सदाबहार खबरको रफ्तार ....
बैसाख १७, २०८१ सोमबार
April 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘संस्कार शिक्षा’ मा विद्यालय र बालबालिकाको आकर्षण बढ्दो

२०८१ बैसाख १, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः भविष्यका कर्णधार बालबालिकाको समुज्ज्वल जीवनका लागि शास्त्रीय आधार दिने उद्देश्यले डा स्वामी केशवानन्दले लेख्नुभएको ‘संस्कार शिक्षा’ पुस्तकलाई विद्यालयले पाठ्यपुस्तकका रुपमा समावेश गर्न थालेका छन् ।

स्वामी केशवानन्दले लेख्नुभएको पुस्तक गत भदौमा सार्वजनिक भएको थियो । हालसम्म करिब ५० विद्यालयले पाठ्यक्रममै राखेर आगामी शैक्षिक सत्रदेखि ‘संस्कार शिक्षा’ को अध्यापन सुरु गरेका छन् । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाअन्तर्गतका सबै विद्यालयमा ‘संस्कार शिक्षा’ को पठनपाठन गर्ने भएको छ । आधारभूत तहका कक्षा ४, ५, ६ र ७ का विद्यार्थीलाई यो पुस्तक पढाइने जनाइएको छ ।

बुटवल, नवलपुर, पोखरा र राजधानी काठमाडौँका विद्यालयले पनि ‘संस्कार शिक्षा’ को पठनपाठनमा रुचि देखाएका छन् । सनातन संस्कृति र मानवीय मूल्यको यात्राका लागि पुस्तक तयार पारिएको स्वामी केशवानन्द बताउनुहुन्छ ।  पुर्खाले जीवनयापनमा आवश्यक सम्पूर्ण कामलाई संस्कारसँग जोड्ने गरी पुस्तक तयार पारिएको हो । जीवनयापनमा आवश्यक काम संस्कारसँग जोडिएको र त्यो अहिलेका बालबालिमा हराउन थालेकाले पुस्तककै रुपमा प्रकाशन गरेर विद्यालयमा पठनपाठनको वातावरण बनाइएको हो ।

संस्कारहीन व्यक्ति चरित्रहीन हुने, धनहीन हुँदा समस्या नहुने तर चरित्रहीन हुँदा पछि कमाउन नसकिने भएकाले भावी पुस्ताका लागि पुस्तकको आवश्यकता  रहेको स्वामी केशवानन्द बताउनुहुन्छ । यसैले विद्यालयले पनि यसको आवश्यकता महसुस गर्न थालेको उहाँको भनाइ छ ।

पुस्तकमा अक्षरारम्भदेखि नै बालबालिकालाई संस्कार सिकाउने गरी पाठ राखिएको छ । साना बालबालिकालाई पढ्नमा रुचि जगाउन ‘आफ्नो नाममा आउने अक्षरमा रङ भर’ जस्ता अभ्यास पनि राखेर पढ्न आकर्षित गरिएको छ । आधुनिक बालबालिकाले ह्रस्व, दीर्घ र प्लुत भनेको नै नबुझ्ने अवस्था आउन थालेकाले पुस्तकमा त्यससम्बन्धी पाठ समावेश गरिएको छ ।

व्यञ्जनसँग जोडिने स्वरका मात्रा, व्यञ्जनसँग संयुक्त स्वर, संयुक्त व्यञ्जन, विसर्ग, अनुस्वार, चन्द्रविन्दुजस्ता विशेष वर्णबारे पनि पुस्तकमा जानकारी गराइएको छ । पाठसँगै अभ्यास पनि समावेश गरेर बालबालिकालाई सिकाउन सजिलो बनाइएको छ । देवनागरी लिपिका बारेमा पनि पुस्तकमा प्रकाश पारिएको छ ।

गणेशवन्दना पाठमा वन्दनासहित शब्दको अर्थ एवं गणेशका विषयमा जानकारी गराइएको छ । कुन ग्रहबाट कुन बारको नाम भयो ? जस्ता पाठले बालबालिकालाई पूर्वीय संस्कृतिका विषयमा सानैदेखि जानकार बनाउन खोजिएको जनाइएको छ । बालबालिकालाई ब्रह्ममुहूर्तमा उठ्न, ईश्वरको वन्दना गर्न, सकारात्मक सोचको विकास गर्न प्रेरित गर्ने पाठ पुस्तकमा राखिएको छ ।

सुत्दा सिरानी कता गर्ने ? आकर्षक चित्रका माध्यमबाट १० दिशाको ज्ञान जस्ता विषयले पनि बालबालिकाको ध्यान आकर्षण गर्छ । ‘सधैँ अभिवादन ग¥यो भने आयु बढ्छ, विद्या बढ्छ, सबैले सम्मान गर्छन्, शक्ति पनि बढ्छ’, ‘फलेका रूखहरू झुक्छन् । नझुक्ने त ठुटो हो, सुकेको रूख हो । नझुक्ने मूर्ख हो ।’ जस्ता पाठले बालबालिकालाई सानैदेखि संस्कारमा डो¥याउँछ ।

पुस्तकमा गणेश चतुर्थीका बारेमा जानकारीमूलक सामग्री राखिएको छ । गणेशको प्रथम पूजासँग जोडिएको कथाले बालबालिकालाई आकर्षक रुपमा संस्कारको जानकारी दिएको छ । चन्द्रमाको गतिअनुसार महिनामा हुने शुक्ल र कृष्ण पक्ष, तिथिका नाम जस्ता विषयले बालबालिकालाई वैदिक संस्कृतिको ज्ञान दिन्छ । वर्ण शिक्षा अन्तर्गत दुई वा दुईभन्दा बढी वर्ण जोडिएका विशिष्ट वर्णको जानकारी पनि पुस्तकमा समावेश गरिएको छ ।

पाठ दुईमा सरस्वतीवन्दना छ । सरस्वती वन्दनाको शब्दार्थ, सरस्वतीका १२ नाम समावेश गरिएको संस्कृत श्लोक, कोठामा अक्षर दिएर सरस्वतीका १२ नाम बनाउने अभ्यास पनि दिइएको छ । यस्ता अभ्यासले बालबालिकालाई पढेका पाठ याद गर्न सहयोग गर्छ । वेदको सङ्ख्या र शाखाको नामसहितको जानकारीले बालबालिकालाई वैदिक ज्ञानप्रति आकर्षित गर्न खोजेको छ ।

‘सधैँ स्नान गर्छु’ पाठले सफाइका साथै नदी सभ्यताका बारेमा बालबालिकाको ध्यानाकर्षण गरेको छ । नेपालका प्रमुख पाँच नदी कोसी, वाग्मती, त्रिशूली, कालीगण्डकी र महाकालीबारे बालबालिकालाई सामान्य ज्ञान पनि यस पाठमा दिइएको छ । पक्ष, महिना र ऋतुको ज्ञान पनि बालबालिकाले पुस्तकबाट पाउँछन् । ‘सत्य बोल’, ‘बाटो खोज’, ‘ज्ञानका कुरा, राम्रो म’ जस्ता पाठले पनि बालबालिकालाई उत्सुकतापूर्वक यो पुस्तक पढ्न प्रेरित गर्छ ।

श्रीपञ्चमी, कालिदासको कथा, १२ राशिका नाम, शिवस्तुति, शिवका अस्त्र, वाहन एवं अन्य, जपध्यान, प्राणायाम, मेरा बाबा मेरा भगवान्, महाशिवरात्रि, पशुपति, भस्मासुरको कथा, वेदका छ अङ्ग जस्ता विषयले बालबालिकालाई सनातन संस्कृतिका बारेमा ज्ञान दिन्छ ।

गुरुवन्दना, ऋषि दत्तात्रेयले २४ गुरुबाट सिकेका ज्ञान, भगवान्को भजन, हिन्दु कालगणना सूक्ष्मतादेखि विराटसम्म, गुरु भगवान्, पञ्चामृत, गुरु पूर्णिमा, श्रीगुरुयन्त्र, गुरुभक्तिको कथा, महाभारतसम्बन्धी सामान्य जानकारी पनि पुस्तकमा दिइएको छ । यसले हाम्रो मौलिक संस्कारको जानकारी बालबालिकालाई हुन्छ ।

देवीवन्दना पाठमा देवीको एक श्लोकको स्तोत्रसहित नेपालका मुख्य १२ वटा देवी मन्दिरको जानकारी बालबालिकालाई गराइएको छ । स्वाध्याय पाठमा वैदिक दर्शनको महत्वलाई सूक्ष्म तरिकाले सहज रुपमा बुझाउन खोजिएको छ । वेद, गीता, पुराण, उपनिषद्, धर्मशास्त्र, दर्शन, इतिहास र आयुर्वेदको चक्रीय तालिका बनाएर तिमीले के के पढेका छौँ रङ भर भनी ज्ञानका यी स्रोतप्रति बालबालिकाको इच्छा जागृत गराउने खालका सामग्री पनि पुस्तकमा समावेश गरिएको छ । विभिन्न मुद्राको जानकारी पनि पुस्तकमा दिइएको छ ।

नारी सम्मानको महत्व, नारी वेषभूषाका पाठसँगै लक्ष्मी, सरस्वती, दुर्गा, गायत्री, भैरवी र कुमारीबारे जिज्ञासु बन्न पनि पुस्तकले प्रेरणा दिएको छ । अक्षय तृतीया, नदीको जल, व्यापारीको कथा, इनार, धारो, कुवा र पोखरीजस्ता मौलिक ज्ञान पनि पुस्तकमा दिइएको छ ।

विष्णस्तुतिसँगै शङ्खको ज्ञान, भोजन, भोजनको नियम, भोजन संस्कृति, नैवेद्य, ऋतुफल, नवग्रह, बुढानीलकण्ठ मूर्तिको सामान्य जानकारी, त्यागका मूर्ति मुद्गल ऋषिको कथा, सात प्रमुख ऋषिको जानकारी पनि पुस्तकमा दिइएको छ ।

लक्ष्मीवन्दना, शक्तिपीठ, दिनचर्या, जपमाला, कवि शिरोमणि लेखनाथ पौडेलको नैतिक दृष्टान्त कविता, अयन, लक्ष्मीपूजा, द्यौसी, भैलो, धनपति कुबेरको कथा, मूर्तिका विषयमा सामान्य जानकारी पनि ‘संस्कार शिक्षा’ले दिएको छ ।

सूर्यवन्दना, सूर्यका रङहरु, सूर्यनमस्कार र सूर्योपस्थान, गायत्री मन्त्रसम्बन्धी संक्षिप्त जानकारी, दानमहिमा, चौतारो, कार्तिकदान, ३३ कोटि देवता, दधीचिको कथा, राजा जनकका पाठ दिएर बालबालिकालाई नेपाली मौलिक संस्कार हुर्कने वातावरणको निर्माण गर्न खोजिएको छ ।

कृष्णस्तुति, शालग्राम, ब्रह्मचर्य, नक्षत्रसम्बन्धी सामान्य जानकारी, विद्यार्थीको लक्षण, याज्ञवल्क्य, जन्मोत्सव कसरी मनाउने ?, अष्टचिरञ्जीवीसम्बन्धी संक्षिप्त जानकारी, मार्कण्डेयको कथा, पिपलसम्बन्धी जानकारी पनि पुस्तकमा पढ्न पाइन्छ ।

रामवन्दना, आदिमहाकाव्य रामायणका रचनाकार वाल्मीकि, पञ्चदेवपूजनको महत्व, धूप र धुपौरोसम्बन्धी जानकारी, नीतिपद्य, अष्टदल, रामनवमी, पञ्चेबाजा, जननी र जन्मभूमिको कथा, नेपालको झन्डासम्बन्धी छोटो जानकारी पनि ‘संस्कार शिक्षा’ मा दिइएको छ ।

हनुमद्वन्दना, अठार पुराणका नाम, पञ्चोपचारको पूजनपद्धति, कलश, नीतिशिक्षा, कुश, शतबीजरोपण, ॐकार र हनुमानको कथा पनि पुस्तकमा समावेश गरी बालबालिकालाई पढौँ पढौँ लाग्ने गरी पुस्तकको निर्माण गरिएको छ ।

बालबालिकालाई संस्कारमा फर्काउने उद्देश्यले तयार पारिएको १२० पृष्ठको पुस्तकको अन्तिममा नेपालका चारधाम वराहक्षेत्र, पशुपतिक्षेत्र, मुक्तिक्षेत्र र रुरुक्षेत्रका बारेमा सामान्य परिचय उल्लेख गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं.१ स्थित ड्याफोडिल माध्यमिक विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरी हाल ‘संस्कार शिक्षा’ अध्ययन गरी दिन बिताइरहेका उदय अर्याल बिहान उठेदेखिका संस्कारका बारेमा पढ्न पाउँदा खुसी लागेको बताउनुहुन्छ ।

‘संस्कार शिक्षा’ को अध्ययनले अनिवार्य नेपाली विषयको अध्ययनमा पनि सहजता आउने अनुभव आफूले गरेको बताउँछन् । पुस्तकले गीतालगायत मौलिक दर्शनको अध्ययनमा रुचि जाग्ने समेत बालबालिकाले अनुभूति पनि गरेको जनाएका छन् ।

बालबालिकालाई पढौँ पढौँ लाग्ने यो पुस्तक भाना फाउन्डेसनले प्रकाशन गरेको हो । पुस्तकको मूल्य रु पाँच सय ५५ तोकिएको छ । पुस्तक प्रकाशनमा अतुल्य रिसालले सहयोग गर्नुभएको छ । पुस्तक लेखनमा रोहिणीराज तिमिल्सिना र शिवराज लामिछानेले सहयोग गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पर्वतमा धमाधम विद्यालय समायोजन

पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

नवनियुक्त शिक्षकको दुःखेसो—आयोग पास गरेर पनि पढाउने विद्यालय पाएनौँ

प्रविधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय

नागार्जुन नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा शिक्षा निःशुल्क

आयोगले प्राथमिक तहको खुला तर्फको विज्ञापन गर्यो , कुन जिल्लामा कति ?(विज्ञापन सहित)

पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा विद्यार्थी दीक्षित

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ प्रधानमन्त्री

कक्षा १२ को परीक्षाको सबै तयारी पूरा : एक हजार ५२६ परीक्षा केन्द्र तोकिए

राष्ट्रियसभा गृहमा करिब ५ सय लेखिकाका एक हजार पुस्तक प्रदर्शनीमा

राज्यकोषबाट सुविधा लिनेले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने