काठमाडौं । कम्प्युटरलाई सफा र व्यवस्थित राख्न खोज्दाखोज्दै पनि धेरैजसो प्रयोगकर्ताका सानातिना बेवास्ताका कारण सिस्टम भताभुङ्ग बन्न पुग्छ । महिनौं पुराना डाउनलोड गरिएका फाइलहरूको चाङ, स्टोरेज ओगटेर बसेका पुराना अपडेट फाइलहरू र कम्प्युटरका पुराना भइसकेका सेटिङहरूले गर्दा विन्डोज पीसी सुस्त र अस्तव्यस्त हुन्छ ।
यी समस्याहरू प्रायः सबैजसो विन्डोज प्रयोगकर्ताले भोग्ने गर्छन् । तर, आफ्नो विन्डोज पीसीलाई पुनः चुस्त र दुरुस्त बनाउन दिनभरिको समय खर्चनु पर्दैन । करिब १० मिनेटको समय दिएर केही सामान्य र तत्काल आवश्यक कदम चाल्ने हो भने कम्प्युटरलाई किनेको पहिलो दिनजस्तै फास्ट र स्मुथ बनाउन सकिन्छ ।
१. स्टार्टअप एप्सको लिस्ट सफा गर्नुहोस्
जब तपाईं कम्प्युटरमा कुनै नयाँ एप इन्स्टल गर्नुहुन्छ, त्यो प्रायः स्वतः ‘स्टार्टअप लिस्ट’मा थपिन्छ । यसको अर्थ, कम्प्युटर अन वा रिस्टार्ट गर्दा ती एपहरू आफैं खुल्छन् र ब्याकग्राउन्डमा ‘सिस्टम ट्रे’मा बसिरहन्छन् । कामका लागि दैनिक चाहिने केही अत्यावश्यक एपहरू स्वतः खुल्नु स्वाभाविक भए पनि अधिकांश प्रोग्रामहरूलाई यस्तो छुट दिइरहनु आवश्यक हुँदैन ।
स्टार्टअप एपहरूले कम्प्युटरको समग्र पर्फर्मेन्स र बुट हुने गतिमा ठुलो असर पार्ने भएकाले अनावश्यक एपहरूलाई यो सूचीबाट हटाउनु नै बुद्धिमानी हुन्छ ।
स्टार्टअप एप्स सूचीबाट कुनै एप हटाउन विन्डोजको Start (स्टार्ट) बटनमा राइट-क्लिक गरी Task Manager (टास्क म्यानेजर) चयन गर्नुहोस् । देब्रेपट्टि रहेको प्यानलबाट Startup apps (स्टार्टअप एप्स) ट्याबमा जानुहोस् । त्यसपछि एपहरू कुन अवस्थामा छन् (इनेबल्ड वा डिसेबल्ड) भनेर हेर्न Status (स्टाटस) कोलममा क्लिक गरी मिलाउनुहोस् ।
अब Startup impact (स्टार्टअप इम्प्याक्ट) कोलम जाँच गरी High (उच्च) वा Moderate (मध्यम) असर पार्ने एपहरू पहिचान गर्नुहोस् र तिनलाई डिसेबल गर्नुहोस् । साथै, तपाईंको दैनिक काममा प्रयोग नहुने जुनसुकै एपलाई पनि स्टार्टअप सूचीबाट हटाउनुहोस् ।
२. जंक फाइल हटाउन डिस्क क्लिनअप गर्नुहोस्
विन्डोज सिस्टमलाई सही र प्रभावकारी रूपमा सञ्चालन हुनका लागि प्राइमरी इन्स्टलेसन ड्राइभ (प्रायः सी ड्राइभ) मा कम्तीमा १५ प्रतिशत स्टोरेज क्षमता खाली हुनुपर्छ । यदि तपाईंको डिस्क भरिनै लागेको छ भने, विन्डोजमै उपलब्ध Disk Cleanup (डिस्क क्लिनअप) टुलको प्रयोग गरी पुराना विन्डोज अपडेट फाइल, एन्टीभाइरसका पुराना डिफिनेसन, अस्थायी इन्टरनेट फाइल र रिसाइकल बिनमा रहेका ट्राश हटाउन सकिन्छ ।
यसका साथै, सफाइ प्रक्रियालाई स्वतः सञ्चालन गर्न विन्डोजको Storage Sense (स्टोरेज सेन्स) फिचर पनि सेटअप गर्न सक्नुहुन्छ ।
सफाइ गरिसकेपछि पनि यदि थप स्टोरेज खाली गर्नुपर्नेछ भने, TreeSize जस्ता नि:शुल्क टुलको मद्दत लिन सकिन्छ । यसले तपाईंको स्टोरेज कुन-कुन फाइलले ओगटेको छ भन्ने स्पष्ट चित्र देखाउँछ । जसका आधारमा ठुला र अनावश्यक फाइलहरू पहिचान गरी हटाउन सहज हुन्छ ।
३. पावर सेटिङ्सको समीक्षा गर्नुहोस्
विन्डोजमा मुख्यतया तीनवटा पावर मोडहरू उपलब्ध हुन्छन्: Balanced (सन्तुलित), Best performance (उत्कृष्ट पर्फर्मेन्स) र Best power efficiency (पावर किफायती)। ल्यापटपमा सामान्यतया चार्जर जोड्दा Balanced मोड र ब्याट्रीमा चलाउँदा Best power efficiency मोड स्वतः लागु हुन्छ ।
यी डिफल्ट सेटिङ्सले बिजुलीको खपत घटाउन र ब्याट्रीको आयु बढाउन मद्दत गरे पनि, तिनले सीपीयूको गति सीमित (थ्रोटल) गरेर कम्प्युटरको पर्फर्मेन्समा सुस्तता ल्याउन सक्छन् ।
आफ्नो पावर सेटिङ्स जाँच गर्न Start > Settings > System > Power & battery मा जानुहोस् । त्यहाँ रहेको Power mode सेक्सनलाई विस्तार (एक्सपान्ड) गर्नुहोस् । Plugged in (प्लग गरिएको अवस्था) को ड्रप-डाउन मेनुबाट Best performance चयन गर्नुहोस् । यदि ब्याट्रीमा चलाउँदा पनि कम्प्युटरको गति घट्न दिन चाहनुहुन्न भने On battery विकल्पमा पनि Best performance नै छनोट गर्नुहोस् ।
यसपछि Energy Saver (इनर्जी सेभर) सेटिङ्सको समीक्षा गर्नुहोस् । ब्याट्री निश्चित प्रतिशतमा पुगेपछि इनर्जी सेभर स्वतः सक्रिय हुने गरी मिलाउन सकिन्छ । सामान्यतया, ब्याट्री ३० प्रतिशतमा पुग्दा यो मोड अन हुन्छ र ब्याट्री जोगाउन कम्प्युटरको पर्फर्मेन्स घटाउँछ । यो सीमालाई घटाएर २० प्रतिशत वा १० प्रतिशतमा राख्नु भयो भने कम्प्युटरले धेरै समयसम्म पूर्ण क्षमतामा काम गर्न पाउँछ ।
४. ब्राउजरका ट्याबहरूको सही व्यवस्थापन गर्नुहोस्
महत्त्वपूर्ण जानकारी वा लिंकहरू पछि हराउलान् भन्ने डरले धेरै ट्याबहरू खुला राखिरहने बानीलाई ‘ट्याब होर्डिङ’ (Tab hoarding) भनिन्छ । अनुसन्धान वा दैनिक काम गर्दा पछि पढ्नका लागि उपयोगी लेख र अवसरहरू भेटिँदा धेरै ट्याबहरू थुपार्ने गल्ती प्रायः सबैबाट हुने गर्छ ।
समय बित्दै जाँदा, नियतवश बन्द नगर्दा ट्याबहरू जम्मा हुँदै जान्छन् । यसले गर्दा ब्राउजर अस्तव्यस्त बन्छ । जसले उत्पादकत्व घटाउँछ र ट्याब प्रयोग गर्नुको वास्तविक उद्देश्य नै समाप्त पारिदिन्छ । यसबाहेक, ब्राउजरका ट्याबहरूले कम्प्युटरको ठुलो परिमाणको मेमोरी (र्याम) खपत गर्छन् । त्यसैले, तिनको सही व्यवस्थापन नगरेमा कम्प्युटर सुस्त हुनुका साथै अन्य एपहरूको पर्फर्मेन्समा पनि असर पर्छ ।
गुगल क्रोममा ट्याब व्यवस्थापनका लागि Session Buddy (सेसन बडी) जस्ता एक्सटेन्सन निकै उपयोगी साबित हुन्छन् । यसले खुला रहेका ट्याबहरूलाई सङ्ग्रह (कलेक्सन) को रूपमा सुरक्षित राख्छ । जसलाई पछि जुनसुकै बेला पुनः खोल्न सकिन्छ । माइक्रोसफ्ट एजको Collections फिचरमा पहिले यो सुविधा भए पनि अहिले सबै खुला ट्याबहरूलाई एकैपटक कलेक्सनमा थप्न पाइँदैन ।
अर्को उपयोगी उपाय भनेको ट्याबको सीमा तोक्नु हो । एक पटकमा १० भन्दा बढी ट्याब खुला नराख्ने प्रयास गर्नुहोस् । प्रत्येक कामको अन्त्यमा खुला ट्याबहरूको समीक्षा गर्ने र अनावश्यक ट्याबहरू बन्द गर्ने बानीले ठुलो मद्दत पुर्याउँछ ।
यसका साथै, पछि हेर्नुपर्ने लिङ्क वा नोटहरू तुरुन्तै टिपोट गर्न विन्डोजको Sticky Notes (स्टिकी नोट्स) एप प्रयोग गर्न सक्नुहुन्छ । यसले भइरहेको काममा ध्यान केन्द्रित गर्न, ट्याब हराउने चिन्ताबाट मुक्त हुन र अन्य एपका लागि महत्त्वपूर्ण सिस्टम मेमोरी खाली गर्न मद्दत गर्छ ।
५. हार्डवेयर अपग्रेड गर्ने कि !
कम्प्युटर सुस्त हुनुको मुख्य कारण प्रायः सजिलै फेर्न सकिने दुई हार्डवेयर कम्पोनेन्टहरू नै हुन्छन् । यदि अझै पनि प्राइमरी वा सेकेन्डरी स्टोरेजका रूपमा पुरानो मोडेलको एचडीडी प्रयोग गरिरहनुभएको छ भने, त्यसलाई हटाएर NVMe वा SATA SSD मा अपग्रेड गर्दा कम्प्युटरको गति उल्लेख्य रूपमा बढ्छ र अत्यधिक डिस्क खपत हुने समस्या समाधान हुन्छ ।
त्यसैगरी, आधुनिक डेस्कटप र ल्यापटपका लागि १६ जीबी र्याम स्ट्यान्डर्ड भइसकेको छ । यहाँसम्म कि एप्पलले पनि आफ्ना म्याकबुकहरूमा १६ जीबी र्यामलाई नै मानक बनाएको छ । यसले धेरै ट्याबहरू खुला राखेर वेब ब्राउजिङ गर्दा वा एकै पटक धेरै काम (मल्टिटास्किङ) गर्दा पर्याप्त स्पेस प्रदान गर्छ । ८ जीबीको थप र्याम मोडेल थप्नु एक कम खर्चिलो अपग्रेड हो, जसले कम्प्युटरको क्षमतामा स्पष्ट सुधार ल्याउँछ ।
कम्प्युटरको स्टोरेज र र्याम अपग्रेड गर्न ल्यापटपको पछाडिको प्यानल खोलेर सम्बन्धित स्लटमा NVMe ड्राइभ वा र्याम राख्नुजत्तिकै सजिलो हुन्छ । वास्तवमा, यसको सबैभन्दा गाह्रो काम भनेको प्यानलका ती साना-साना स्क्रुहरू सुरक्षित राख्नु मात्र हो । यद्यपि, सबै ल्यापटपहरूमा हार्डवेयर अपग्रेड गर्न सम्भव नहुन सक्छ । त्यसैले ल्यापटप खोल्नुअघि उत्पादक कम्पनीसँग आफ्नो मोडेलको अपग्रेडिबिलिटी जाँच गर्नुपर्ने हुन्छ ।
यदि हार्डवेयरमा कुनै समस्या वा बाधा छैन भने, माथि उल्लेख गरिएका सफ्टवेयर टिप्सहरूले विन्डोज कम्प्युटरलाई बिना कुनै ढिलाइ सहज रूपमा चलाउन मद्दत गर्छन् । अर्को एउटा निकै उपयोगी टिप के हो भने-विन्डोजको कुनै नयाँ ठुलो भर्सन आउँदा पुरानै प्रणालीलाई अपडेट गर्नुको सट्टा Clean Install अर्थात् नयाँ सिरानबाट इन्स्टलेसन गर्नुहोस् । यसले भविष्यमा आउने धेरै झन्झटहरूबाट बचाउँछ ।टेकपानाबाट
