्सार करिब चार हजार ७८० मिटरको उचाइमा छ । व्यवसायीले कोरला नाकालाई दीर्घकालीन विकल्पभन्दा तातोपानी नाका सञ्चालन नहुँदासम्मको अस्थायी उपायका रूपमा मात्र हेरेका छन् ।

प्रमुख दुई नाका बन्द हुँदा चीनसँगको व्यापार प्रभावित भएको छ । नाका अवरुद्ध हुँदा भन्सार राजस्वमा समेत असर पर्ने देखिएको हो । वैकल्पिक नाकाबाट आयात बढे पनि त्यसले पुराना नाकाबाट हुने व्यापार र राजस्वको कमी तत्काल पूर्ति गर्नसक्ने अवस्था छैन ।

पहल भयो, उपलब्धि भएन

नाका सञ्चालनका लागि राजनीतिक, कूटनीतिक र व्यावसायिक तहबाट पहल भइरहे पनि सञ्चालनको मिति भने अझै निश्चित हुनसकेको छैन । चीनतर्फ खासा क्षेत्रमा सडक तथा पुल निर्माणको काम भइरहेको छ । निर्माणका कारण केही पूर्वाधारमा असर परे पनि चिनियाँ भू-भागमा सवारीसाधनको आवागमन भने भइरहेको व्यवसायी बताउँछन् । चीनको केन्द्रीय तहबाट तातोपानी नाका सञ्चालनका लागि निर्देशन भएको भनिए पनि स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको प्रशासनले झाङ्मु पोर्ट सञ्चालनको तयारी अघि नबढाएको उनीहरूको भनाइ छ । खासामा रहेका चिनियाँ भन्सार, अध्यागमन, क्लियरिङ एजेन्ट तथा ट्रान्सपोर्ट कम्पनीले समेत नाका सञ्चालनबारे अहिलेसम्म कुनै औपचारिक निर्देशन नपाएको व्यवसायीले बताएका छन् ।

नेपालतर्फ भने सडकको अवस्था सुधार हुँदैगएको सडक डिभिजन कार्यालयले जनाएको छ । बाह्रबिसेदेखि लिपिङसम्मको करिब २६ किलोमिटर सडकमा ४० फिटे मालवाहक कन्टेनरसमेत सञ्चालन गर्न सकिने गरी अवरोध हटाइएको जिल्ला प्रसाशन कार्यालयले सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाएर र अवरुद्ध स्थान खुलाएर सडक सञ्चालनयोग्य बनाइएको छ ।
यसअघि भूकम्पपछि करिब चार वर्ष बन्द भएको तातोपानी नाका २०७६ जेठमा पुनः सञ्चालनमा आएको थियो । त्यसयता कोरोना महामारी, बाढीपहिरो तथा सडकको भौगोलिक समस्याका कारण नाका नियमित सञ्चालन हुनसकेको छैन ।

नाका खुलाउन समन्वय भइरहेको छ : प्रवक्ता क्षेत्री

सरकारले वैकल्पिक नाका प्रयोग र तातोपानी-झाङ्मु नाका सञ्चालनका लागि कूटनीतिक पहल गरिरहेको छ । परराष्ट्र मन्त्रालयले गत भदौ १० गतेको बाढीपछि रसुवागढी नाका पूर्णरूपमा अवरुद्ध रहेको अवस्थामा नेपाल-चीनबीचको तातोपानी-झाङ्मु नाका सञ्चालन गर्न प्रयास भइरहेको जनाएको छ । ठूला मालवाहक ट्रक तथा कन्टेनरका लागि तातोपानी नाका खुला गराउनेलगायत अन्य नाकाबाट आवागमन सहज बनाउन चीन सरकार र सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले बताउनुभयो । तातोपानी क्षेत्रमा सडक र नाकाका पूर्वाधार सञ्चालनयोग्य बन्दै गए पनि चिनियाँ पक्षले नाका खुलाउने मिति तय नगर्दा व्यवसायी र स्थानीय अन्योलमा छन् ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आग्रह गर्नुभएको थियो । चीनको ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ वानमिङको नेपाल भ्रमणका क्रममा उहाँले तातोपनाी नाका खुलाउन आग्रह गर्नुभएको थियो ।हिमालय टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मतदान स्थल पुनरवलोकन गर्दै निर्वाचन आयोग

एक्सनमा गगन थापा : निगरानीमा देउवा पक्षका ३१ बढी सांसद

भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्रको गृहकार्य

न्याय प्रशासन सुधार प्रतिवेदन : जिल्ला अदालतलाई थप अधिकार

नेपालमा हुन्डीको नयाँ जालो बैंक खाता, डिजिटल वालेटदेखि क्रिप्टोकरेन्सीसम्म प्रयोग

दशकसम्म घटेन बालश्रमको ग्राफ

अगाडि बढेन मेट्रोसिटी योजना

सुकुम्वासीका ७ महिना : जग्गाको सपना, विकल्पबिनै सडकमा

निर्वाचनसम्बन्धी कानुन निर्माणको ढिलाइले थप चुनौती निम्त्याउँदै

कांग्रेस एकताको पहल थाल्ने डा. शेखर समूहको तयारी

मलेसिया प्रकरणमा सभामुख अर्याल पनि जोडिए : संसद् अधिवेशन डाक्न विलम्ब

प्रहरीमा ‘सानालाई ऐन, ठुलालाई चैन’- उच्चपदस्थमाथि छानबिन हुन्छ, कारबाही हुँदैन