सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाल-भारत सम्बन्ध : निकटतादेखि साझेदारीसम्म – बिनोज बस्न्यात

२०८३ मंग्सिर ४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दशकौँदेखि नेपाल–भारत सम्बन्धसम्बन्धी बहसमा एउटा प्रश्न प्रमुख रूपमा रहँदै आएको छ– भारत नेपालबाट के चाहन्छ ? यो प्रश्न अझै पनि सान्दर्भिक छ । तर, सम्भवतः अब यो सबैभन्दा महत्वपूर्ण प्रश्न भने नहुन सक्छ । नेपालमा विशेषगरी नयाँ पुस्तामाझ एउटा फरक प्रश्न क्रमशः अगाडि आउँदै छ– नेपाल र भारतले मिलेर के गर्न सक्छन् ? यो केवल शब्दको परिवर्तन होइन । यसले नेपालले भारतसँगको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा आएको एउटा महत्वपूर्ण पुस्तान्तरण र रणनीतिक परिवर्तनलाई प्रतिबिम्बित गर्छ ।

नयाँ पुस्ताले अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ व्यावहारिक मापदण्डबाट हेर्न थालेको छ– यो सम्बन्धले एउटा सामान्य नेपालीको जीवनमा के उपलब्धि ल्याउँछ ? के यसले नयाँ अवसर सिर्जना गर्छ ? के यसले कनेक्टिभिटी अर्थात् सम्पर्क सञ्जालमा सुधार ल्याउँछ ? के यसले बजार खुला गर्छ ? के यसले लगानी र प्रविधि भिœयाउँछ ? के यसले रोजगारी सिर्जना गर्छ ? के यसले नेपालको ऊर्जा अर्थतन्त्रलाई सुदृढ बनाउँछ ? के यसले सुरक्षा र समृद्धिमा योगदान पुर्याउँछ ? र, त्यत्तिकै महत्वपूर्ण प्रश्न– के यसले नेपाललाई एक सार्वभौम र आत्मविश्वासी साझेदारका रूपमा भारतसँग सम्बन्ध अघि बढाउन सक्षम बनाउँछ ? यही बिन्दुमा नेपाल–भारत सम्बन्ध एउटा महत्वपूर्ण मोडमा उभिएको छ । र, प्रधानमन्त्रीको भ्रमणको केन्द्रबिन्दु पनि यही विषय बन्नुपर्छ ।

लेनदेनमा आधारित विश्वास : नेपाल–भारत सम्बन्ध लामो समयदेखि एउटा यस्तो सम्बन्धका रूपमा अघि बढेको छ, जसलाई अस्थिर र लेनदेनमा आधारित विश्वासका रूपमा वर्णन गर्न सकिन्छ । यो सम्बन्ध अस्थिर छ, किनभने निश्चित राजनीतिक वा कूटनीतिक घटनाक्रमका आधारमा दुई देशबिचको विश्वासको स्तर तीव्र रूपमा बढ्न वा घट्न सक्छ । यो लेनदेनमा आधारित पनि छ, किनभने सम्बन्धलाई स्वाभाविक रूपमा स्थिर आधारबिन्दुतर्फ फर्काउने पर्याप्त दीर्घकालीन रणनीतिक आधार अझै बलियोसँग स्थापित हुन सकेको छैन । त्यसैले, हरेक नयाँ राजनीतिक चक्रसँगै पुराना प्रश्न पुनः सतहमा आउने गर्छन् ।

अब यो मोडेल पर्याप्त छैन । भविष्यका लागि अझ टिकाउ आधार आवश्यक छ– रणनीतिक आत्मविश्वास । रणनीतिक आत्मविश्वास भन्नाले राष्ट्रवाद वा रणनीतिक समदूरीका नाममा नेपाल भारतबाट टाढिनुपर्छ भन्ने होइन । न त यसको अर्थ नेपाल भारतमाथि अत्यधिक निर्भर बन्नुपर्छ भन्ने हो । यसको अर्थ हो— नेपालभित्र यति पर्याप्त आत्मविश्वास निर्माण गर्नु छ कि आफ्नो रणनीतिक स्वायत्तता गुम्ने भयविना भारतसँग नजिकबाट सम्बन्ध र सहकार्य अघि बढाउन सकियोस् ।

नेपालले ऊर्जा, विपत् व्यवस्थापन, साइबर सुरक्षा, सीमा व्यवस्थापन, रक्षा, शिक्षा, प्रविधि, पर्यटन तथा क्षेत्रीय कनेक्टिभिटीलगायत क्षेत्रमा भारतसँग व्यापक सहकार्य गर्न सक्छ, तर यस क्रममा आफ्ना स्वतन्त्र परराष्ट्र नीतिका छनोट कायम राख्न सक्छ । वास्तवमा आत्मविश्वासी नेपालले भारतलाई आफ्नो रणनीतिक स्वायत्ततामाथिको सीमाका रूपमा होइन, आफ्नो रणनीतिक दायरा विस्तार गर्ने अवसरका रूपमा हेर्नुपर्छ ।

भारतबाट नेपालको अपेक्षा : यसको उत्तर लगानी, रोजगारी वा कनेक्टिभिटीमा मात्र सीमित हुँदैन, यद्यपि यी तीनै पक्ष अत्यन्त महत्वपूर्ण छन् । नेपाल चाहन्छ– आफ्नो भूगोललाई आर्थिक तथा रणनीतिक लाभमा रूपान्तरण गर्ने प्रक्रियामा भारत प्रमुख साझेदार बनोस् । नेपाल ऊर्जा हब, डिजिटल सेतु, पर्यटनको प्रवेशद्वार तथा दक्षिण एसियालाई हिमालयसँग जोड्ने एउटा महत्वपूर्ण मञ्च बन्न सक्छ । यो लक्ष्य हासिल गर्न भारतसँग स्वाभाविक तुलनात्मक लाभ छ । भारतको विशाल बजार, भौगोलिक निकटता, पूर्वाधार, प्राविधिक क्षमता र आर्थिक सामर्थ्यले नेपालमा अन्य कुनै पनि देशले सजिलै दोहोर्याउन नसक्ने अवसर र क्षमता प्रदान गर्छ ।

नेपालको समग्र रूपान्तरणसँगै भारतसँगको सहकार्यले आर्थिक वृद्धि मात्र होइन, रक्षा क्षमताको सुदृढीकरण, अझ विश्वसनीय सूचना तथा गुप्तचर प्रणाली, प्रभावकारी कानुन तथा शान्ति–सुरक्षा, बाह्य निर्भरताविना विकासका रणनीतिक योजना र प्रभावकारी जलवायु कूटनीतिका लागि अनुकूल वातावरण निर्माणमा समेत योगदान गर्न सक्छ ।

विद्युत् निर्यातले नेपाल–भारत सम्बन्धलाई नयाँ आर्थिक आयाम दिन सक्छ । नेपाल, चीन र भारतबिचको त्रिपक्षीय सहकार्यले विपत्लाई परराष्ट्र नीतिको नयाँ क्षेत्रका रूपमा विकास गर्दै विपत् कूटनीतिको नयाँ आधार निर्माण गर्न सक्छ । सीमापार प्रसारण पूर्वाधारले ऊर्जालाई रणनीतिक अन्तरनिर्भरतामा रूपान्तरण गर्न सक्छ । सडक, रेलमार्ग तथा एकीकृत जाँच चौकीहरूको सुधारले नेपाललाई भारतीय तथा विश्व बजारसँग अझ प्रभावकारी रूपमा जोड्न सक्छ । डिजिटल कनेक्टिभिटीले सेवा तथा प्रविधिका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सक्छ । पर्यटनलाई साझा क्षेत्रीय आर्थिक क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । लगानीले केवल पुँजीको प्रवाह मात्र होइन, रोजगारी र उत्पादनशील आर्थिक अवसरहरू सिर्जना गर्नुपर्छ ।

गलत बुझाइ : तर, दुवै पक्षले सम्बोधन गर्नुपर्ने एउटा आधारभूत गलत बुझाइ अझै विद्यमान छ । भारतका लागि पहिलो सुधार अवधारणागत हुनुपर्छ । नेपाल–भारत सम्बन्ध दुईवटा सरकार, राजनीतिक दल वा कर्मचारीतन्त्रबिचको सम्बन्ध होइन । यो दुई सार्वभौम राष्ट्रबिच दुई देशका जनतामाझको सम्बन्ध हो । सरकारहरू परिवर्तन हुन्छन् । राजनीतिक समीकरण बदलिन्छन् । कर्मचारीतन्त्रमा फेरबदल हुन्छ । तर, राष्ट्रिय हित, राष्ट्रिय पहिचान र समाजबिचका सम्बन्ध दीर्घकालसम्म कायम रहन्छन् । त्यसैले, नयाँदिल्लीले नेपाललाई केवल व्यवस्थापन गर्नुपर्ने छिमेकी सरकारका रूपमा होइन, आफ्नो सुरक्षा, सम्मान, आकांक्षा र रणनीतिक छनोटलाई बुझिनुपर्ने र सम्मान गरिनुपर्ने एक सार्वभौम राष्ट्रका रूपमा हेरेर सम्बन्ध अघि बढाउन आवश्यक छ ।

यसको अर्थ भारतले आफ्ना वैध रणनीतिक हितलाई बेवास्ता गर्नुपर्छ भन्ने होइन । हिमालयको भूगोल र त्यसवरिपरिको रणनीतिक वातावरणबाट भारतका केही स्वाभाविक सुरक्षा चासो छन् । तर, रणनीतिक हितको दीर्घकालीन संरक्षण निरन्तर शंकाभन्दा विश्वासमार्फत बढी प्रभावकारी रूपमा गर्न सकिन्छ ।

स्थिर, समृद्ध र आत्मविश्वासी नेपाल अन्ततः रणनीतिक रूपमा आफूलाई सीमित महसुस गर्ने नेपालभन्दा भारतका लागि बढी मूल्यवान् हुन्छ । त्यसैले, भारतको रणनीतिक उद्देश्य नेपाललाई व्यवस्थापन गर्नु होइन, आत्मविश्वासी र समृद्ध नेपालले भारतलाई आफ्नो सबैभन्दा विश्वसनीय र महत्वपूर्ण साझेदारका रूपमा हेर्ने सम्बन्ध निर्माण गर्न सहयोग गर्नु हुनुपर्छ । यसका लागि प्रतिक्रियामुखी कूटनीतिबाट ‘शताब्दी कूटनीति’तर्फको परिवर्तन आवश्यक छ । शताब्दी कूटनीतिले फरक प्रश्न सोध्छ– आजको नेपालबाट भारतलाई के चाहिन्छ भन्ने मात्र होइन, आगामी एक शताब्दीमा नेपाल र भारतले कस्तो सम्बन्ध निर्माण गर्नुपर्छ?

नेपालको गलत बुझाइ : नेपालले पनि पार गर्नुपर्ने एउटा गलत बुझाइ छ । कहिलेकाहीँ नेपालले रणनीतिक स्वायत्ततालाई रणनीतिक दूरीका रूपमा बुझ्ने गर्छ । यो रणनीतिक भूल हो । रणनीतिक स्वायत्तता भन्नाले सबै ठुला शक्तिबाट समान दूरी कायम गर्नु होइन । यसको अर्थ राष्ट्रिय हितअनुसार साझेदार छनोट गर्ने स्वतन्त्रता कायम राख्नु हो । नेपालले आफ्नो परराष्ट्र नीतिलाई चीन, भारत, अमेरिका वा अन्य अन्तर्राष्ट्रिय साझेदारमध्ये एउटालाई रोज्नैपर्ने शून्य–योग प्रतिस्पर्धाका रूपमा हेर्न आवश्यक छैन । न त नेपाल आफूलाई महाशक्तिबिचको प्रतिस्पर्धाको मैदान बन्न दिनु उचित हुन्छ । नेपालको उद्देश्य स्पष्ट राष्ट्रिय प्राथमिकता कायम राख्दै विविधीकृत सम्बन्धमार्फत आफ्नो रणनीतिक दायरा विस्तार गर्नु हुनुपर्छ । नेपालको बाह्य विश्वासको कमी उसको आन्तरिक विश्वासको कमीसँग गहिरोसँग जोडिएको छ । यस सन्दर्भमा तीनवटा विकासक्रम विशेष रूपमा महत्वपूर्ण छन् ।

पहिलो, राजनीतिक व्यवहार परम्परागत गठबन्धन राजनीतिबाट तत्कालीन स्वार्थ, निर्वाचनगत गणना र सत्तामा पहुँचमा आधारित तरल राजनीतिक समीकरणतर्फ बढ्दै गएको छ । यसको परिणाम केवल राजनीतिक अस्थिरता होइन, पूर्वानुमानयोग्य राजनीतिक नेतृत्वप्रतिको विश्वासमा समेत कमी हो ।

दोस्रो, शासन व्यवस्था राजनीतीकरणबाट अझ तीव्र राजनीतीकरणतर्फ गएको छ, जबकि भ्रष्टाचार संस्थागत हुने जोखिम बढ्दै गएको छ । जब नागरिकले राज्यलाई निष्पक्ष संस्थाका रूपमा भन्दा पनि सम्बन्ध र पहुँचमार्फत सञ्चालन गर्नुपर्ने प्रणालीका रूपमा अनुभव गर्न थाल्छन्, सार्वजनिक विश्वास कमजोर हुन्छ । तेस्रो, यी प्रवृत्तिले विश्वासको बढ्दो संकट सिर्जना गर्छन्– राज्यभित्रको विश्वास र राज्यप्रतिको विश्वास दुवैमा ।

के बालेन शाह नेतृत्वको सरकारले यस्तो सम्बन्धलाई पुनरावलोकन गर्न सक्छ ? प्रधानमन्त्री बालेन शाहले प्रतिनिधित्व गर्ने नयाँ राजनीतिक पुस्तासामु केही फरक गर्ने अवसर छ । तर, उसले दुईवटा प्रलोभनबाट जोगिनुपर्छ– रणनीतिविनाको राष्ट्रवाद र संस्थागत तयारीविनाको रणनीतिक संकेत । नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन केवल भाषण वा नाराले पुग्दैन । त्यसका लागि सम्झौता कार्यान्वयन गर्न सक्ने संस्थाहरू, राजनीतिक संक्रमणबाट पनि टिक्न सक्ने नीति र तत्कालीन विवादभन्दा पर हेर्न सक्ने कूटनीतिक संरचना आवश्यक हुन्छ ।

यसको उद्देश्य सरल हुनुपर्छ– नेपाललाई के चाहिन्छ, भारतलाई के चाहिन्छ भन्ने स्पष्ट रूपमा राख्ने र दुवै देशका हित कहाँ मिल्छन् भन्ने पहिचान गर्ने । यसले शिखर कूटनीतिलाई केवल औपचारिकतामा सीमित नराखी रणनीतिक कूटनीतिक संयन्त्रमा रूपान्तरण गर्न सक्छ । यस्तो संयन्त्रले ऊर्जा, कनेक्टिभिटी, व्यापार, लगानी, सुरक्षा, प्रविधि, विपत् व्यवस्थापन र जनस्तरीय सम्बन्धको नियमित समीक्षा गर्न सक्छ ।

शंकाबाट रणनीतिक सहानुभूतितर्फ : त्यसैले नेपाल र भारतसामु रहेको अवसर व्यक्तिगत असहमति समाधान गर्नुभन्दा धेरै ठुलो छ । सम्बन्धलाई नयाँ सञ्चालन दर्शन आवश्यक छ । नेपालले न भारतबाट रणनीतिक दूरी खोज्नुपर्छ, रणनीतिक निर्भरता होइन । चीनलाई भारतविरुद्ध वा भारतलाई चीन तथा अमेरिकाविरुद्ध प्रयोग गर्ने बाटोमा लाग्नुहुँदैन । त्यसैगरी, भारतले नेपाललाई व्यवस्थापन गर्ने प्रयास गर्नुहुँदैन । उसले नेपालको बढ्दो राष्ट्रिय पहिचान र रणनीतिक स्वायत्तताको भावनालाई कम आँक्नु हुँदैन । दुवै देशले रणनीतिक आत्मविश्वास निर्माण गर्ने लक्ष्य राख्नुपर्छ ।

अन्ततः यही राम्रो छिमेकी कूटनीतिको विरोधाभास हो– सबैभन्दा बलियो सम्बन्ध ती होइनन्, जसले मतभेद समाप्त गर्छन् । बरु ती हुन्, जसले मतभेदलाई सम्बन्धको परिभाषा बन्न नदिई त्यसलाई व्यवस्थापन गर्न पर्याप्त विश्वास निर्माण गर्छन् । अतीतले नेपाल र भारतलाई आधार दिन्छ । भूगोलले आवश्यकताको बोध गराउँछ । अर्थतन्त्रले अवसर दिन्छ । तर, रणनीतिक आत्मविश्वासले भविष्य निर्माण गर्नुपर्छ । त्यसैले, अबको केन्द्रीय प्रश्न यो हुनुहुँदैन, नेपाल र भारतले आफ्ना संवेदनशीलतालाई कसरी व्यवस्थापन गर्ने ? केन्द्रीय प्रश्न हुनुपर्छ, नेपाल र भारतले मिलेर त्यस्तो के गर्न सक्छन्, जुन दुवै देशले एक्लाएक्लै त्यति प्रभावकारी रूपमा गर्न सक्दैनन् ? यही प्रश्नबाट एउटा विश्वसनीय रणनीतिक सम्बन्धको सुरुवात हुन्छ । नयाँपत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुगौली सन्धिको मूल प्रति : प्रा. श्रीरामप्रसाद उपाध्याय

के हुनुपर्छ महाभियोगको उद्देश्य ? – चन्द्रकान्त ज्ञवाली

के हुनुपर्छ सरकारको तात्कालिक कार्यभार ? – अर्जुननरसिंह केसी

कहाँनिर बिग्रियो हाम्रो शिक्षा प्रणाली ? : डा. जयराज आचार्य

बालेन्द्र शाहका कदम-फगत स्टन्ट कि असल नियत ? : युवराज घिमिरे

कर्मचारीको खस्कँदो मनोबल र संघीय निजामती सेवा विधेयक – प्रेमलकुमार खनाल

१५औं महाधिवेशन र नेपाली कांग्रेसको भावी दिशा : डा. शोभाकर पराजुली

त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो:डा बाबुराम भट्टराई

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन : एकराज पाठक

एमालेभित्र नेतृत्व सङ्कट: नैतिक जिम्मेवारीको अभिनय कि साङ्गठनिक कब्जा ?

प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान : श्यामप्रसाद मैनाली

विपद् व्यवस्थापनमा अत्यावश्यक मनोसामाजिक परामर्श : डा. नम्रता पाण्डे