सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

२०८३ असोज ३१, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, ३१ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त भएको एक साताभन्दा कम समयमै शुक्रबार पदमुक्त हुनुभएको छ । आफूलाई वकिलका रूपमा प्रस्तुत गरेको विषयमा विवाद चर्किएपछि उहाँको कार्यकाल छोटिएको हो ।

एकचालिस वर्षीया जचारियाले मङ्गलबार पहिलो पत्रकार सम्मेलन गर्नुभएको थियो । १५ मिनेटभन्दा कम समय चलेको सम्मेलनमा उहाँले ट्रम्पका उपलब्धिबारे विवरण पढ्नुभएको थियो भने पत्रकारका तीनवटा प्रश्नको मात्र जवाफ दिनुभएको थियो । सम्मेलनको प्रस्तुतिलाई लिएर आलोचना भएपछि ट्रम्पले समेत उहाँलाई पदमा रहन पुनर्विचार गर्न सुझाव दिनुभएको थियो ।

जचारियाले टेलिभिजन अन्तर्वार्ता र सामाजिक सञ्जालमा आफूलाई वकिलका रूपमा चिनाउनुभएको थियो । क्यालिफोर्निया विश्वविद्यालयबाट कानूनमा स्नातक गर्नुभएकी उहाँले अमेरिकामा कानून व्यवसाय गर्न आवश्यक बार परीक्षा उत्तीर्ण गर्नुभएको थिएन । उहाँले बिहीबार परीक्षा असफल भएको स्वीकार गर्नुभयो । ट्रम्पसमर्थक सञ्चारमाध्यममा विवाद साम्य पार्न दिनुभएका अन्तर्वार्ताले पनि आलोचना रोक्न सकेनन् ।

उहाँले कानूनमा स्नातक गरेको आधारमा आफूलाई वकिल भन्न मिल्ने आश्वासन धेरै व्यक्तिले दिएको बताउनुभएको थियो । फक्स न्युजका प्रस्तोता सीन ह्यानिटीले पुनः बार परीक्षा दिनुभएको छ कि छैन भनेर सोध्दा उहाँले नदिएको जवाफ दिनुभयो ।

चीनबारे गरेको टिप्पणीले पनि जचारिया विवादमा पर्नुभयो । दक्षिणपन्थी प्रभावशाली व्यक्तित्व ज्याक पोसोबिकसँगको अन्तर्वार्तामा उहाँले चीनसँग उचित शौचालयसमेत नभएको टिप्पणी गर्नुभएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले त्यसको प्रतिक्रियामा उहाँलाई चीनको भ्रमण अझ धेरै पटक गर्न सुझाव दिनुभएको थियो ।

जचारियाले ट्रम्पकी पूर्वप्रेस सचिव क्यारोलिन लेभिटको स्थान लिनुभएको थियो । ट्रम्पको पहिलो कार्यकालमा ह्वाइट हाउसका सञ्चार निर्देशक एन्थोनी स्कारामुचीको कार्यकाल ११ दिन मात्र रहेको थियो । उहाँले सामाजिक सञ्जालमा आफ्नो कीर्तिमान तोडिन सक्ने टिप्पणी गर्नुभएको थियो ।

जचारियाको पदमुक्ति नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि भएको हो । इरानसँगको युद्ध, मुद्रास्फीति र भ्रष्टाचारसम्बन्धी धारणाका कारण रिपब्लिकन पार्टीप्रति जनसमर्थन घटेको र निर्वाचनमा कमजोर परिणाम आउन सक्ने सर्वेक्षणहरूले देखाएका छन् । राष्ट्रपति ट्रम्प रिपब्लिकन उम्मेदवारको समर्थन जुटाउन देशव्यापी भ्रमणमा रहनुभएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत