
काठमाण्डौं: सरकारले तोके भन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुले एक महिना भित्र पैसा फिर्ता गर्न अटेर गरे कडा कारवाही गरिने भएको छ । सोमबार गृह मन्त्रालयमा गृहमन्त्री, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि लगायतका सरोकारवाला निकायहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त निर्णयसँगै एमबीबीएस अध्ययनमा सरकारले तोके भन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुले एक महिना भित्र अनिवार्य रुपमा विद्यार्थीलाई पैसा फिर्ता गर्नुपर्ने भएको छ । उक्त निर्णयलाइ अटेरी गरेमा जिल्ला प्रशासन कार्यालय मार्फत कारवाही प्रक्रिया अघि बढाउने निर्णय समेत सरकारले गरेको छ । यसअघि सरकारले २०७२ सालमा एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यका भित्र ३८ लाख ५० हजार र उपत्यका वाहिर ४२ लाख ५० हजार लिन पाउने सिमा तोकेको थियो।
बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेल, गृह सचिव प्रेमकुमार राई, शिक्षा सचिव महेश दाहाल, चिकित्शा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, त्रिविका उपकुलपति प्राडा. सुधा त्रिपाठी, त्रिवि आइओएमका डिन जगदीश अग्रवाल, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिसीनका डिन राजेन्द्र कोजु लगायतको उपस्थिति रहेको थियो ।