काठमाण्डौः भारतले गत कार्तिक १६ गते एकपक्षिय ढंगबाट जारी गरेको राजनितिक नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा लगायतका स्थान समाबेश भएको विषयमा कुटनीतिक समाधान गर्न भारत अनिच्छुक देखिएको छ ।
नेपालको तर्फबाट कुटनीतिक पहलकदमी भएपनि भारतले त्यस सम्बन्धमा कुनै जवाफ नदिंदा नेपाल-भारतबीच देखिएको सीमा विवाद तत्काल समाधान नहुने देखिएको हो ।
नेपाल सरकारले भारत सरकारलाई भूमि अतिक्रमण गरी सार्वजनिक गरिएको नक्सामा आपत्ति जनाएको पत्र पठाएपनि भारतले कुनै जवाफ नदिँदा सीमा विवाद तत्काल हल हुने गुन्जायस देखिदैंन ।
यद्दपी परराष्ट्र मन्त्रालय र सरकारले भने भारतका तर्फबाट छिटै जवाफ आउने अपेक्षामा बसेका छन् ।
विहिबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सीमा विवाद आजको नभई पूरानो भएकाले प्रक्रियामा गएर समाधान गरिने दावी गरेका छन् ।
मन्त्रि बाँस्कोटाले भारतको नक्सामा त्रुटी नै भएकाले भारतले उक्त त्रुटीलाई स्वीकार्दै अघि बढ्नुपर्ने बताए ।
सो पत्रकार सम्मेलनमा नेपालले एक महिनाअघि नै सचिवस्तरीय वार्ताका लागि गरेको प्रस्तावबारे धारणा मागिएपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमा विवाद समाधानका लागि नेपाल भारतबीच परराष्ट्र सचिवस्तरीय संयन्त्र गठन भएको र त्यसैले बैठकको मिति र समय तय गर्ने बताएका छन् ।
उता, नेपाल-भारत सीमा विवाद सम्बन्धी बैठक हुनेबारे भारतीय विदेश मन्त्रालयले कुनै टुंगो नभएको बताएको छ ।
