सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बालेन्द्र शाहका कदम-फगत स्टन्ट कि असल नियत ? : युवराज घिमिरे

२०८३ कार्तिक ८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नेपालका हरेक चाड, साँस्कृतिक पर्व र उत्सवहरूले पौराणिकता तथा त्यसमा जोडिएका संस्कार तथा सन्देश बोकेका हुन्छन्। यी चाडबाडहरूको मर्मलाई आफूले आत्मसात गर्न नसके पनि अक्सर राजनीतिक दलहरूका प्रमुख या राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूले ती पर्वहरूका अवसरमा जनताप्रति शुभकामना व्यक्त गर्दै तिनका मर्म र भावअनुरुप कार्य गर्न सुझाव दिने गर्छन्।

वास्तवमा हरेक धर्म र दर्शनबारे अनेकौँ ठेलीहरू लेखिएका छन्। अब ती धर्मका मर्म र सन्देशबारे ‘धार्मिक व्यक्तित्व’हरूले दिने गरेका प्रवचनले ‘भिडियो’ र ‘पोडकास्ट’का रुप पनि लिएका छन्। तर, धर्मले अभ्यास र अक्षरद्वारा परिभाषित गरेको अनुशासन भनौँ, ‘ढाँचा’भित्रबाट आफूलाई सञ्चालित गर्ने थुप्रै  ‘व्याख्याता’ र ‘धर्म गुरुहरूले’ विवेकानन्दले सन् १८९३ सेप्टेम्बरमा सिकागोमा भनेजस्तै आफ्नै धर्मको घेरालाई महान र अर्को धर्मलाई ‘तुच्छ’ मान्ने सन्देश या दावी प्रस्तुत गर्दै आएका छन्।

धर्मको सान्दर्भिकता ‘मुक्ति’, ‘समानता’ अनि ‘विभेद’को अन्तरसँग जोडिएको हुन्छ। खालि पेट राखेर धर्म कमाउनुपर्छ या अभ्यास गर्नुपर्छ भन्ने ‘पण्डितहरू’लाई स्वामी विवेकानन्दले ‘फटाहा’ या सन्तको खोजीमा बाधकहरूको संज्ञा दिएका छन्। वास्तवमा उनले आर्थिक आयआर्जनले मानव जीवनमा समृद्धि र अध्यात्मिक अभ्यासले जीवनको महान लक्ष्य या ‘मुक्ति’को मार्गप्रशस्त गर्छ भन्ने सन्देश दिएका थिए।

यता आएर सत्ता, शक्ति र पेशवर राजनीतिज्ञहरूले ‘सेवा नै धर्म हो’ भन्ने नारा चर्काएर राजनीतिलाई नै धर्म हो भन्ने गरेका छन्। यद्यपि, सत्ता र शक्तिलाई भ्रष्टाचारको सिंढी नबनाउने नेताहरू कमै छन् नेपालमा।

मुक्ति ‘दासत्व’को ठीक विपरीत अवधारणा मान्यता र आचरण हो। मुलुकको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप निम्त्याएर त्यसलाई जनताको ‘मुक्तिमार्ग’का रुपमा  प्रस्तुत गर्ने माओवादी, नेपाली कांग्रेस, एमाले र मधेस केन्द्रित दलहरू नेता विशेषका व्यक्तिगत महत्वकांक्षा र बिकाउ चरित्रका कारण उनीहरूले जनताको संलग्नताबिना ल्याइएको राजनीतिक एजेन्डाहरूलाई ‘मुक्तिमार्ग’ या जनताको ‘मुक्ति’का रुपमा प्रस्तुत गरे केही समय।

माओवादी शिविरका लडाकुका रुपमा होस् या केही पैसा कमाउन खाडी पठाइएका युवाहरू माओवादी र १२-बुँदेका आठ नेताहरूलाई ‘मुक्ति’ मार्गका प्रेरक मान्दैनन् अब। उनीहरूलाई बाह्य शक्तिहरुद्वारा परचालित या परिचालित ‘दास’हरू मान्दछन् अब आएर।

नेपाली समाजमा धर्मलाई अध्यात्म र जन्म मृत्युको बन्धनबाट मुक्ति दिलाउने दर्शन या मार्गका रुपमा मान्ने धेरै छन्। वास्तवमा सबै धर्महरूको सर्वस्वीकार्य सन्देश स्वामी विवेकानन्दले भने झैं प्रेम, शान्ति, करुणा र एकअर्काप्रतिको सदभाव मानिन्छ। तर, खासगरी विगत २० वर्ष धर्मलाई निषेध र घृणाको मात्र हैन, ‘धर्मनिरपेक्ष राज्य’ का नाममा किनबेचको विषय बनाइएको छ। लोकतन्त्रलाई जनताले महत्वपूर्ण विषयमा निर्णय लिन नपाउने र नेताहरूले बाह्य दासत्वमा जवाफदेहिता लिनु नपर्ने राजनीतिक अभ्यास बनाएका छन्।

६ महिनाअघि मुख्यतया भ्रष्टाचारका कारण विगत २० वर्षमा आलोपालो निरन्तर रुपमा सत्ताको नेतृत्व गरेका र भागवण्डाको सत्ता उपभोग गर्न पल्केका १२ बुँदेका शक्तिहरू सत्ताबाट बढारिए। सुशासनसँगै स्वशासनको प्रतिज्ञा गरेका बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकारका लागि मत दिए जनताले। तर, त्यो पुराना शक्ति र नेताहरूको अस्वीकृतिकै मत हो मुख्यत:।

यता दसैंको अवसरमा प्रधानमन्त्री शाहले दिएको शुभकामना सन्देशमा उनले सरकार जनताको सुरक्षा र समृद्धिका लागि प्रत्यक्ष उपस्थित रहेको र त्यो तथ्यलाई स्वीकार गर्न पनि जनतालाई एक जुट हुन आग्रह गरेका छन्। बालेन्द्र शाह अझै पनि नेपालका कुनै पनि १२ बुँदे नेताभन्दा बढी लोकप्रिय छन् र जनताको उनीप्रतिको आशा अझै मरेको छैन। तर, उनीमाथिको आशा र विश्वास घट्दै गएको छ।

उनको सचिवालयमा झगडा छ। उनको सचिवालय र केही मन्त्रीहरूबीच कार्यक्षेत्रलाई लिएर विवाद छ। पासपोर्ट काण्डमा प्रधानमन्त्रीको सचिवलायलाई असहज हुने गरी परराष्ट्र मन्त्रालयले जर्मन सरकारसँगको एउटा सहमति गरेको छ कि पासपोर्ट छपाइलगायतका विषयमा नेपाल सरकारले अदालतबाट मुद्दा किनारा लागेपछि व्याजसहित सबै रकम मुक्तान गर्नेछ। यो सहमति भोलिका मुद्दाबारे सर्वोच्चको के फैसला होला, त्यसको अनुमानका आधारमा पनि भएको छ। अर्कोतिर  यो मुद्दामा सरकारको के धारणा छ सर्वोच्चमा? त्यो आफै दुविधाग्रस्त छ।

बालेन्द्र शाहले प्रक्रियागत र सिलसिलाबद्ध तरिकाले काम नगरे केही समयमा उनलाई केपी ओली या महिषासुर र रावण वधसँग जोडेर जनतालाई सत्ताको न्यायिक पक्षमा विश्वास गर्न आह्वान गर्दा अर्को प्रश्न स्वभाविक रुपमा उठ्ने छ।

तर, योभन्दा बालेन्द्र शाहको विजयादशमी सन्देशमा जनताले सरकारप्रति एकजुट भएर विश्वास गर्ने किन? भन्ने प्रश्न उठ्छ नै। सन्देशमा दुर्गामाताद्वारा महिषासुर र भगवान रामद्वारा रावणको मृत्यु भएको प्रसंग दिएर उनले बाह्य किनबेचको शिकार भएको ‘धर्म’प्रति आफ्नो संलग्नता देखाएका छन्। तर, ‘धर्म’ यदि सुशासन र मुलुकको सेवाको पर्याय हो भने चोलेन्द्रशमशेर जबरा छानबिन प्रकरण वा समग्र षड्यन्त्रमा अन्तिम लाभकर्ता र राजनीतिक या अन्य रुपबाट अन्तिम फाइदा कसले लिँदै थियो भन्नेबारे किन विश्वसनीय छानबिन गठन गरेका छैनन्?

उनले यो नगर्दासम्म यो मुलुकमा बालेन्द्रको सरकारप्रति एकजुट भएर विश्वास गर्ने छैनन् जनताले। किनकि यसअघिका सबै नेताहरूले यस्तै वाचा गरेका या अभिव्यक्ति दिने गरेका छन्। बालेन्द्र शाहले प्रक्रियागत र सिलसिलाबद्ध तरिकाले काम नगरे केही समयमा उनलाई केपी ओली या महिषासुर र रावण वधसँग जोडेर जनतालाई सत्ताको न्यायिक पक्षमा विश्वास गर्न आह्वान गर्दा अर्को प्रश्न स्वभाविक रुपमा उठ्ने छ। त्यो मान्यता बोक्ने धर्मलाई आयातित राजनीतिले किनबेचको विषय बनाएकोमा मौन रहने प्रधानमन्त्री या सरकारले महिषासुर र रावण वधजस्तै असुरी भ्रष्टाचार उनकै शासन र सरकारमा जीवित छ र उनी त्यो आशंकालाई प्रभावकारी र प्रक्रियागत ढंगले सम्बोधन गर्न सकेका छैनन् भन्ने संकेत चोलेन्द्र प्रकरणमा उनले देखाएका छन्। चोलेन्द्रको गिरफ्तारी या छानबिन ‘बालेन्द्र सफा छन्’ भन्ने नियतले भन्दा यो विवाद र कथित षड्यन्त्रको गिरफ्तार या व्यापक जालोमा को–को छन्? अनि त्यसका अन्तिम लाभकारी व्यक्ति  को हुन्? त्यो भन्न नसकेमा यसलाई बालेन्द्र शाहको ‘स्टन्ट’ मानिने छ।

बालेन्द्र शाहको सचिवालय मुख्यतया आइटी विज्ञहरूको समूह हो, जहाँ कुनै पनि विवाद र घटनालाई मानवीय तथा कानुन र कम्युटरको विवादमा कम्युटरको सर्वोच्चता मानेर अघि बढ्ने शैली देखिन्छ। तर, त्यो शैलीलाई मानवीय र संवैधानिक पक्षले मान्यता दिँदैन। शासन लोकप्रिय र अलोकप्रिय हुनसक्छ तर विधि, विधान र प्रक्रिया मिचेर अगाडि बढ्दा व्यक्तिको सर्वोच्चता या कानुनभन्दा माथि व्यक्ति उभिने परम्परा स्थापित हुन जान्छ त्यसबाट।

०६३ पछिको राजनीति र संविधान अनि राजनीतिक परिवर्तनलाई स्थापित गर्ने क्रममा ती प्रक्रिया, स्वदेशी र सार्वभौम संलग्नता मिचिएकोले अन्तत: ओली, प्रचण्ड, देउवा  तथा नेपाली कांग्रेस, माओवादी, एमाले र मधेसकेन्द्रित दल बढारिएका हुन्। वालेन्द्र शाहले त्यही विचलन बोके भने उनको नियति फरक हुनेछैन।

उनीसँग एउटै विकल्प छ, पहिलाका ती विचलन र विकृतिलाई सम्बोधन गर्ने र कोर्ष करेक्सन गर्ने। अन्यथा, चोलेन्द्र शमशेर प्रकरणजस्ता एउटा हैन, धेरै षडयन्त्र आउनेछन् र त्यो षड्यन्त्रबाट सबभन्दा पहिला फाइदा लिने उनकै पार्टीभित्रका प्रतिद्वन्द्वी तँछाडमछाड गर्नेछन्। देशसञ्चारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल-भारत सम्बन्ध : निकटतादेखि साझेदारीसम्म – बिनोज बस्न्यात

सुगौली सन्धिको मूल प्रति : प्रा. श्रीरामप्रसाद उपाध्याय

के हुनुपर्छ महाभियोगको उद्देश्य ? – चन्द्रकान्त ज्ञवाली

के हुनुपर्छ सरकारको तात्कालिक कार्यभार ? – अर्जुननरसिंह केसी

कहाँनिर बिग्रियो हाम्रो शिक्षा प्रणाली ? : डा. जयराज आचार्य

कर्मचारीको खस्कँदो मनोबल र संघीय निजामती सेवा विधेयक – प्रेमलकुमार खनाल

१५औं महाधिवेशन र नेपाली कांग्रेसको भावी दिशा : डा. शोभाकर पराजुली

त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो:डा बाबुराम भट्टराई

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन : एकराज पाठक

एमालेभित्र नेतृत्व सङ्कट: नैतिक जिम्मेवारीको अभिनय कि साङ्गठनिक कब्जा ?

प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान : श्यामप्रसाद मैनाली

विपद् व्यवस्थापनमा अत्यावश्यक मनोसामाजिक परामर्श : डा. नम्रता पाण्डे